घरमा एक्लै बस्दै आएकी वृद्धा मृत फेला
अर्घाखाँची, १७ मङ्सिर । अर्घाखाँचीमा एकजना वृद्धा मृत फेला परेकी छन् । घरमा एक्लै बसेकी महिला चुल्हो नजिकै शरीको केही ठाउँमा आगोले पोलिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पाणिनी गाउँपालिका-२ पोखराथोककी ७१ वर्षीय पुतली नेपाली मृत भेटिएकी हुन् ।
केही ठाउँमा आगोले पोलेको भए पनि जलेरै मृत्यु भएको भन्न सकिने अवस्था नभएको प्रहरीको भनाइ छ ।
शवको प्रकृति हेर्दा मुखबाट रगत पनि बगेको र वान्ता पनि भएकोले अन्य केही कारणले मृत्यु भएको हुनसक्ने बताइएको छ ।