अयाक्सलाई हराउँदै लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा
काठमाडौं, १७ मङ्सिर । नेदरल्यान्ड्सको क्लब अयाक्सलाई हराउँदै इंग्लिस क्लब लिभरपुल यूइएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । घरेलु मैदानमा गएराति सम्पन्न खेलमा लिभरपुल १-० ले विजयी भएको हो ।
लिभरपुलको जीतमा कर्टिस जोन्सले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५८औं मिनेटमा निको विलियम्सको पासमा गोल गरेका थिए ।
जीतसँगै लिभरपुलले समूह चरणमा एक खेल बाँकी छदै समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । अब लिभरपुलले समूह चरणको अन्तिम खेलमा अर्काे साता डेनमार्कको क्लब मिट्जेल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यस खेलमा हार बेहोरेपनि लिभरपुल समूह विजेता नै हुनेछ । लिभरपुलको ५ खेलबाट १२ अंक रहेको छ भने आयाक्सको ७ अंक छ ।
यही समूहको अर्काे खेलमा एटलान्टा र मिट्जेल्यान्डको १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । मिट्जेल्यान्डले समूहमा पहिलो अंक जोड्न सफल भएको हो । मिट्जेल्यान्डका एलेक्सान्डर स्कल्जले गोल गर्दा एटलान्टाका क्रिस्टियन रोमेरोले बराबरी गोल फर्काएका थिए । ५ खेलबाट एट्लान्टाको ८ अंक छ भने समान खेलबाट मिट्जेल्यान्डको १ अंक छ ।
सिटी र पोर्टो तथा बायर्न र एट्लेटिकोको बराबरी
गएराति नै सम्पन्न ग्रुप सीअन्तर्गतको खेलमा पोर्चुगिज क्लब पोर्टो र इंग्लिस क्लब म्यान्चेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् । पोर्टोको मैदानमा भएको खेलमा दुवै टोलीबाट कुनैपनि गोल हुन सकेन ।
दुवै टोली यसअघि नै अन्तिम १६ का लागि छनौट भइसकेका छन् । शीर्षमा रहेको सिटीको ५ खेलबाट १३ अंक भएको छ भने पोर्टो १० अंकसहित दोस्रोमा छ ।
त्यसैगरी समूह ए अन्तर्गतको खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र जर्मन क्लब बायर्न म्युनिखले १-१ गोलको बराबरी खेलेका छन् ।
जोआवो फेलिक्सले २६औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए भने ८६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल फर्काउँदै खेल बराबरीमा सकाए ।
यसअघि नै अन्तिम १६ का लागि छनौट भइसकेको बायर्न ५ खेलबाट १३ अंकसहित शीर्षमा यथावत् छ भने एट्लेटिको ६ अंकसहित दोस्रोमा छ । एट्लेटिकोले अन्तिम खेलमा साल्जबर्गसँग बराबरी मात्र खेलेपनि नकआउट चरणका लागि छनौट हुनेछ ।