बिरामी देखिन १० किलो तौल घटाउँदै अनमोल
काठमाडौं, २५ मंसिर । अहिले चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । कारण हो- अस्पताल, विमानस्थलको दृश्यको आवश्यकता ।
नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहेको चलचित्रको छायांकन २ महिनाको लागि रोकिएको हो । चलचित्रमा अब केही दृश्यका साथै २ वटा गीतको छायांकन बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।
झरना थापाको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा नायक अनमोल केसी ३ वटा गेटअपमा प्रस्तुत हुने निर्माता थापाले बताए । उनले भने–‘चलचित्रमा अनमोलको ३ वटा गेटअप छ । जसमध्ये २ वटा गेटअपको छायांकन सकिएको छ । बाँकी एउटा गेटअपका लागि अनमोलले आफूमा परिवर्तन ल्याउनुपर्नेछ ।’
चलचित्रमा नायक केसी गम्भीर बिरामी देखाउनुपर्ने दृश्य पनि खिच्न बाँकी छ । यसको लागि केसीले करिब १० केजी तौल घटाउनुपर्ने हुन्छ । नायकको तौल घटाउन चलचित्रको छायांकन नै रोक्नुपरेको निर्माणपक्षले जनाएको छ ।
गत वर्षको फागुनबाट छायांकन सुरु गरिएको चलचित्र आगामी दशैंमा रिलिज गर्ने लक्ष्य निर्माणपक्षले लिएको छ ।