scheduleबिहिवारमाघ ८ गते, २०७७

रामचन्द्र पौडेलका दुखेका करङ र लोकतन्त्रको चिन्ता

साझापोस्ट टिप्पणी

काठमाडौं, १८ मंसिर । बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीको एउटा टुकडीले गिरफ्तार गर्‍यो । उनी गृहजिल्ला तनहुँको व्यास नगरपालिकामा पर्ने बुल्दी खोला पुल उद्घाटन गर्न त्यहाँ पुगेका थिए ।

उनलाई प्रहरीले गिरफ्तार गरेर स्थानीय प्रहरी चौकीमा ३ घण्टा हिरासतमा मात्र राखेन, गिरफ्तार गर्नुअघि एक प्रकारले दुर्व्यवहार नै गर्‍यो । बुढ्यौली उमेरका वरिष्ठ नेता पौडेललाई प्रहरीको समूहले सडकमै ठेलठाल, पेलपाल गरिरहे । पौडेलमाथि प्रहरीको समूहले जुन प्रकारको व्यवहार गर्‍यो, भिडियो हेर्दा प्रष्ट हुन्छ, देशको एक परिचित, स्थापित र निहत्था नागरिकलाई नियन्त्रणमा लिन त्यस प्रकारको हर्कत गर्नुपर्ने कुनै आवश्यकता थिए ।

प्रशासनको कार्यशैलीबाट प्रष्ट हुन्छ– सरकार प्रतिशोधको भावनाले ग्रस्त छ । हामी सरकारमा हुँदाहुँदै विपक्षी दलको नेताले पुल उद्घाटन गर्ने, शिलान्यास वा उद्घटानको ठेक्का त हाम्रो पो हो भन्ने भावनाबाट नेकपावालाहरू उन्मत्त देखिन्छन् । उनीहरू पौडेललाई पुल उद्घाटनको कार्यक्रमबाट अवाञ्छित तबरले रोक्न चाहन्थे । नेकपावालाको पूर्वाग्रही मनोविज्ञानअनुसारको निर्देशनलाई पछ्याउँदै स्थानीय प्रशासन र प्रहरीले त्यस्तो व्यवहार गरेको प्रष्टै हुन्छ । स्थानीय प्रशासनले पौडेलसँग हुल्लडबाज नेकपा कार्यकर्ताको जस्तो अभद्र व्यवहार गरेको देखिन्छ ।

कुनै पनि लोकतान्त्रिक देशको स्थानीय प्रशासनले प्रमुख प्रतिपक्षी दलको नेतासँग यो स्तरको दुर्व्यवहार गर्ने आँट आफ्नै चेतना र विवेकबाट गर्न सक्दैन । नेपालमा बिरलै भएका घटना बाहेक यस्तो संस्कार र संस्कृति थिएन । सिडियो र एसपीले आफ्नै विवेक र ज्ञान पक्कै यस्तो गरेनन् होला । उनीहरूमाथि केन्द्रीय सरकारको प्रत्यक्ष दवाब थियो भन्ने सहजै बुझ्न सकिन्छ ।

पौडेलजतिका नेतामाथि भएको त्यस्तो दुर्व्यवहार पक्कै प्रधानमन्त्री ओलीकै निर्देशनमा भएको हुनु पर्दछ । बहुदलीय लोकतन्त्र भएको देशमा गृहमन्त्रीले पनि सायद आफैं यस्तो निर्णय लिन सक्दैनन् । आफूले गर्नुपर्ने उद्घाटन पौडेलले भाग खोसेको जलन प्रधानमन्त्री ओलीको हृदयमा दन्केको हुनु पर्दछ । ओलीले त्यसैको बदला लिन निम्न कोटीको काम गर्न स्थानीय प्रशासनलाई बाध्य पारेको हुनुपर्दछ ।

राज्यले बनाएको पुल कस्बाट उद्घाटन गर्ने, गराउने त्यसको निर्णय गर्ने कुनै निकाय वा संयन्त्र थियो होला । पौडेल आफै उफ्रेर त्यहाँ पक्कै पुगेका थिएनन् होला । पौडेल कुनै आग्रह र समन्वय विना त्यहाँ पुगेर उद्घाटनको कुनै तयारी वा माहौल हुने थिएन । स्थानीय तयारी र माहौल थियो भने पक्का त्यसको निर्णय गर्ने निकाय र संयन्त्र पनि थियो ।

प्रम ओलीलाई पुलको उद्घाटनमा आफैं जाने त्यत्रो इच्छा थियो भने तिनै संयन्त्रमार्फत् रोकेको भए हुन्थ्यो । बीचमा सडक विभाग थियो होला । सडक विभागको समन्वय विना पक्कै पौडेल त्यहाँ गएनन् होला । सरकारको आपत्ति सडक विभागसँग थियो भने त्यसका कर्मचारीलाई आवश्यक सोधपुछ वा स्पष्टिकरण सोध्न सक्थ्यो । निर्धारित भइसकेको कार्यक्रममा पुगेका विपक्षी दलका नेतालाई सडकमा लछारपछार पार्नु र उद्घाटन कार्यक्रम जबरजस्ती रोक्नु लोकतन्त्रमा किमार्थ नसुहाउने कुरा हो ।

लोकतन्त्रमा विपक्षी दलका नेताहरूको आफ्नै मर्यादा र आत्मसम्मान हुन्छ । स्थानीय प्रशासन र प्रहरीले त्यो सीमा नाघ्न सक्दैन, नाघ्न मिल्दैन । हाम्रो संविधानले नै विपक्षी दल वा दलहरूसहितको लोकतन्त्रको कल्पना गरेको छ । विपक्षी दलका नेताहरू आफ्नो गृहजिल्ला जानु, विकास, निर्माणका कार्यमा संलग्न हुनु बहुदलीय संसदीय लोकतन्त्रमा सामान्य कुरा हो ।

बहुदलीय लोकतन्त्रमा विपक्षी नेताहरू एक प्रकारले राज्यकै अंश हुन् । लोकतन्त्रमा उनीहरूको संवैधानिक तथा कानुनी मान्यता हुन्छ । कुनै स्थानीय निकायमा विपक्षी दलले जितेको छ भने आफ्नो पार्टीको नेतालाई स्थानीय विकासको कार्यमा संलग्न गराउनु स्वभाविक हुन्छ ।

विकास निर्माणका कार्य राज्यको बजेट हुने हुन, नेकपाको खल्तीको पैसाले हैन । राज्य सत्तारुढ पार्टीको निजी वा पेवा संस्था हैन । राज्य आम नागरिकको साझा संस्था हो । तसर्थ, राज्यले गर्ने कुनै कार्य वा क्रियाकलापमा समेल हुने आम अधिकार सबैलाई हुन्छ, तर कसलाई संलग्न गराउने वा नगराउने भन्ने निर्णय गर्ने कुनै आधिकारिक निकाय हुन्छ ।

त्यस्ता आधिकारिक निकायको अनुरोध वा समन्वय विनै पौडेल त्यहाँ गएका हुन् भने भिन्नै कुरा । घटना क्रम हेर्दा त्यस्तो देखिन्न । कांग्रेसले जितेको नगरपालिकामा स्थानीय सरकारले आफ्नो बरिष्ठ नेतालाई लान चाह्यो र सडक विभागले मान्य भने यसमा सत्तारुढ दल र प्रम ओलीलाई आपत्ति हुनु पर्ने कुनै कारण देखिन्न ।

