कविताः चारपाई
हेमराज शर्माअचेल
मेराे घरकाे चारपाई सौन्दर्यविहीन
अस्तित्वविहीन
जीवनविहीन भएकाे छ
ऊ मेरो एक घरको कुनामा
शहरको कुकुरजस्तो बेवारिसे पनि भएको छ ।
जसरी गोरु बुढो भएपछि
उसलाई खेदिन्छ गोठबाट
न घरको न त घाटको बनाएर
त्यसरी नै उ थन्किएको छ घामपानी सहँदै ।
मेराे आमाले भनेकाे
म सानाे छँदा
हजुरबुबाले खरकाे डाेरी बाटी
उसका चार खुट्टा बनाउँदा म कत्ति खुशी हुन्थेँ रे
किनकि मेराे अर्को साथी भित्रिँदै हुन्थ्यो
बेहुलीजस्तै नयाँ अनि सिङ्गारिएर ।
हजुरबुबा र मेराे बालापनसँगै
उसकाे अस्तित्व पनि हराउँदै गयाे
उसँगका प्रत्येक पल अझै ताजा छन्
अब म उसलाई बिर्सन्छु भन्छु
तर सक्दिनँ ।
आखिरमा परदेशीले पनि परदेश पुगेपछि
सुन्दर सपना सजाउँदा सजाउँदै
घरबार बिर्सिएकै त थियो नि
तर त्यतिबेला मलाई मेराे बाल्यकालले झस्काउँछ ।
म सानाे छँदा
जब मेरा आँखालाई अँध्यारोले छोप्थ्यो
अनि आमाले मलाई त्यहि माथि राखिदिनु हुन्थ्यो
अनि म उसै माथि ओल्टेकोल्टे फेर्थे
उसमै रुन्थेँ अनि हाँस्थे पनि ।
उसले मलाई
एक जिम्मेवार पिताले जस्तै फुल्यायाे
ममतामयी आमाले जसरी काखमा खेलायाे
उसलाई समाउँदै तातेताते पनि गरेँ
त्यसैले त अझै याद छ
त्याे मेराे घरकाे चारपाई ।
(दाङ, देउखुरी)