scheduleसोमवारमाघ १२ गते, २०७७

नेकपा विवादः मिल्ने कि निल्ने ?

अभि गाउँले

अहिले जुनसुकै बहस चले पनि खास विषय भनेको कम्युनिस्ट सरकारको निरन्तरता कि राजाकाल वा अर्को नयाँ व्यवस्थाको पुनर्जीवन/स्थापना भन्ने हो ? व्यवस्थाकै खिचातानीमा कतै नेपालकै अस्तित्व नै खतरामा पर्ने त होइन भन्ने चिन्ता र चासो पनि थपिएको छ ।

त्यसो त वैश्विकरुपमै त्रास नै त्रास विद्यमान छ । सत्ताको त्रासबीच कोरोनाको त्रास पनि छ । विश्वलाई कोरोनाले निल्ने हो कि भन्ने त्रास छ । अमेरिकालाई ट्रम्पले सत्ता हस्तान्तरण नगर्ने हो कि भन्ने चिन्ता । नेपालमा जल्दै नजलेको चिता माथिको ‘जिउँदो लास’ ब्युँतेला कि भन्ने भ्रम । चीनलाई विश्वको श्रीपेच बन्ने नेपथ्यको स्वप्नदोष । भारत दासताको गाथालाई चेपेर छोटेभाइसँग अंश खोस्न तल्लिन् ।

थुप्रै मुलुकहरूमा कोरोनाको लागि लड्न तम्तयार भएर बसिरहेका छन् । वैज्ञानिकहरू ‘नयाँ पृथ्वी’को रफ्तारमा छन् । तर हामी नेपाली कता अलमलिका छौं कता । वर्तमानमा असन्तुष्टि छ भने भविष्य घनघोर अन्धकारजस्तो । न बखानेर न भक्कानेर निको हुने समस्या आइलागेको छ कि भनीसाध्यै छैन ।

कार्यकर्तालाई कसको पछिलाग्दा ‘वैशाखी’ टेक्न पाइएला भन्ने दोधार । नेतालाई कसरी ठूलो कुर्सीमा पुग्ने भन्ने लालसा । मन्त्रीहरूलाई आफ्नो बासस्थान बलियै रहोस् भन्ने आतेशपन । प्रमलाई जङ्गलको सिंह बनिरहने धोको या भनौं भने दोस्रो पुस्ताको हातमा सत्ता सुम्पने गुलियो विरोधाभास ? तर प्रतिप्रश्न उब्जिहाल्यो कि ओलीले आफ्नो पेवा बराबरको ताराहारणलाई कुन दोस्रो पुस्तालाई हस्तान्तरण गर्दैछन् ? सत्ताकै जयजयकार गर्ने अन्धभक्तहरूलाई कि जनताका मुद्दा उकास्ने जनप्रतिनिधिलाई ? कार्यकर्ताको फाँटबारीमा फिजारिएका जनतालाई कुनैलाई नेकपाको विवादको छाया हेरिरहने ठेक्का होला त कुनैको रोगको डर र भोकको झोंक होला । यहाँ इतिहास फेरि जलेको अस्थीको गन्धित वायु बनेर सहरहरूमा अचेत-सचेतनाको सडकनाटक प्रस्तुतिको नयाँ रणनीतिमा सक्रिय छ ।

अभि गाउँले

कम्युनिस्ट सिद्धान्तको चाङभित्र लुकेर बदमास गर्नेहरूको बिगबिगी छ । कहिल्यै फल लाग्न नसकेको बाँझो वृक्ष र इतिहासको नाम र इनाम साथै सिद्धान्त बेच्ने सिद्धान्तका खुद्रे व्यापारीकहरूले भरिभराउ पार्टी कांग्रेसको घरधन्धाको दौडधुप पनि छ । विश्वमहामारी प्लेग, …र कोरोनाको दुष्प्रभाव नजिकबाट नियाल्दा लाग्छ कि अब मानव सभ्यताकै अस्तित्व मेटिने खतरा छ । रोगले चेपेको भोकबाट आमजनतालाई मुक्ति दिलाउने कुराहरूमा भन्दा सत्ता र शक्तिको लुछाचुँडीमा लाग्ने नेतृत्व यहाँभन्दा निन्दित कहाँ हुन्छ होला ?

नेकपाको ठूलो घरमा आगो सल्काइएको अशुभ समय चलिरहेको छ । ठूला घरका अभिभावकहरू एक-अर्कालाई खुइल्याउन लालयित छन् । पद र शक्ति आर्जनका खातिर घोचपेच र सम्बन्ध- विच्छेदको संघारमा उभिएको छ । बाबुरामहरू आफै सकिन लागेकाहरूलाई लक्षित गरी आफ्ना वाणीहरू खर्चिरहेका छन् । विशेष गरि जनता समाजवादीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रम डा. बाबुराम भट्टराईलाई मेरो के आग्रह छ भने तपाईं र तपाईंहरू केहि समय चनाखो तर मौन बसिदिनुहोला । सत्ताको किचलोको पिरलो नगर्नुस् ।

कतिबेला फुत्केला र च्याप पारूला भन्ने पनि नसोच्नुहोला किनकि समय अझै लाग्छ, यहाँको चलन थाहै छ । अर्को कुरा जनताले खोसेर पाएको लोकतन्त्र फेरि फिर्ता जाला भन्ने पीरै नगर्नु । यसको गम्भीर कारण छ किनकी राजा जनआन्दोलन र विशुद्ध जनताको दबाब मात्र नभई वैदेशिक शक्तिको आडमा ठेगान लागेका हुन् भन्नेमा अनेक प्रमाण शंकाको सुविधा बोकेर आएका छन् । यसबारे वृहद छलफल चलाउन सकिन्छ । अब जनताले बाबुरामहरूको उन्नत लोकतन्त्र र प्रगतिशील समाजवादको प्रतीक्षा गर्दैछन् । नेपाली राजनीतिमा व्यक्ति बाबुराम नभएर बाबुरामहरूले अवश्य सत्तारोहण गर्ने नै छन् ।

अहिले नेकपालाई जनताका आवश्यकताहरूप्रति केन्द्रीकृत हुनुसट्टा सत्ता जोगाउने गुटबन्दी र शासन बचाउने तिकडम गर्ने चटारो छ । प्रचण्ड १३ लाख भोटको जमानीले अपहेलित भए । ओली अराजक बन्दै गए । देउवा ज्योतिषीको अगमवाणीको पर्खाइमा । अबको निकै कष्टकर उत्राइ भनेको कि नयाँ सत्ताको उदय हो कि नयाँ व्यवस्थाको सुरू हो । यी दुईमध्ये कुन घटना घट्ने भन्ने यकिन छैन । अब प्रचण्ड-ओली एकअर्कोमा मिल्नुभन्दा निल्नु सहज मान्ने विन्दुसम्म पुगिसके ।

यिनीहरू भोलि पुनः जनताको आगन टेक्न जादा जनतालाई ओठेसमृद्धि दिन र जवाफ तयार पार्न अनेक आरोप-प्रत्यारोप भैरहेको छ । वास्तवमा ओली-प्रचण्ड अवास्तविक एकताको जाल रचेर आएका हुन् । केपि ओली उद्दण्ड र प्रचण्ड शालिन बन्या जस्तो गर्दैमा कहाँ पार पाइन्छ र ? हिजो सबै पुराना कुराहरूलाई बिर्सिएर साँच्चै समाजवादको बाटोतर्फ ओली-प्रचण्डको फगत एकता भाको हो भने आज कुन ढुङ्गामा हलो अड्किएको छ भन्ने कुरा त जगजाहेरै छ नि ! ती छल्न मिल्ने कुरा हैनन् । हिजो सत्ताको स्वाद बाँडीचुँडी खाम्ला है भनेर गुपचुप गरेर आएकाहरू आज एकाएक किन झगडा गरिरहेका ? यसको परिणाम सिङ्गो मुलुकले कतिन्जेल सहनुपर्ने ?

