प्रहरीको ‘ह्याकर हन्ट’ अपरेशनः यसरी पक्राउ परे लोकसेवाको सर्भर ह्याकर
काठमाडौं, २२ मंसिर । नेपाल प्रहरीले लोकसेवा आयोगको सर्भर ह्याक गर्ने ह्याकरलाई पक्राउ गरेको छ । उनीहरुलाई सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गरेको आरोप लागेको छ ।
प्रहरीको साइबर ब्यूरोले लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोप उनीहरुलाई लगाएको छ । प्रहरीको साइबर ब्यूरोले काठमाडौं र पोखराबाट एक/एक जनालाई पक्राउ गरेको जनाएको छ ।
यसका लागि साइबर ब्यूरोले ह्याकर हन्ट अपरेशन सञ्चालन गरेको जनाएको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-९ सानेगाउँका २५ वर्षीय विवेक महर्जन र कास्कीको पोखरा महानगरपालिका छोरेपाटन बस्ने १७ वर्षीय युवा र घारीपाटनका १५ वर्षीय अर्का युवा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई विद्युतीय कारोबार ऐन, २०६३ को परिच्छेद-९ बमोजिमको कसुर गरेको खुल्न आएकोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई अनुसन्धान अगाडि बढाइएको साइबरो ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी नविन्द अर्यालले जानकारी दिए ।