अब ओली बहुमतबाट कसैगरी भाग्न मिल्दैन, राष्ट्रपतिको सक्रियता अस्वभाविकः नेतृ शाक्य
काठमाडौं, १९ मंसिर । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बहुमतबाट भाग्न नमिल्ने बताएकी छिन् ।
शुक्रबार थापाथली क्याम्पसमा नेकपाका प्रचण्ड-नेपाल पक्षको बिद्यार्थी भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले ओलीले सहमतिमा आउनुपर्ने कि बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बताएकी हुन् ।
शाक्यले प्रधानमन्त्री ओली अब बहुमतबाट कसैगरी भाग्न नमिल्ने उल्लेख गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियता पनि अस्वाभाविक रहेको भन्दै उनले पार्टीभित्र चलखेल गर्न नमिल्ने स्पष्ट पारिन् ।
उनले पार्टीभित्रको बहसले नै पार्टीलाई एकढिक्का बनाउने निष्कर्ष निस्कने विश्वास व्यक्त गरिन् ।
भेलामा नेकपा नेतृ रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह सुरु भएको बताइन् । उनले सचिवालयलमा साझा प्रस्ताव आउने सम्भावना पनि कम रहेको उल्लेख गरिन् ।
त्यस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताए ।
न्यौपानेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गरे ।
न्यौपानले शीर्ष नेतृत्वको अन्ध भक्त वा अन्धो विरोधले पार्टीलाई नै हानी पुर्याउने तर्क गरे ।