झन्डै दुई तिहाई नजिकको कम्युनिस्ट सरकार विवाद र असफलताको घेराबन्दीमा परेको छ । गणतन्त्र कमजोर बनेको बेला राजावादीको चकचके चाल र बागचाल सुरू भैसकेको छ । के राजाले फेरि श्रीपेच धारण गर्ने कुचेष्टा गर्दैछन् ? लोपोन्मुख कम्युनिस्टको सत्ता नेपालमा पनि विलुप्त हुन खोजेको हो ? यस्तै प्रश्नहरूको जवाफ भेटाउन मुस्किल छ ।

प्रचण्डलाई १७ हजारको हत्यारा करार गरिरहँदा राजा ज्ञानेन्द्रलाई अछुतो राख्न मिल्ला ? मेरो ब्रह्मले त्यसो भन्दैन । बरू सत्र हजार जनता मारिँदा प्रचण्डहरू कर्ता र शाही शासन कारक जस्तो पो देखिन्छ । राजाले अटेर गरेर अझ गद्दी नछाडेको भए सत्र हैन पचासौं हज्जार जनता मारिने थिए किनकि विद्रोहको ज्वाला दन्किरहेको थियो ।

राजाका भरौटे पछुवाहरू अहिले सडकमा उफ्रिपाफ्री मुकुटेतन्त्रका लागि चित्कार गरिरहेका छन् । राजाको गोडाको जल खाएका केहि तत्वहरू गणतन्त्रको राजा भएर बसेका छन् । राजाका सन्तानहरूको दिनदिनैको जुलुसले राजतन्त्रको पुनर्वहाली होला भन्ने सोच्न पनि सकिन्न । जनताको रगतको खोलोले बगाएको तानाशाहलाई सिमित मान्छेहरूको हुटहुटीले बचाउन सक्दैन । घोक्रो फुलाएर चर्को कोलाहल गर्दैमा राजाको महिमा त होला तर फेरि त्यही पुरानो कबाडीतन्त्र नवीकरण हुनै सक्दैन । बाबुरामको पछिल्लो भनाइलाई सापटी लिने हो भने गणतन्त्रको भात पाक्न ढिला भएर राजतन्त्रको गोबर नखान युवालाई गरेको आग्रह निकै सान्दर्भिक लाग्यो । ज्ञानेन्द्रले फेरि सत्ताप्राप्ति गरे भने उत्पातै गर्लान् कि भन्ने झिनो आशै छैन ।

जनता अहिलेको कम्युनिस्ट शासनसङ्ग वाक्कदिक्क भएकै छन् । सरकार हरेक कर्म गर्न खोजेजस्तो केही छल्न खोजेजस्तो र केही लुट्न व्यस्त जस्तो देखिन्छ । देशमा राजाहरूको भागदौड मच्चिरहँदा एक्ले राजा आइदिए हुन्थ्यो कि भन्ने भ्रमित सपनाहरू पनि नजन्मिएका हैनन् । इतिहासमा जंगबहादुरहरू कलंकित बने । विरेन्द्रहरू सधैं मानसपटलमा बसिरहे । तर ज्ञानेन्द्र एक्लै भित्तामा पुगे जसलाई न पुज्न सकियो न बुझ्न सकियो । जसलाई देशले राजा बनायो तर आफैंले आफैंलाई प्रजा बनाए, किनारामा पुर्‍याए । इतिहास फेरि दोहोरिन सक्छ तर पात्र, प्रवृत्ति र शासनशैली दोहोरिन सक्दैन । जनाअन्दोलन र जनयुद्धका टाटो बसेका घाउहरू बल्झने फेरि अर्को अन्धकारको घडी आउनेछैन ।

नेकपाको जारी विवादले अन्योलताका शिराहरू पलाउन थालेका छन् । ठूला दलका ठूलेहरू आफ्नो कुण्ठा पोख्न र चोखिन आतुर देखिन्छन् । पछिल्लो पत्र-युद्धले यही संकेत गर्छ कि अब भेडा भेडातिर र बाख्रा बाख्रातिरै हुनेछ । पोलापोल र झोसाझोसको तिक्ततापूर्ण अवस्थामा नेकपा डबल परिणाममुखी निष्कर्षसहित पार लाउन नसक्ने ठम्याइ छ । विग्रहको बाटोमा नेकपाको यात्रा अघि बढ्दैगर्दा देशका लागि गरिएको भनिएको एकलव्य एकताको औचित्य समाप्त भैसकेको छ ।

प्रचण्ड र ओलीले नेपाली राजनीतिलाई पुनः एकपटक प्रदूषित बनाएका छन् । यी दुवैले अहिलेसम्म जनतासामु माफी मागेका छैनन्, मात्र आपसी लडाईंको झमेलामा फसेका छन् । समय घर्किसक्यो, ढिला नगरौं । अब देशले नयाँ उद्धार खोज्दै छ । सबैले हातेमालो गरेर अस्थिरताको जालो हटाऔं ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay