च्याम्पियन्स लिगमा बार्सिलोना र युभेन्ट्सको सहज जीत, रोनाल्डोको कीर्तिमानी गोल
काठमाडौं, १८ मङ्सिर । युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति सम्पन्न समूह ‘जी’ को खेलमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले सहज जीत हात पारेका छन् ।
नियमित कप्तान लियोनल मेसीबिना उत्रिएको बार्सिलोनाले फेरेन्काभारोस तथा युभेन्ट्सले डाइनामो किभलाई समान ३-० गोलअन्तरले हराएका हुन् । दुवै टोली यसअघि अन्तिम १६ का लागि छनौट भइसकेका छन् ।
फेरेन्कभारोसलाई उसैको मैदानमा हराउने क्रममा बार्सिलोनाका एन्टोइन ग्रीजम्यान, मार्टिन ब्राथवेट र ओस्मान डेम्बेलेले एक-एक गोल गरे । सबै गोल पहिलो हाफमै भएका थिए ।
१४औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसैगरी २०औं मिनेटमा ब्राथवेटले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे ।
२८औं मिनेटमा प्राप्त पेनाल्टीमार्फत गोल गरेपछि बार्सा ३-० ले अघि बढेको थियो । त्यसपछि दोस्रो हाफमा थप गोल नहुँदा बार्सा ३-० ले नै विजयी रह्यो ।
युभेन्ट्सको जीतमा रोनाल्डोको कीर्तिमानी गोल

युभेन्ट्सले डाइनामो किभलाई ३-० ले हराउने क्रममा अल्भारो मोराटा, फेडरिको चियसा र क्रिस्टियानो रोनाल्डोले १-१ गोल गरेका थिए ।
रोनाल्डोले यस खेलमा गरेको गोल व्यवसायिक खेल करियरको ७५०औं गोल रहेको थियो । रोनाल्डोले स्पेनिस क्लब रियाल म्याड्रिडबाट ४५०, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट ११८, पोर्चुगलको राष्ट्रिय टोलीबाट १०२, युभेन्ट्सबाट ७५ र पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनबाट ५ गोल गरेका छन् ।
युभेन्ट्सले खेलको २१औं मिनेटमा फेडरिको चियासाको गोलबाट अग्रता लिएको थियो । उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका थिए ।
५७औं मिनेटमा रोनाल्डोले अल्भारो मोराटाको पासमा गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेका थिए । ६६औं मिनेटमा फेडरिको चियसाको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई ३–० को सहज जित दिलाए ।
यो जितसँगै समूह ‘जी’ मा युभेन्टस १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको बार्सिलोनाको १५ अंक छ । किभ र फेरेन्कभारोसको समान १ अंक छ ।