scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

आत्मघाती गोलले आर्सनल स्तब्ध, लेस्टरको ब्राइटनमाथि सहज जीत

काठमाडौं, २९ मङ्सिर । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा बर्नलीले जीत हासिल गरेको छ । महत्वपूर्ण ३ अंक हासिल गर्ने क्रममा बर्नलीले १० खेलाडीमा सीमित आर्सनलमाथि उसैको मैदानमा १-० को जीत निकालेको हो ।

बर्नलीलाई ३ अंक दिलाउन आर्सनलबाट भएको आत्मघाती गोल नै निर्णायक बन्यो । खेलको ७३औं मिनेटमा आर्सनलका स्टार खेलाडी पियरे एमरिक औबमेयाङबाट भएको आत्मघाती गोलले आर्सनल स्तब्ध बनेको हो । बर्नलीको कर्नरबाट आएको बल औबमेयाङले हेडरमार्फत क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा छिरेको थियो ।

खेलमा त्यसअघि र त्यसपछि कुनै गोल भएनन् । खेलको ५८औं मिनेटमा आर्सनलका ग्रानिट झाकाले बर्नलीका खेलाडीमाथि फल र त्यसपछि हातपात गर्न खोजेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए र आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

जीतसँगै बर्नली रेलिगेसन जोनबाट माथि उक्लिएको छ । ११ खेलबाट ९ अंक जोड्दै बर्नली १७औं स्थानमा उक्लिएको छ भने पराजित आर्सनल १२ खेलबाट १३ अंकसहित १५औं स्थानमा यथावत् छ ।

लेस्टरको जीतमा म्याडिसनको दुई गोल

गएराति नै सम्पन्‍न अर्को खेलमा लेस्टर सिटीले सहज जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टरले ब्राइटनलाई २-० ले हराएको हो ।

लेस्टरको जीतमा जेम्स म्याडिसनले दुई तथा जेमी भार्डीले एक गोल गरेका थिए । सबै गोल पहिलो हाफमै भएका थिए ।

म्याडिसनले २७औं र ४४औं मिनेटमा गोल गरेका थिए भने त्यसबीचमा ४१औं मिनेटमा भार्डीले गोल गरेका थिए ।

जीतसँगै लेस्टर १२ खेलबाट २४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने पराजित ब्राइटन १० अंकसहित १६औं स्थानमा यथावत् छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय