scheduleआइतवारमाघ ४ गते, २०७७

भारतले सान्त्वना जीत हात पार्दा अस्ट्रेलियाले श्रृंखलाको ट्रफी उचाल्यो

काठमाडौं, १७ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेको भारतले एकदिवसीय श्रृंखलामा सान्त्वना जीत हात पारेको छ । बुधबार क्यानबेरामा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा अस्ट्रेलियालाई १३ रनले हराउँदै भारतले सान्त्वना जीत हात पारेको हो ।

भारतले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४९ ओभर ४ बलमा २८९ रनमा समेटिएको हो । कप्तान एरन फिन्चले ७५, स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले ५९ रन बनाएपनि अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय योगदान दिन नसक्दा अस्ट्रेलिया झिनो अन्तरको हार व्यहोर्न पुगेको हो । एलेक्स केरीले ३८ र एस्टन एगरले २८ रन बनाए । भारतका लागि शार्दुल ठाकुरले ३ तथा जसप्रीत बुमराह र टी नटराजनले २-२, कुलदीप यादव र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

यसअघि क्यानबेरास्थित मानुका ओभलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि हार्दिक पान्ड्याले अविजित ९२ तथा रविन्द्र जडेजाले अविजित ६६ रन बनाए । त्यसैगरी कप्तान विराट कोहलीले ६३ रन बनाए ।

१५२-५ को कठिन अवस्थामा पुगेको भारतको इनिङ हार्दिक र जडेजा मिलेर उकासेका थिए । यी दुईबीच छैटौं विकेटका लागि अविजित १५० रनको साझेदारी भएको थियो । अस्ट्रेलियाका एस्टन एगरले २ तथा जश हेजलवूड शन एबट र एडम जाम्पाले १ १ विकेट लिएका थिए ।

खेलको म्यान अफ दि म्याच हार्दिक घोषित भए भने अघिल्ला दुई खेलमा शतक प्रहार गरेका स्मिथ म्यान अफ दि सिरिज घोषित भए ।

एकदिवसीय श्रृंखलाको ट्रफीका साथमा अस्ट्रेलियन टोली

जीतसँगै भारतले श्रृंखला यसअघि नै गुमाइसकेको भएपनि श्रृंखला क्लिन स्वीप व्यहोर्नबाट भने जोगिएको छ । त्यसैगरी आइसिसी विश्‍वकप सुपर लिगमा पनि अंकको खाता खोलेको छ । पहिलो एकदिवसीयमा ६६ रन तथा दोस्रो एकदिवसीयमा ५१ रनले भारतलाई हराउँदै अस्ट्रेलियाले श्रृंखलामाथि कब्जा गरिसकेको थियो ।

यी दुई टोलीबीच तीन खेलको टी-२० श्रृंखला र चार खेलको टेस्ट श्रृंखला पनि हुनेछ । टी-२० श्रृंखलाअन्तर्गतको पहिलो खेल शुक्रबार क्यानबेरामै हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay