scheduleसोमवारमाघ ५ गते, २०७७

नवीन सोचसहित काम गर्दै हुनुहुन्छ ? अब सरकारले दिन्छ २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण

काठमाडौं, १८ मंसिर । यदि तपाई नवीन सोचसहितको उद्यम गर्दै हुनुहुन्छ वा कुनै आविष्कारको काम गर्दै हुनुहुन्छ भने तपाईंको लागि खुसीको खबर छ । सरकारले तपाईंलाई २ प्रतिशत ब्याजदरमा ५० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था गरेको छ ।

सरकारले नवप्रवर्द्धक सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गरेपछि यो सम्भव भएको हो । कार्यविधिअनुसार नवप्रवर्द्धक व्यवसायका लागि सहुलियतपूर्ण ऋण पाउनेछन् ।

कार्यविधिमा नवीनतम ज्ञान, सीप र क्षमता भएका आविष्कारक, उद्यमी वा व्यवसायीलाई नवप्रवर्तनकारी उद्यम तथा व्यवासय सञ्चालनका लागि सुरुवाती पुँजी उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख छ । उद्योग, कृषि, ऊर्जा, स्वास्थ्य, पर्यटन, शिक्षा, सूचना प्रविधिलगायत क्षेत्रमा काम गर्नेले यो सुविधा पाउन सक्छन् । उक्त क्षेत्रमा कामका लागि आवश्यक लगानीयोग्य पुँजी जुटाउन लघु, घरेलु, साना तथा मझौला, उद्यमी, व्यवसायी वा आविष्कारकलाई कर्जा प्रदान गर्ने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ ।

कर्जा प्रवाहका लागि मूल्यांकन गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षले तोकेको व्यक्ति संयोजक रहनेगरी निर्देशक समिति गठन हुनेछ । नयाँ कार्यविधि स्वीकृत गरेसँगै यसअघि यस्तै खालको व्यवसायलाई अनुदान दिन कार्यविधिहरु खारेज भएका छन् ।

ऋणको दुरुपयोग हुन सक्ने भन्दै कार्यविधिमा अनुगमनको व्यवस्था समेत गरिएको छ । अनुगनमनका लागि बनाइने समितिले प्रस्तावको छनोट, कर्जा रकमको सीमा, किस्ता, कर्जा प्रदान गर्न छनोट गरिने प्रस्तावको संख्याको मापदण्ड तयार गर्ने, कर्जा प्राप्त गर्ने आविष्कारक, उद्यमी वा व्यवसायीले त्यस्तो कर्जाको सही तरिकाले उपयोग गरे वा नगरेको अनुगमन गर्ने गराउने काम गर्नेछ ।

कार्यविधिमा कर्जाको अन्तिम किस्ताबापतको रकम प्राप्त गरेको एक वर्षभित्र कर्जा सम्झौतामा उल्लेख भएबमोजिम साँवा भुक्तानीको किस्ता बुझाउने अवधि सुरु हुने र कर्जा लिएको चार वर्षभित्र कर्जा चुक्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कर्जा प्राप्त गर्न चाहने आविष्कारक, उद्यमी वा व्यावसायीले आफूले गर्न खोजेको नवप्रवर्तनकारी आविष्कार, उद्यम वा व्यवसाय, त्यसको जोखिम, सम्भावित प्रतिफल, आवश्यक रकम, सरकारबाट अपेक्षा गरिएको कर्जा रकम, त्यसबाट सामाजिक आर्थिक क्षेत्रमा पर्न सक्ने प्रभावसहित खुलाएर प्रस्ताव पेश गर्नुपर्ने हुन्छ ।

प्रस्ताव छनोटका एक प्रस्ताव मूल्यांकन उपसमिति समेत रहने छ । उक्त उपसमितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य संयोजक रहनेछन् । छनोट भएका प्रस्तावक आविष्कारकर्ता, उद्यमी वा व्यवसायीलाई सरकारले नवप्रवर्तन सुरुवाती पुँजीका लागि प्रदान गर्ने भनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा विनियोजन गरेको रकम समितिले तोकेको वाणिज्य बैंकमार्फत् कर्जा पाउनेछन् र उक्त ऋणको ब्याजदर केवल २ प्रतिशत मात्र हुनेछ ।

कार्यविधिमा भनिएको छ, ‘कर्जा प्रदान गर्दा प्रस्ताव लागत तथा त्यसबाट पर्ने प्रभावको आधारमा कुल लागतको बढीमा ५० प्रतिशतमा नबढ्ने गरी अधिकतम ५० लाख रुपैयाँ रकम नवप्रवर्तन सुरुवाती पुँजीका रूपमा कर्जा उपलब्ध गराइनेछ ।’

कर्जा स्वीकृत गर्दा बैंकले आविष्कारक, उद्यमी वा व्यवसायीको जमानी, व्यावसायिक कार्ययोजना, सम्झौता तथा परियोजनालाई कर्जा धितोका रूपमा लिन सक्नेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay