अन्ततः वरिष्ठ नेता पौडेलले उद्घाटन गरे पुल
तनहुँ, १८ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ व्यासस्थित तालघरे-दुम्सी जोड्ने बुल्दी पुल उद्घाटन गरेका छन् । विहीबार दिउँसो नेता पौडेलले उक्त पुलको उद्घाटन गरेका हुन् ।
व्यास नगरपालिका वडा नम्बर १ र ११ जोड्ने पुल बिहीबार दिउँसो १:३५ बजे पौडेलले उद्घाटन गरेपछि कांग्रेस कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । पौडेलले रिवन काटेर पुल उद्घाटन गरेका हुन्।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो । बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई उक्त पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेपछि देशव्यापी प्रदर्शनहरु भएका थिए । देशव्यापीरुपमा सरकारको विरोध भएपछि विहीबार भने प्रशासनले कुनै अवरोध गरेन ।
बुधबार पुल उद्घाटन नेता पौडेलले गर्न नहुने भन्दै नेकपा र युवा संघले बुधबार बिहान ११ बजेदेखि करिब आधा घण्टा मोटरसाइकल र्यालीसहित प्रदर्शन र कोणसभा गरेको थियो।
नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुन सक्ने भन्दै प्रशासनले बुधबार साँझ ६ बजेसम्म निषेधाज्ञा लगाएको थियो।