सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते

बाँके, १७ मङ्सिर । सल्यानमा बुधबार अपरान्ह बस दुर्घटना हुँदा बसमा सवार ६ जना घाइते भएका छन् । नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको बस सल्यानको कुमाख गाउँपालिका २ खारखोलामा अपरान्ह करिब ४ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका हुन् । घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बस ना ४ ख ६६१५ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परी घाइते हुनेहरुमा कुमाख गाउँपालिका ४ की ४० वर्षीया देवी बुढाथोकी, ५० वर्षीया छाया शाही, कुमाख गाउँपालिका १ का १५ वर्षीय नीमबहादुर बुढाथोकी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ की ३८ वर्षीया साउनि गोसाई र ४० वर्षीय खडकबहादुर गोसाई रहेको प्रहरीले जनाएको छ । अर्का एक घाइतेको भने परिचय खुलेको छैन ।
बसमा २५ जना सवार रहेको जनाइएको छ । घाइतेहरूलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ । प्रहरीका अनुसार बस सडकबाट झण्डै ३० मिटर तल खसेको थियो ।