scheduleशनिवारमाघ १० गते, २०७७

साँच्चै विवेकशील साझा कि न विवेकशील न साझा ?

साझापोस्ट टिप्पणी

काठमाडौं, २५ मंसिर । गत संसदीय निर्वाचनमा एउटै चुनाव चिन्ह ‘तराजु’ बाट सहभागी भएर फुटेका दुई दल साझा र विवेकशील पुनश्चः एक भएका छन् । बुधबार दिउँसो भर्चुअल बैठक गर्दै पार्टी एक भएको घोषणा मात्र गरेनन्, एकता–प्रक्रियाका आधारभूत सहमतिहरु पनि सार्वजनिक गरियो । विवेकशील–साझा पार्टीको यो एकतालाई सबैले सकारात्मकरुपमा लिएको पाइन्छ ।

बहुदलीय लोकतन्त्र भनेकै वैचारिक विविधताको प्रणाली हो । बहुदलीय लोकतन्त्रमा राजनीतिक दलहरुका लागि फरकफरक स्पेश र भूमिका हुन्छन् । कुनै एक वा दुई दलले सबै नागरिक र मतदाताको सोच र भावनालाई समेट्न सक्दैन । तसर्थ ‘एकदलीय प्रणाली’ लाई लोकतन्त्र मानिँदैन । कुनै समय एकदलीय प्रणालीमा विश्वास र गौरव गर्ने साम्यवादी र बाथ आन्दोलनकारीहरु आज स्वयम् आफैंलाई ‘बहुदलीय जनवादी’ भन्न रुचाउँछन् ।

पूर्वी युरोप, सोभियत संघदेखि उत्तर कोरियासम्म साम्यवादी एकदलीयताको पतन र संकट प्रष्टै छ । इराकमा सद्दाम हुसेनको पतन र सिरियाको गृहयुद्धपछि ‘एकदलीय बाथ आन्दोलन’ लगभग पतनको अन्तिम चरणमा पुगेको छ । ठीक त्यसैगरी ‘द्वि–दलीय प्रणाली’ का संकटहरु अमेरिकी समाजमार्फत् प्रकट भएको छ । निर्वाचक मण्डलमा आधारित निर्वाचन प्रणालीका कारण ‘द्वि–दलीय प्रणाली’ अनौपचारिक रुपमा संस्थागत भएको अमेरिकामा ‘द्वि–दलीय प्रणाली’ विरुद्धको बौद्धिक बहस तीव्र हुन थालेको छ ।

बहुदलीय लोकतन्त्रले एक वा दुई मात्र हैन, वैचारिक स्पेश, नागरिक मनोभावना र मतदाता मनोविज्ञान अनुरुपका फरकफरक दलहरुको भूमिका र स्थानलाई महत्व दिन्छ । अझ समानुपातिक निर्वाचन प्रणाली भएका देशमा एक साथ धेरै दलहरु उत्तिकै क्रियाशील हुन सक्दछन् । जर्मनी, इटाली वा फ्रान्सको लोकतन्त्रमा ३–६ सम्म दलहरु उत्तिकै प्रभावशाली भूमिकामा देखिन्छन् ।

गत संसदीय निर्वाचन विवेकशील–साझा पार्टीले भाग लिएको पहिलो निर्वाचन थियो । त्यस निर्वाचनमा यो पार्टीले करिब ३ लाख भोट पाएको थियो । समानुपातिक तर्फको थ्रेसहोल्ड भेट्न नसके पनि त्यो पहिलो निर्वाचनमै हासिल गरेको उल्लेखनीय मत थियो । पार्टी सबैभन्दा धेरै भोट प्राप्त गर्ने पाँचौं ठूलो पार्टी बनेको थियो । प्रदेश– ३ मा प्रादेशिक थ्रेसहोल्ड काटेर ३ सीट हासिल गरेको थियो भने काठमाण्डौंका विभिन्न प्रत्यक्ष निर्वाचन क्षेत्रमा यस पार्टीका उम्मेद्वारले सम्मानजनक मत प्राप्त गरेका थिए ।

चुनावमा भाग लिएका पहिलो निर्वाचनमा नै यतिको जनसमर्थन र मत हासिल गर्नु कुनै चानचुने कुरा हैन । दल निर्माणमा अनुभव र इतिहास हेर्दा अधिकांश नयाँ दलले त्यति छोटो अवधिमा यो स्तरको सफलता हासिल गरेका हुँदैनन् । तर, चुनावपछि त्यो स्थिति कायम रहेन । पार्टी आफैं फुट्यो । कयौं स्थापित नेता कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरे । बाहिरबाट हेर्दा यस्तो गर्न कुनै जरुरी थिएन । तर भयो । पार्टीको विश्वासनीयतामा उल्लेखनीय ह्रास भयो । जुन आशा र अपेक्षाले मतदाताले विवेकशील–साझा पार्टीलाई भोट दिएका थिए, त्यो अपेक्षा आफैं शिथिल भएर गयो ।

अहिले दुवै समूहका नेताले त्यसरी फुट्नु ‘गल्ती थियो’ भनेका छन् । कम्तीमा ‘गल्ती स्वीकार’ गरेका छन् । कुनै कदम गल्ती थियो भनेर स्वीकार गर्दैमा त्यसका दुष्प्रभावहरु समाप्त हुँदैनन् । यो गल्तीले भएका हानीनोक्सानीहरु पार्टीले व्यहोरी सकेको छ । तथापि गल्ती स्वीकार गरेर फेरि उठ्ने प्रयास गर्नु नराम्रो हैन ।

दोस्रो संविधानसभा निर्वाचनसम्म नेपालमा फुट प्रवृतिको व्यापक प्रभाव थियो । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या ३९४ र संविधानसभाभित्रै २६ दलको प्रतिनिधित्व भएको अवस्था थियो । बहुदलीय लोकतन्त्रमा धेरैबटा दल हुन्छन् भन्नुको अर्थ असिमित रुपमा दलैदल हुनुपर्दछ भन्ने हैन । एउटै विचार र एजेण्डा भएका धेरै दलहरु हुन आवश्यक छैन । नयाँ संविधानमा ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएसँगै दलहरु फुटबाट जुटतिर अभिप्रेरित भए । त्यो सकारात्मक कुरा थियो ।

एमाले र माओवादीजस्ता साम्यवादी स्पेशको नेतृत्व गरिरहेको दलहरुको एकताबाट सत्तारुढ नेकपा बन्यो । अझै यो धारमा अनावश्यक धेरै दलहरु छन् । नेकपा (माले), मसाल, नेमकिपा, बैद्यजस्ता दलहरुको कुनै औचित्य देखिएको छैन । हिंसात्मक क्रान्ति र एकदलीय साम्यवादमा विश्वास गर्ने विप्लब समूहको कुरा भिन्नै भयो ।

उदार लोकतान्त्रिक धारमा नेपाली कांग्रेस अहिलेसम्म एक्लो पार्टी छ । यद्यपि यसभित्रको आन्तरिक ध्रुवीकरणले केही साना असन्तुष्ट समूहहरु नजन्मिएका हैनन् ।

समाजवाद र संघवादको साझा सिद्धान्त बोकेर समावेशिता र बहुसाँस्कृतिकतावादी दलहरु जनता समाजवादी पार्टीमा एकताबद्ध भएका छन् । यो धारमा पनि यस बीच उल्लेखनीय एकता र ध्रुवीकरण भएको छ ।

राजतन्त्र र हिन्दूराज्यको सवाल बोक्ने राप्रपाका सबै धारहरु फेरि एक भएका छन् । यस बीचमा भएका यी सबै ध्रुवीकरणहरु सकारात्मक छन् ।

नेकपाको साम्यवादी, नेकाको उदार लोकतान्त्रिक, जसपाको संघीय समाजवादी र राप्रपाको सम्बद्र्धनवादी धारभन्दा फरक विवेकशील–साझाले ‘उत्तरवैचारिक युगको एजेण्डा केन्द्रित’ राजनीति गर्न खोजेको देखिन्छ । यसलाई उनीहरुले ‘मध्यम मार्ग’, ‘कल्याणकारी लोकतन्त्र’ र ‘डेलिभरी’ को राजनीति भन्ने गरेका छन् । गैरवैचारिक भने पनि यी विषय आफैंमा वैचारिक हुन् । शहरिया मध्यमवर्ग र डिजिटल युगको युवा मतदातामा यस दलको आकर्षण र ‘कन्स्टीच्वेन्सी’ देखिन्छ । भबिष्यमा यो कायम रहन्छ वा रहँदैन, घट्छ वा बढ्छ, त्यो त्यतिखेरै विश्लेषण गर्न सकिने कुरा हो ।

अहिलेलाई भने विवेकशील–साझाको एकतालाई सकारात्मक रुपमा लिनुपर्दछ । यसले पुराना दलहरुमाथिको दवाबलाई बढाउने छ । पुराना र ठूलाहरुले मुखरित गर्न नसकेका सीमान्त एजेण्डाहरु यस दलमार्फत् मुखरित, प्रवाहित हुन सक्दछन् । यस दलले आफूभित्र नयाँ र सार्थक लोकतान्त्रिक अभ्यासहरु गर्न सके अरु दलले पनि त्यसलाई पछ्याउनु पर्ने बाध्यता सृजना हुन सक्दछ ।

वैकल्पिक’बाट ‘निर्विकल्प दल’ बन्ने नेताहरुको घोषणामा भने खासै तारतम्य देखिन्न । बहुदलीय लोकतन्त्रमा कुनै पनि दल निर्विकल्प हुँदैहुँदैन । निर्विकल्पताको चाहना निर्दलीयता वा एकलीयताको चाहनातिर ढल्कँदै जान सक्दछ । मुखले घोषणा गर्दैंमा कुनै दल निर्विकल्प हुने हैन । दलको व्यवहारिक भूमिकाले समाजमा उसको स्थान र आकार प्रष्ट हुँदै जाने हो ।

यो दलका नेताहरुमा अझै संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत इमान्दारिताप्रतिको अनुचित विश्वास देखिन्छ, जुन सही हैन । देश कुनै अमूक व्यक्ति सत्तामा नपुगेको कारणले नबनेको हो, ‘मलाई प्रधानमन्त्री बनाइदिनुस्, सबै ठीक हुन्छ’ भने जस्तो तर्कप्रणाली बचकना हो । यस प्रकारको आग्रहबाट बहुदलीय संसदीय लोकतन्त्रमा मतदाता प्रभावित हुँदैनन् । प्रत्यक्ष निर्वाचित कार्यकारी भएको प्रणालीमा यस्तो तर्कको केही महत्व हुन सक्दथ्यो, जो अहिले छैन ।

कुनै पनि व्यक्ति वा नेताको ‘इमान्दारिता’ नाप्ने कुनै यन्त्र हुँदैन । एउटै व्यक्ति समय, स्थिति र सवाल अनुसार ‘इमान्दार’ वा ‘बेइमान’ हुन सक्दछ । आज सत्तामा भएका दलका अधिकांश नेताहरु कुनै समय इमान्दार नै थिए । मुख्य प्रश्न फेरि पनि प्रणाली, पद्धति, संस्थागत प्रक्रिया, सही नीति, कार्यशैली र संस्कृतिकै हो । यी प्रश्नलाई गौण राखेर व्यक्तिकेन्द्रित इमान्दारिताको बहस अब विवेकशील–साझा पार्टीलाई सुहाउँदैन ।

विवेकशील–साझा पार्टीलाई उसका सदस्य, समर्थक र मतदाताले मात्र हैन, अन्य पार्टीका सदस्य, मतदाता र समर्थकहरुले पनि नियालिरहेका हुन्छन् । लोकतन्त्रमा दलहरु सबैका साझा सम्पति हुन् । सवाल र कार्यशैलीले आशा जगाएमा फरक धारमा मतदाताले पनि अपेक्षा राख्न र मत दिन सक्दछन् । त्यसका लागि दलको नाम विवेकशील–साझा हुनु मात्र पर्याप्त हुँदैन ।

दलको चरित्र र एप्रोच साँच्चै ‘विवेकशील’ र ‘साझा’ हुन सक्नु पर्दछ । नाम विवेकशील–साझा हुने काम न विवेकशील न साझा हुने हो भने यो दलको एकताले खासै अर्थ राख्दैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay