अस्ट्रेलियाविरुद्धको टी-२० श्रृंखलामा भारतको विजयी सुरुवात
काठमाडौं, १९ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेको भारतले टी-२० श्रृंखलाअन्तर्गतको पहिलो खेलमा जीत हात पारेको छ । शुक्रबार क्यानबेराको मानुका ओभलमा सम्पन्न खेलमा भारत ११ रनले विजयी भएको हो ।
भारतले दिएको १६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले पूरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो । कप्तान एरन फिन्चले ३५, डार्सी शर्टले ३४ र मोइसेस हेनरिक्सले ३० रन बनाएपनि टोलीलाई जीत दिलाउन सकेनन् । भारतका टि नटराजन र युजुभेन्द्र चहलले ३-३ तथा दीपक चहरले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो । उसका लागि केएल राहुलले ५१ र रविन्द्र जडेजाले अविजित ४४ रन बनाए । ९२-५ को कठिन अवस्थामा पुगेको भारतको इनिङ्स जडेजाले उकासेका थिए । सन्जु सामसनले २३ र हार्दिक पान्ड्याले १६ रनको योगदान दिएका थिए । अस्ट्रेलियाका मोइसेस हेनरिक्सले ३, मिचेल स्टार्कले २ तथा एडम जाम्पा र मिचेल स्वेपसनले १-१ विकेट लिएका थिए ।
पहिलो इनिङको अन्तिम ओभरमा ब्याटिङ गर्ने क्रममा बलले हेलमेटमा लागेपछि चोटिल भएको बताइएका जडेजाको स्थानमा ‘कनकसन सब्सचिट्युट’ बन्दै युजुभेन्द्र चहल दोस्रो इनिङमा मैदान प्रवेश गरेका थिए । उनैले ३ विकेट लिँदै अस्ट्रेलियाको ब्याटिङमा ब्रेक लगाइदिएका थिए ।
यी दुई टोलीबीचको दोस्रो टी-२० खेल आइतबार हुनेछ ।