नेकपा विवादः ओलीको बोली कडा, व्यवहारमा अलमल
काठमाडौँ, २० मंसिर । सधैंझै सत्तारुढ नेकपाको बैठकमा शनिबार पनि नेकपा अध्यक्ष रन्किए । उनले कडा कडा कुरा गरे ।
झण्डै चार घण्टासम्म चलेको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बैठकअघि साझा प्रस्ताव बनाउन मेहनत गर्नुपर्नेमा जोड दिए ।
‘ममाथि बल प्रयोग भइरहेको छ, बहुमतको बल । यो मलाई मान्य छैन,’ ओलीको भनाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘धेरै बल प्रयोग नगरौं । प्रचण्डको अभियोगपत्रमा छलफल हुनै सक्दैन । यसलाई लिएर गएर स्थायी समितिको बैठक भोलि बस्न सक्दैन ।’
अध्यक्ष ओलीले सचिवालय बैठकमै सहमति गरेर जानुपर्नेमा जोड दिएका थिए ।
भनाई जति कडा भए पनि ओली समूहमा अलमल देखिएको छ । यसअघि पनि बैठकमा नआउने भन्दै आएका उनका लागि स्थायी समितिबाट भाग्नु लाभदायक नहुने निष्कर्ष दाहाल-नेपाल समूहको छ ।
स्थायी समितिमा आफूविरुद्ध उनकै शब्दमा ‘गालीगलौज र रत्यौली नाचिने’ भएकोले आफू नआउने उनले प्रष्ट पारिसकेका छन् । ओलीको कडा बोली र चेतावनीका बीच प्रचण्डले आइतबारको बैठक घोषणा गरिदिए र प्रवक्ता नारायणकाजी श्रेष्ठले सोही कुरा सञ्चारमाध्यममा जानकारी दिए ।
स्थायी समितिको बैठकमा जाने कि नजाने भन्ने विषयमा ओली समूहकै नेताहरुबीच मत बाझिएको छ । ईश्वर पोखरेल र रामबहादुर थापा बादलले बैठकमा जानुको विकल्प नभएको बताएको बैठकमा सहभागी एक नेताले दावी गरे ।
शनिबारको बैठकमा बरु वामदेव गौतमले स्थायी समितिका लागि ओलीलाई केही समय दिन प्रस्ताव गरे पनि उनकै समूहका सदस्यहरुले साथ दिएनन् ।
यसबाट ओलीमाथि चौतर्फी दबाव बढेको छ । ‘शनिबारको बैठकमा उहाँले चुनावअघि प्रधानमन्त्री र महाधिवेशनअघि अध्यक्ष नछाड्ने र त्यागको कल्पनामा नरमाउन भन्नुभयो । तर भोलि के गर्ने भन्नेबारे उहाँको समूहमा चौतर्फ संकट देखिएको छ,’ नेपाल-दाहाल समूहका एक नेताले भने ।
नेपाल-दाहाल समूहले ओलीले त्याग गर्नुपर्ने भन्दै घुमाउरो ढंगले राजीनामा मागिसकेको छ ।
कतिपय नेकपा नेताहरुले आइतबारको स्थायी समिति बैठकमा ओली अनुपस्थित हुने भने पनि आफ्नो अनुपस्थितिमा राजनीतिक भण्डाफोर हुने भयले उपस्थित हुनसक्ने एक नेताले पूर्वानुमान सुनाए ।