गण्डकी प्रदेशमा बुधबार ११७ कोरोना सङ्क्रमित थपिए, दुईको मृत्यु
पोखरा, १७ मङ्सिर । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ११७ जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका सङ्क्रमितहरुमा सबैभन्दा बढी कास्कीका ३५ जना छन् ।
त्यस्तै लमजुङका २५, तनहुँका २३, गोरखाका १७, वाग्लुङका १०, पर्वतका तीन, स्याङ्जाका दुई तथा नवलपरासी पूर्वका र मुस्ताङका एक-एक जना रहेको निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कुल सङ्क्रमितको संख्या १२ हजार २९७ पुगेको छ ।
यस्तै प्रदेशमा थप दुईजनाको सङ्क्रमणका कारण ज्यान गएको छ । मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका– १४ की ४८ वर्षीया महिला र नवलपरासी पूर्वको कावासोती नगरपालिका– १४ का ७८ वर्षीय पुरुष रहेका छन् ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १६२ पुगेको छ ।