कोराना महामारीको कारण कांग्रेस बरिष्ठ नेताको कार्यक्रम प्रहरीले बिथोलेको तर्क पत्याउन सकिन्न । पछिल्ला क्रियाकलापहरू हेर्दा राजनीतिक क्रियाकलापहरू सरकारले नियन्त्रण गरिरहेको छैन । स्वयं सत्तारुढ दलकै अनेक कार्यक्रम भएका छन् । गत हप्ता मात्र प्रम ओली आफैं ताप्लेजुङ र संखुवासभा जिल्लाका अनेकन कार्यक्रममा भाग लिएर फर्किएका थिए । ती सार्वजनिक कार्यक्रम भीडभाडपूर्ण नै थिएन ।

केही समय यता देशका ठूला शहरमा दिनहुँ राजावादी प्रर्दशनहरू भइरहेका छन् । सरकारले त्यस्ता प्रदर्शनमा कुनै व्यवधान गरेको छैन । लोकतन्त्रमा राजावादीहरूलाई पनि प्रदर्शन गर्ने छुट हुन्छ । आफ्ना कुरा भन्ने, तर्क गर्ने छुट हुन्छ । स्वास्थ्य मापदण्ड अनुरुप नभएको भए सबैलाई समान तरिकाले नियमन गर्नु पर्दछ । अन्यथा राजावादी प्रदर्शनहरू पनि लोकतन्त्रकै अभिन्न अंग हुन् ।

राजावादीहरूले प्रदर्शन गर्दैमा लोकतन्त्र आउने वा जाने हैन । लोकतन्त्रको विशाल मैदानको एउटा कुनामा राजावादीहरूले पनि खेल्ने अंश पाउँछन् । त्यसले लोकतन्त्र कमजोर भइहाल्दैन । पौडेलकै कार्यक्रमलाई मात्र व्यवधान गर्नुपर्ने ओली सरकारसँग कुनै औचित्यपूर्ण कारण थिएन ।

तनहुँ घटनाले प्रम ओली झनझन निरास, हतास र प्रतिशोधी मानसिकतातिर प्रवृत्त हुँदै गएको संकेत मिल्दछ । आफ्नै पार्टीभित्र भ्रष्टाचारदेखि सांसद अपहरणसम्मको फौजदारी प्रकृतिका आरोप भोगिरहेका प्रम ओलीले सानो स्वार्थ र पूर्वाग्रहका लागि विपक्षी दलमा बरिष्ठ नेतामाथि यो स्तरको दुर्व्यहार गर्न स्थानीय प्रशासनलाई निर्देशन दिनु कुनै पनि अर्थमा वाञ्छनीय थिएन ।

विहीबार पौडेलले ट्वीट गरेका छन्,पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो । हिजोभन्दा आज दुखाई बढी छ । सात दशकको अथक प्रयत्नबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकार मिल्न सकेको छैन ।

पौडेलले अगाडि लेखेका छन्,असली लोकतन्त्र कहिले साकार हुने ? मेरो चिन्ता यसैमा छ ।

पौडेलको दुखेका करङ पौडेललाई मात्र दुखेका छैनन्, सिङ्गो देशलाई दुखेको छ । सिङ्गो लोकतन्त्रलाई दुखेको छ ।

पार्टी दस्तावेजमा प्रचण्डलाई उत्तर दिँदा यो ‘परम्परागत कम्युनिष्ट सरकार हैन’ ‘बहुदलीय जनवादी नेकपा सरकार हो’ भन्ने उत्तर दिने प्रम ओली व्यवहार भने किन ‘कम्युनिष्ट शासन’ को जस्तो देखाउनु परेको हो ? असली लोकतन्त्रको चिन्ता केवल पौडेलको र पौडेलका लागि हैन, सिङ्गो देश र जनताकै चिन्ता हो ।

एकातिर मण्डलेहरू गणतन्त्र मास्ने उद्घोष गर्दै सडकमा उफ्रिने, अर्कोतिर कम्युनिष्ट सरकार आफैं नवमण्डले प्रवृत्तिको भद्दा प्रदर्शन गर्ने कार्य किमार्थ उचित हैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay