scheduleसोमवारफाल्गुन २४ गते, २०७७

अबको विकल्प के ?

बुद्धि तामाङ
बुद्धि तामाङ

 

अहिले जनतामा निराशा छाएको छ । जनताले सोचेको, आश गरेको जस्तो परिवर्तन हुन सकेन । यतिधेरै कर उठेपछि थोरैथोरै विकास निर्माण त हुने नै भयो । तर जनताले चाहेको मूल कुरा भ्रष्टाचार नियन्त्रण, स्वदेशमैं रोजगारी सृजना, सुशासन, पारदर्शिता, आत्म निर्भर अर्थतन्त्रको विकास, राष्ट्रिय पुँजिको निर्माण, व्यापारमा सन्तुलन, निर्यातमुखी अर्थतन्त्रको विकासजस्ता आधारभुत कुराहरुमा सरकारले कसरी काम गरिरहेको छ ? तत्कालीन र दीर्घकालीन योजनाहरु के-के बनाएर काम गरिरहेको छ भन्ने महत्त्वपूर्ण हो । यी कुरामा सरकार पुरै उदासीन छ ।

सरकारको सबैभन्दा ठूलो दुर्गुण यो छ कि सरकार कसैको कुरा सुन्न चाहँदैन । आफ्नो गुटको साँघुरो घेरामा सरकार रमाइरहेको देखिन्छ । आफ्नै दलको कुरासम्म सुन्न तयार छैन । जसको कारण आफ्नै दलभित्र विग्रहको कारण सरकारको काम गराइको गति निकै धिमा बनेको छ ।

यो दोष केपी ओलीको हो वा प्रणालीको हो ? यस बारेमा बहस हुन जरुरी देखिन्छ ।

अग्रेजीमा एउटा भनाइ छ- एउटा असल बाध्यवादकको हातमा बिग्रेको बाध्ययन्त्र पनि राम्रोसँग बज्न सक्छ ।

हो नेतृत्व असल, दूरदर्शी र इमानदार हुने हो भए सिस्टममा भएका खराबीहरुलाई पनि सुधार गर्दै नतिजा दिने गरी काम गर्न सक्छ । तर जति नै सिपालु भए पनि सिस्टम पुरै बिग्रेको छ भने काम गर्न सकिन्न ।

व्यवस्था जति नै उत्तम भए पनि चलाउने कला जानेन भने फेरी पनि काम हुँदैन । जसरी प्रविधि जति नै विकसित र उन्नत भए पनि त्यसलाई चलाउने सीप कला छैन भने काम हुन सक्दैन । प्रणाली र जनताको चेतनाको लेवलबीच तादम्यता हुन जरुरी हुन्छ । गोरु जोत्नेलाई ट्याक्टर चलाउन दिएर हुँदैन । गाडी कुदाउनेलाई प्लेन चलाउन दिएर हुदैन ।

संसदीय व्यवस्था त्यतिखेर मात्र राम्रो हुन्छ, जब जनता सचेत छन्, पैसामा मत बेच्दैनन् । हाम्रो जस्तो देश जहाँ जनता होईन सभासदहरू/सांसदहरूको खुलेआम खरिद बिक्री हुन्छ । त्यस्तो देशमा यो प्रणाली निकै अस्थिर हुँदो रहेछ । जहाँ बाइ पार्टी सिस्टम छ, त्यहाँ तुलनात्मकरुपमा स्थिर सरकार हुँदोरहेछ । हाम्रो जस्तो देश जहाँ च्याउसरी पार्टीहरु उम्रिएका छन् । जहाँ समानुपातिक प्रणाली पनि छ । निकै नै अस्थिर हुने देखियो ।

कतिपयले अहिलेको गणतन्त्र नितान्त नयाँ प्रणालीको रुपमा बुझ्ने गरिएको देखिन्छ । अहिलेको पार्लियमेन्टरी सिस्टम नयाँ होईन । यसलाई हामीले ४६ सालदेखि नै भोग्दै आएका हौं । राजाको ठाउँ राष्ट्रपतिले लिए । र केही समानुपातिक सिटको व्यवस्था गरियो । त्यति मात्र फरक भएको थियो । केही फरकपन देखिए पनि सारमा प्रणाली उही हो । जुन त्यतिखेर नै असफल भै सकेको थियो ।

नेपाली जनताले प्रयोगमा ल्याउन बाँकी एक मात्र विकल्प जनताले चुन्ने कार्यकारी राष्ट्रपति प्रणाली हो ।

यसको राम्रो पक्ष भनेको जसले जित्छ, पाँच वर्ष ढुक्कले सरकार चलाउन पाउछ । सरकार स्थिर हुन्छ । दिगो हुन्छ । सरकार ढाल्ने खेलहरू हुँदैन । राजतन्त्र जस्तो निरंकुश पनि हुन पाउँदैन ।

अर्को कुरा कुनै दल मै नलागेका मानिस पनि चुनिन सक्छ । गलत गरे पाँच वर्ष पछिको चुनावमा मिल्काइ दिन पाइन्छ ।

तर मेरो विचारमा दुई कुरामा ध्यान दिनुपर्छ । अमेरिकाको जस्तो राष्ट्रपति प्रणाली काम छैन । प्रस्ट बहुमतबाट चुनिनु पर्छ र दुई कार्यकालको व्यवस्था गर्नुपर्छ । लामो समय दिनु हुँदैन । लामो समय दिँदा निरंकुश हुने खतरा हुन्छ ।

अर्को कुरा संसद पूर्ण समानुपातिक हुनु पर्छ । सभासदहरुलाई विकास बजेट चलाउन पाउने अधिकारबाट वञ्चित गराउनु पर्छ । सभासदको काम कानून बनाउनेमा सीमित गर्नुपर्छ । जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्न मद्दत मिल्छ । पूर्ण समानुपातिक हुँदा जातीय क्षेत्रीय र लैङ्गिक सन्तुलन मिलाउन पनि सजिलो हुन्छ ।

राष्ट्रपतिले सरकार गठन गर्दा राजनीतिबाट टाढा रहेका राष्ट्रिय जीवनमा योगदान दिइसकेका विज्ञहरु, वैज्ञानिकहरु, समाजसेवीहरुबाट समेत छान्न सकिने व्यवस्था हुनुपर्छ ।

(तामाङको फेसबुक पेजबाट लिइएको)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay