scheduleसोमवारमाघ १२ गते, २०७७

ओली सरकारको निरन्तरता बाँदर्नीले बच्चाको लास छातीमा च्यापिरहनुजस्तैः बानियाँ

पोखरा, २० मंसिर । मदन पुरस्कार बिजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँले केपी ओली नेतृत्वको वर्तमान सरकारको निरन्तरता भनेको बाँदर्नीले मरेको बच्चाको लास छातीमा च्यापिरहनुजस्तै निरर्थक चेष्टा भएको टिप्पणी गरेका छन् ।

लेखक बानियाँले भनेका छन्, ‘ओलीमा मुलुकलाई सही दिशामा डोर्‍याउने ल्याकत छैन भनेको हुँ, भन्दै आएको छु र फेरि पनि भन्छु । कसैप्रतिको कुनै आग्रह होइन । ओलीको क्षमताको सही नापोको अभिव्यक्ति थियो त्यो ।’

लेखक बानियाँले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार जस्ताको तस्तै-

एउटा कुनाबाट फेरि उही पुरानो “सरकारको स्थायित्वको पैरवी” सुरु भएको छ । अर्थात् ओलीका समर्थक शुभेच्छुकहरुले कतै सरकारको नेतृत्व परिवर्तन हुने हो कि भन्ने डर मानेजस्तो देखिन्छ र अस्थिरताको पुरानो उदाहरण देखाएर लोकको सहानुभूति बटुल्ने कोसिस गर्न थालेको छ ।

एउटा कोणबाट हेर्दा त्यस्तो चेष्टालाई स्वभाविक मान्नु पनि पर्छ ।

दुनियाँले कसरी बुझेको थियो कुन्नी ? मेरो भने नितान्त फरक धारणा थियो । मेरो बुझाई र विचारलाई अरुले त्यही अर्थमा त्यसरी नै हेरिदिनुपर्छ भन्ने आग्रह थिएन । त्यस्तो आशय राख्नुको कुनै अर्थ पनि थिएन । किनकी समाजको अति सानै हिस्सालाई समेत आफ्नो बुझाईमा सहमत गराउन सक्ने खुबी थिएन । त्यस्तो अभियान चलाउने हैसियत पनि थिएन ।

पहिलो कुरा, पहिलो संविधानसभालाई त्यतिबेलाका नयाँ शक्ति र तिनको नेतृत्वले सदुपयोग गर्न सकेन । चार चार बर्षको अवधिमा संविधान दिन सकेन । बाहिरीतत्व उक्त संविधानसभालाई असफल गराउन लाग्यो कि लागेन भन्ने कुरा दोश्रो हो । संविधानसभाले संविधान बनाउन नसक्नु पहिलो कुरा हो । कारण होइन परिणाम के निस्क्यो भन्ने कुराले नेतृत्वको सफलता असफलता निर्धारण गर्ने हो ।

दोस्रो कुरा, संविधानको दोस्रो निर्वाचनमा पुराना पार्टीको पक्षमा जनमत दिनु नेपाली जनताको महा भूल थियो । पहिलो संविधानसभाले अपेक्षाकृत जनमुखी संविधान बनाउँथ्यो भन्ने कुरा स्पष्ट थियो । त्यही कारणले प्रतिगामी यथास्थितिवादी तत्व संविधानसभा असफल गराउने षड्यन्त्रमा लागेको थियो । त्यो कुरा नबुझ्नु ठूलो गल्ती थियो । संविधान निर्माणको जिम्मा पूर्व एमाले र नेपाली काँगेसलाई दिनु जनताको दोस्रो गल्ती भयो ।

तेस्रो कुरा, पूर्व एमाले र माओवादी केन्द्र संयुक्त भएर निर्वाचन लड्दा बहुमत प्राप्त हुनु स्वभाविक थियो । तर त्यसको नेतृत्वमा खड्गप्रसाद ओली रहनु मुलुकका लागि दुर्भाग्य थियो ।

नयाँ सरकार बनेको सुरु दिनदेखी नै अरिङ्गालहरुको गाली खाएरै पनि ओली नेतृत्वको सरकारले जनअपेक्षाअनुसार काम गर्न सक्दैन । ओलीमा मुलुकलाई सही दिशामा डोर्‍याउने ल्याकत छैन भनेको हुँ, भन्दै आएको छु र फेरि पनि भन्छु । कसैप्रतिको कुनै आग्रह होइन । ओलीको क्षमताको सही नापोको अभिव्यक्ती थियो त्यो ।

चौथो कुरा, सरकारको स्थायित्वको नाममा सत्ताको नेतृत्वमा ओली रहिरहनु देश र जनताका लागि नोक्सानदायी कुरा हो । ओलीको विकल्पमा आउने रद्दीभन्दा रद्दी विकल्प पनि अब्बल सावित हुनेछ ।

पाचौं कुरा, खराब भन्ने जान्दाजान्दै त्यसलाई माया गर्नु बाँदर्नीले मरेको बच्चाको लास छातीमा च्यापिरहनुजस्तै निरर्थक चेष्टा हो । यति भन्न पटक्कै हिच्किचाउनुपर्छ जस्तो लाग्दैन ।

विकल्प के ?

निकास टुङ्गियो भने पछिफर्कनुको विकल्प रहँदैन । अगाडि जान सक्ने सम्भावना छउन्ज्याल हिँड्ने अगाडि हेरेरै हो ।
नेपालको प्रजातान्त्रीक आन्दोलन राणाशाही, पञ्चतन्त्र, राजशाही हुँदै लोकतान्त्रीक गणतन्त्रसम्म आइपुगेको हो ।
यतिखेर गणतन्त्र कसका लागि, जनताको लागि कि नेताको लागि भन्ने प्रश्न उठ्न थालेको कुरा सत्य हो ।
जुनसुकै तन्त्र किन नहोस त्यो जनताकै हित कल्याणको लागि हुनुपर्ने हो । दुर्भाग्यवश त्यस्तो लक्षण देखिएको छैन ।
विकल्प के त ? पहिलो विचारणीय कुरा के हो भने के साँच्चै व्यवस्थाको विकल्प खोज्नुपर्ने बेला भैसकेको हो त ?
यदि विकल्प आवश्यक छ भन्ने हो भने पनि राजतन्त्र विकल्प हुन सक्दैन । खोजी गर्मे उत्तम विकल्पको हो । लोकतन्त्रिक गणतन्त्र भनिएको वर्तमान खिचडी व्यवस्थामा परिमार्जनको प्रशस्त ठाउँ छ । राजतन्त्रमा फर्कनु भनेको विद्युतको विकल्प टुकीमा खोज्नु भनेजस्तै हो ।
गर्न के सकिन्छ त ?
व्यवस्थालाई अझै जनमुखी बनाउन सकिन्छ । संसारमै असफल भइसकेको संसदीय व्यवस्थाको सट्टामा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिन्छ । जानै पर्छ । समावेशी लोकतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनुपर्छ । जातीय-भाषिक पहिचान र इतिहासलाई प्रदेश विभाजनको आधार बनाउनुपर्छ ।
अबको विकल्प पुनर्संरचना हो ? व्यवस्थाको विस्थापन होइन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay