scheduleसोमवारमाघ ५ गते, २०७७

नेकपा बैठकः गुलियो केकबाट बैठक सुरु, तिक्ततापूर्ण संवादबाट अन्त्य

काठमाडौँ, १६ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मंगलबार बालुवाटारमा बसेको बैठक गुलियो केकबाट सुरु भयो । महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको जन्मदिन मनाएर केक खाँदै सुरु भएको बैठकमा जब संवाद सुरु भयो, तब तिक्ततापूर्ण सम्बन्ध र संवादले निरन्तरता पायो ।

नेकपा स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा पेश गरेको आफूविरुद्धको प्रस्ताव फिर्ता गरेर माफी माग्नुपर्ने अडान दोहोर्‍याए । तर, प्रचण्डले उक्त प्रस्ताव फिर्ता नहुने बरु छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा जोड दिए ।

केक खाएपछि बैठक सुरु हुनासाथ प्रम ओलीले बैठकको एजेन्डा के हो भनेर सोधेका थिए । प्रचण्डले दुवै प्रस्तावमाथि छलफल गर्ने भन्नासाथ ओलीले ‘तपाईंको प्रस्तावमा छलफल हुन सक्दैन, फिर्ता गरेर माफी माग्नुस्’ भनेका थिए ।

उनले आक्रोशित हुँदै थपे, ‘बुकलेट किन बनाको, किन बाँढेको ? यो गल्तीमा पनि माफी माग्नुपर्छ ।’ केही शान्त हुँदै ओलीले सहमति गरेर महाधिवेशनसम्म जाऔं भनेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘ओलीजीले महाधिवेशनअघि विधि र पद्धतिको कुरा प्राथमिकतामा नपर्ने तर्क गर्नुभयो । उहाँले स्थायी समितिको बैठक जसरी पनि सार्नुपर्नेमा अडान लिनुभयो,’ ती नेताले भने, ‘तर प्रचण्डजी र माधवजीले भने बैठक कुनै पनि मूल्यमा सार्न नहुने भन्दै बैठकबाट नभाग्न भन्नुभयो ।’

ती नेताका अनुसार माधव नेपालले ओलीमा घमण्ड र व्यक्तिमा उत्कर्षमा पुगेको र पार्टीको विधि र पद्धति छाडेर व्यक्तिको पछि लाग्न नसकिने तर्क गरेका थिए । ‘अध्यक्षद्वय मिलेर मात्रै पनि हुँदैन । यो पार्टी दुईजनाको मात्र पार्टी होइन । राजनीतिक प्रतिवेदनहरुमाथि छलफल हुनुपर्छ । बैठक बाहिरबाट खोजिने समाधान मान्य हुँदैन,’ माधव नेपालको भनाई उद्धृत गर्दै ती नेताले भने ।

ओलीले भने बैठकको पछि धेरै नलाग्न र अनौपचारिक छलफलहरुबाट सहमति खोज्नुपर्नेमा जोड दिएका थिए । प्रचण्डले भने राजनीतिक प्रस्तावहरुलाई रद्दीको टोकरीमा फ्याँकेर अगाडि बढ्न सकिन्नँ र त्यसका लागि लेखिएको पनि होइन भन्दै कडारुपमा प्रस्तुत भएका थिए ।

‘मैले रहरले ल्याएको प्रतिवेदन होइन, यसका लागि ओलीजीले नै वातावरण बनाउनुभयो । मेरो व्यक्तिगत प्रस्ताव पनि होइन । सचिवालयको बहुमत सदस्यको प्रस्ताव हो,’ प्रचण्डको भनाई उद्धृत गर्दै एक सचिवालय सदस्यले भने ।

प्रचण्डले बोल्दाबोल्दै ओलीले आक्रोशित भएर रोकेपछि अन्य सचिवालय सदस्यहरु ओलीविरुद्ध खनिएका ती नेताले बताए । ‘यो तपाईंको कहाँसम्मको हुकुमी शैली हो भन्दै हामीले कराए पछि पुनः प्रचण्डजीले बोल्न पाउनुभयो,’ उनले भने । वामदेव गौतम, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठले ‘बोल्न पनि नपाइने’ भन्दै होहल्ला गरेपछि ओली चुप लागेका थिए ।

‘ओलीजीले स्थायी कमिटी निर्णय नमान्दा यो अवस्था आएको हो। बैठकको माग गर्दा त्यसलाई गम्भीरतापूर्वक नलिएर पत्र पठाइयो। पत्रमा झुठा आरोप लगाईपछि बाध्य भएर हामीले प्रस्ताव दर्ता गरेका हौँ । अब यसबारे छलफल हुनुपर्छ ।’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay