scheduleसोमवारफाल्गुन २४ गते, २०७७

गान्धी परिवारको नेतृत्वमा भारतीय कांग्रेसले पुनर्जीवन पाउन गाह्रो छ

अनिक जोशी

भारत वंशहरुको देश हो । सबैभन्दा चर्चित वंश नेहरु–गान्धी परिवार हो । यो परिवारबाट भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्ष हुने पहिलो व्यक्ति जवाहरलाल नेहरुका पिता मोतीलाल नेहरु थिए । उनले सन् १९१९–२० र सन् १९२८–२९ मा गरी दुई पटक कांग्रेसको नेतृत्व गरे ।

मोतीलालको दोस्रो कार्यकालपछि उनका छोरा जवाहरलाल नेहरुले कांग्रेस नेतृत्वको उत्तराधिकार लिएका थिए । जवाहरलाल नेहरु पहिलोपटक सन् १९२९–३० मा यो उच्च पदमा पुगेका थिए । त्यसपछि १९३६–३७, १९४६, १९५१–५४ मा कांग्रेस अध्यक्ष भए । तिनै जवाहरलाल नेहरु सन् १९४७–६४ सम्म भारतको पहिलो प्रधानमन्त्री भए ।

त्यसपछि गान्धी थर लेख्ने नेहरुकी छोरी इन्दिरा सन् १९७८ मा कांग्रेसको अध्यक्ष भइन् । त्यतिन्जेलसम्म कांग्रेसको अध्यक्ष हुनु यो परिवारको ‘पारिवारिक–व्यवसाय’ जस्तो भइसकेको थियो । भलै कि इन्दिराले यो काम अझ उच्चस्तरमा गरिन् । नेहरुको कार्यकालमा यो परिवार बाहिरका मान्छे पनि कांग्रेसको अध्यक्ष हुन्थे ।

सन् १९७८ पछि सन् १९९१–१९९८ बीचको अपवादलाई छोडेर कांग्रेसको नेतृत्व नेहरु–गान्धी परिवारको सदस्यले मात्र गरेको छ । सन् १९९८ मा राजीव गान्धीकी विधवा सोनिया गान्धीले कांग्रेसको नेतृत्व लिइन् । सन् १९१७–१९१९ मा उनकै छोरा राहुल गान्धी यो पदमा थिए ।

गणतन्त्र भारत स्थापनाका प्रारम्भिक दिनहरुमा यो परिवारको नाम देशभरि उच्च सम्मान र शुभेच्छाका साथ लिइन्थ्यो । मेरो बुबा सन् १९६० मा जन्मेर दिल्लीमा हुर्किनु भएको थियो, भन्ने गर्नु हुन्थ्यो– इन्दिरा कांग्रेसको राजनीतिज्ञ हुन् भनेर उनलाई मान्छेले भोट दिएका हैनन्, नेहरुकी छोरी हुन भनेर दिएका हुन् । यद्यपि इन्दिरा दिल्लीभन्दा ४०० माइल टाढा उत्तरप्रदेशको रायबरेलीबाट चुनाव लड्ने गर्थिन् ।

नेहरु–गान्धी परिवारले आज हिजोको आकर्षण गुमाएको छ । इलाहावाद जेलका सजाय, घरजग्गा दान गर्ने र नयाँ राष्ट्रको जन्म र स्वतन्त्रताका लागि योगदान गर्ने परिवारको रुपमा उनीहरुको चर्चा हुन छोडेको छ । अब यो परिवार नातावाद, आर्थिक घोटाला र गलत प्रकारको धर्मनिरपेक्षताका लागि चर्चा हुन्छ ।

ATUL LOKE/GETTY IMAGES

आपतकालको समयमा जब इन्दिरा गान्धीले करिब २१ महिनाका सबै शक्ति आफूमा केन्द्रित गरेकी थिइन्, कांग्रेस ‘अल इन्डिया पार्टी’ बाट ‘अल इन्दिरा पार्टी’ जस्तो बनेको थियो । जयप्रकाश नारायण, मोरारजी देसाई, जे. कृपालानीजस्ता कांग्रेस दिग्गजहरु या त पार्टीबाट निकालिएका थिए, या त पार्टी छोडेका थिए । केहीलाई त जेल हालिएका थियो ।

त्यसको बदलमा केही पारिवारिक सदस्य, चाकरीबाज र एसम्यानहरु शक्तिमा आए । तिनीहरुको आ-आफ्नै स्वार्थ थियो । राजनीतिमा आएका इन्दिराका छोरा सञ्जय गान्धीले जबरजस्ती नसबन्दी र माजे मस्जिद एरियाका गरिबहरुलाई खेद्ने जस्ता परियोजना चलाए । सन् १९७७ मा इन्दिराले चुनाव गराउने निर्णय गरिन् । कांग्रेसले ऐतिहासिक हार सामना गर्नु पर्‍यो । पहिलोपटक गैर–कांग्रेस सरकार बन्यो ।

कांग्रेसको गणना हुन समेत छोडेको थियो तर सन् १९८० मा फेरि शक्तिमा आयो । सन् १९७७ देखि सन् १९८० सम्मको कांग्रेसको मुख्य चरित्र भनेको ‘एक महिला पार्टी’ थियो, अरु सबैको काम त्यहाँ इन्दिरालाई सहयोग र समर्थन गर्नु थियो । सन् १९८४ मा इन्दिरा गान्धी आफ्नै दुई शिख अंकरक्षकद्वारा मारिइन्, जो अमृतसार स्वर्ण मन्दिरमा भएको अपरेसन ब्लु स्टारबाट असन्तुष्ट थिए । उनको हत्याले उनको प्रतिष्ठालाई जोगाइ राख्यो ।

यदि उनी राजनीतिमा जीवित र कायम रहन्थिन् भने उनले आपतकालमा लोकतन्त्रको निलम्बन र सर्वसत्तावादका लागि, शिख आन्दोलनकारी र पवित्र स्वर्णमन्दिर हमलाका लागि जीवनभरि उत्तर दिनु पर्ने हुन्थ्यो । तर उनको ‘नयाँ भारतका लागि शहीद’ छवि सबै चिजलाई छायामा राख्यो र कांग्रेसमा कुनै भरपर्दो सुधारको सम्भावना झनै टाढियो ।

गैरनेहरु–गान्धी परिवारको नेतृत्व जन्मिनका लागि त्यो उपयुक्त समय थियो । भारतभरि कांग्रेसप्रति सहानुभूति थियो । त्यसले जो नेतृत्वमा आएपनि एक अवसर दिन्थ्यो । धेरैले त्यतिखेर पछि राष्ट्रपति बनेको प्रवण मुखर्जी कांग्रेस नेतृत्वमा आउलान् भनेर कल्पना गरेका थिए । तर, अन्ततः उनी छानिन सकेनन् । इन्दिराका अर्का छोरा राजीव जो पाइलट थिए,लाई पार्टीको नयाँ चेहरा बनाइयो । राजीव युवा थिए । अझै पनि भारतमा सबैभन्दा युवा प्रधानमन्त्रीको रेकर्ड उनकै नाममा छ ।

राजीव गान्धी नेतृत्वको कांग्रेसले इतिहासकै सबैभन्दा ठूलो जित निकाल्यो । ५४२ मध्ये ४०० लोकसभा सीट कांग्रेसले जित्यो । उनलाई पनि निरन्तरताभन्दा सुधारको अनुहार मानिएको थियो तर आखिरमा उनी पनि गान्धी नै थिए । उनको कार्यकाल केही काण्डहरुका लागि चर्चित रहे । जस्तै बोफोर्स र साहबानु केस । बोफोर्स काण्डमा उनलाई बोफोर्स हतियार निर्माता कम्पनी र भारतीय सेनाबीचको खरिदमा नाफा खाएको आरोप लाग्यो ।

साह बानु केस भने फरक खालको धार्मिक सम्बन्ध विच्छेद र धर्मनिरपेक्ष कानुनबीचको एक जटिल घटना थियो । यो घटनामा गान्धी र उनका सल्लाहकार मुस्लिम भोट घट्न सक्ने भयले चिन्तित थिए । यो घटनाले मुस्लिम तलाक नियम र धर्मनिरपेक्ष कानुनको प्रावधान टकराएका थिए । गान्धीका लागि दुर्भाग्य सन् १९८९ को चुनाव कांग्रेसले हार्‍यो ।

अर्को चुनाव सन् १९९१ मा भयो । तर राजीवले यो चुनाव सकिएको हेर्न पाएनन् । तमिल आत्मघाती बम हमलामा परी उनी मारिए । कांग्रेसको उत्तराधिकार पिभी नरसिंह रावले लिए । उनी कांग्रेस अध्यक्ष र प्रधानमन्त्री बने । पहिलोपटक कांग्रेस नेतृत्वको लाइनमा नेहरु–गान्धी परिवारको कुनै सदस्य देखिएन ।

सन् १९९८ मा फेरि राजीव गान्धीकी विधवा सोनिया गान्धी पार्टी नेतृत्वमा आइन । आफ्ना पति राजीव कार्यकालको १० वर्षपछि सोनिया अर्को गान्धीका रुपमा पार्टी अध्यक्ष बनिन् । उनी अरु कांग्रेस अध्यक्ष भन्दा बिल्कुल फरक थिइन् । उनी इटालीमा जन्मिएकी क्याथोलिक थिइन्, क्याम्ब्रिजमा पढ्दा राजीवले उनलाई पाएका थिए । सन् १९९० देखि उनी भारतीय राजनीतिभन्दा बाहिर थिइनन् । उनीकी सासु इन्दिरालाई उनी मन परेकी थिइनन् । उनी पहिलोपटक भारत आएदेखि नै उनले यहाँको राजनीतिलाई बुझ्न थालेकी थिइन् ।

राजीव गान्धीको हत्या हुँदासम्म सोनिया सबैले चिन्ने भइसकेकी थिइन् । दुई पूर्व प्रधानमन्त्रीसँगको सहकार्यले उनमा पार्टीका उज्याला दिनहरुको नेतृत्व गर्ने क्षमता बन्यो । प्रवण मुखर्जीको सहयोगले उनी पार्टी अध्यक्ष निर्वाचित भइन् । त्यसपछि एकजना मात्र अहिलेसम्म उनी बाहेकको पार्टी अध्यक्ष भएका छन्, ती उनका छोरा राहुल गान्धी हुन् । कांग्रेसको प्रमुख प्रतिस्पर्धी दल भाजपासँग तुलना गने हो भने त्यसबीचमा १० पार्टी अध्यक्ष बनेका छन् र कोही पनि दोहोरिएका छैनन् ।

कांग्रेसले आफूले आफैलाई एक गम्भीर राजनीतिक दलभन्दा एक वंशको पार्टी बनाएको छ, त्यसको मूल्य अहिले आफैंले चुक्ता गर्दैछ । सन् २००४ र २००९ को चुनावी सफलता र विभिन्न पार्टीहरुसँगको गठबन्धन सरकार सञ्चालनपछि २०१४ र २०१९ को चुनाव कांग्रेसले नराम्रो गरी हारेको छ । अब कांग्रेसको परिवर्तनका लागि प्रष्ट समय आएको छ । तर प्रश्न जहिको त्यही छ– के कांग्रेस त्यस्तो परिवर्तनका लागि तयार होला ?

जब राहुल गान्धीले पार्टी अध्यक्षबाट राजीनामा गरेका थिए, उनी प्रष्ट थिए की कोही गैरगान्धी अध्यक्ष आओस् । तर, कांग्रेस कार्य समितिले फेरि उनकै आमालाई नेतृत्वमा ल्यायो । कांग्रेसको शीर्ष नेतृत्वमा सोनियाको कार्यकाल अब जवाहरलाल नेहरुको भन्दा लामो भइसकेको छ । पार्टीका बरिष्ठ नेताहरु गुलाम नवी आजाद, शशि थरुर, कपिल सिब्बल लगायतले कांग्रेस कार्यसमितिले नयाँ अध्यक्ष निर्वाचन प्रक्रिया शुरुवात गर्नुपर्ने माग गर्दै पत्र लेखे तर त्यसको कुनै सुनुवाई भएन । बरु उनीहरुमध्ये एकले आफ्नो पार्टी पद नै गुमाउनु पर्‍यो ।

स्थिति अब यस्तो छ कि सोनियाले चाहेसम्म वा राहुल नेतृत्व लिन राजी नभएसम्म उनी पदमा बस्न सक्नेछिन् । राहुल पदका लागि खासै इच्छुक देखिन्नन् । उनी कुनै राम्रो मनसायले यस्तो अनिच्छा देखाइरहका छन् । तर सोनियकी छोरी प्रियंका राजी हुने सम्भावना छ । प्रियंका सन् २०२२ को उत्तरप्रदेश निर्वाचनका लागि पार्टी रणनीतिकार बनेकी छन् । सन् २०१९ लोकसभा निर्वाचनमा पनि उनी प्रदेश प्रभारी थिइन्, त्यसबेला प्रदेशका ८० सीटमध्ये कांग्रेसले जम्मा १ सीट त्यो पनि त्यही रायबरेलीमा उनकी आमाले जितेकी थिइन् ।

कांग्रेसले युवा नेताहरु गुमाउँदै गइरहेको छ । जस्तो कि ज्योतिरादित्य सिन्धिया भाजपा गए । सचिन पाइलट झण्डै गए । कांग्रेस पार्टी जो कुनै समय युवा नेताको खानी थियो । भारतकै सर्वाधिक चर्चित युवा नेता कांग्रेसमा हुन्थे । चाहे ती नेहरु हुन् वा पटेल, इन्दिरा गान्धी हुन् वा मैलाना आजाद । आज पार्टीले स्टार युवा नेताहरु पाइरहेको छैन । यसको कारण अरु नभएर उनीहरुप्रतिको पार्टीको बेवास्ता र भविष्यको भय नै हो ।

नेहरुका कार्यले भारतीय समाजमा एक प्रकारको सन्तुलन कायम गरेका थिए । यो कुरा सत्य हो कि भाजपाले अधिनायकवादी क्रियाकलापहरु निरन्तर बढाउँदैछ । यो कुरा पनि सत्य हो कि भाजपावालाहरुले देशको चेहरा नै बदल्दैछन् । तर, ध्यान दिनुपर्ने कुरा के छ भने यी सबै काम भोट पाएरै भइरहेका छन् । आखिर जनताले उनीहरुलाई भोट किन दिइरहेका छन् ? यी कुनै प्राज्ञिक प्रश्न मात्र हैन । यसको उत्तर उत्तरप्रदेश फुलपुर निर्वाचन क्षेत्रका जनताले पनि खोज्नु पर्दछ, जसले सन् १९५१, १९५७ र १९६२ मा नेहरुलाई लोकसभामा जिताएका थिए, सन् २०१९को लोकसभा निर्वाचनमा भाजपाका केशरीदेवी पटेललाई जिताइ दिए ।

त्यसको एउटा उत्तर सन् २०१४ मा मोदी अभियानको मुख्य नारा भ्रष्टाचार हुन सक्ला । मोदीले त्यो निर्वाचनमा आफूलाई भ्रष्टाचारको सम्भावना कम भएको नेताका रुपमा प्रस्तुत गरे । उनी साधारण परिवारबाट आएका थिए । बालबच्चा थिएनन् । यसको अर्थ कांग्रेससँग पनि बालबच्चाविहीन नेता चाहियो भनेको हैन । तर जरुरी छैन कि कांग्रेसको मूल नेता नेहरु–गान्धी परिवारकै हुनु पर्दछ ।

कुनै गैरगान्धी नेताले गान्धीहरुले भन्दा बढी गम्भीर चुनौती मोदीका लागि सृजना गर्न सक्दछन् । जस्तो कि कांग्रेसका पूर्वप्रवक्ता सञ्जय झाले लेखेका छन्– भारतीय राष्ट्रिय कांग्रेस र भारतको इतिहासबीच नजिकको सम्बन्ध छ । यदि देशमा लोकतन्त्र बहाल राख्नु छ भने पार्टीले पनि त्यही अनुसारको काम गर्न सक्नु पर्दछ । र कुनै ठूलो भिन्नता आउनु अगाडि नै त्यो काम गर्नुपर्दछ ।

(जोशी वासिङटनस्थित पत्रकार हुन् । यो आलेख द फोरेन पोलिसीबाट साझापोस्टले भावानुवाद गरेको हो)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay