scheduleशनिवारफाल्गुन १५ गते, २०७७

कमरेडको जुधाई, गणतन्त्रको मिचाई !

रुद्रप्रसाद भट्ट

नेपालीमा चल्तीको उखानै छ ‘साँढेको जुधाई, बाच्छाको मिचाई’ । जसरी छाडा छोडेको साँढेले कसैलाई टेर्दैन र अर्को साँढेसँग आईलाग्छ तब दुई साँढेको भिडन्तमा सानो बाच्छाबाच्छी चेपिन्छन् । बैंशले मैमत्त भएका घमण्डी साँढेले सिंघौरी खेल्न थालेपछि बाच्छा–बाच्छी डराउनु वा तर्सनु स्वभाविक हो । तर, साँढेलाई अझै छाडा छोड्यो भने त्यसले मानिस र अन्य पशु मात्रै होईन, कृषकको तोरीबारी र धानबाली समेत नष्ट पारिदिन्छ । त्यतिले पनि उसको चित्त बुझ्दैन र गएर खुट्टाले खाडल बनाउँदै ‘म नै शक्तिशाली हुँ’ भन्ने भावमा डुक्रिन्छ ।

अहिले नेपाली राजनीतिमा यस्तै साँढेको झल्को दिनेगरी दुई कमरेडले आफ्नो मैमत्ता प्रदर्शन गरिरहेका छन् । जनताको ढाडलाई आफ्नो सिङ्गौरी खेल्ने रणमैदान बनाएर गणतन्त्रमाथि खुट्टा खोस्रिँदै यी कमरेडहरु डुक्रिरहेका छन् । यिनलाई लागेको छ कि हामी नै सबथोक हौं र हामीले जे गरेपनि हुन्छ, कसैले हामीलाई रोक्न र छेक्न सक्तैन ।

त्यसमा पनि एक कमरेडले भन्दैछन् कि यदि मलाई कसैले रोक्न–छेक्न खोज्यो भने म जे पनि गर्न सक्छु । आफुलाई उदण्ड, घमण्ड र सर्वशक्तिमान ठान्ने कमरेड खड्गप्रसाद ओली यतिबेला जे मनलाग्छ त्यही गर्न तयार छन् । उनको मनमा के खेलिरहेको छ र मस्तिष्कमा के दौडिरहेको छ भन्ने कुरा त्रिकालदर्शी ज्योतिषलाई समेत थाहा छैन ।

कमरेडलाई यतिबेला ‘म नै सबथोक हुँ’ भन्ने घमण्डसँगै मलाई कसले के गर्न सक्छ ?’ भन्ने दम्भ पनि छ । सायद त्यसैले होला उनीसँग सिङ्गौरी खेल्न सिङ उद्याउने कमरेड प्रचण्ड पनि कहिलेकाँही जुधेर सिङ्ग भाँचिएको साँढे जस्तो झोक्राउन बाध्य हुन्छन् । कमरेडका जुधाईले सत्ताधारी दल नेकपाभित्र यतिबेला ठूलै रडाको र रुवाबासी चलेको छ । यो जुधाईमा कुन कमरेडको सिङ भाँचिन्छ र कुन कमरेडको टाउको फुट्छ थाहा छैन तर यो लडाईंमा नेपाली जनता चाहिँ चेपिन र थेचिन बाध्य छन् । जुधिरहेका दुई साँढेलाई हेर्दै कुनबेला कुनचाहिँ घमण्डी साँढेको फेला परिन्छ र अकालमै ज्यान जान्छ भन्ने खतारामा गोठाला भएझैं नेकपाका दुई अध्यक्ष कमरेडको लडाईँले कुनबेला संघीयता र गणतन्त्र दुर्घटना पर्ने हो भन्ने त्रास जनतामा छ ।

रुद्रप्रसाद भट्ट

नेपाली राजनीतिमा कमरेड खड्गप्रसाद ओली र कमरेड पुष्पकमल दाहाल प्रचण्ड यतिबेला छाडा साँढेझैं भएका छन् । यिनलाई देश, जनता, पार्टी, कार्यकर्ता कसैको पीर चिन्ता छैन । खाली आफ्नो स्वार्थमा एकले अर्कोलाई कसरी पछार्ने, अर्कोको सिङ कसरी भाँच्ने र आफु विजेता बन्ने भन्ने घमण्ड र दम्भ मात्रै देखिन्छ ।

जनताको बलिदानबाट ल्याएको गणतन्त्रमा जनताकै ढाडमा टेकेर कमरेड ओली र कमरेड प्रचण्डले रजाइँ गरेको धेरै भैसक्यो । संघीय लोकतान्त्रिक गणतन्त्रको १४ वर्षमा यिनै कमरेडले धेरै ‘तर’ मारेका छन् । र पनि ‘मैले पाईन, तैंले धेरै खाईस्’ भन्ने मै कमरेडहरुको दैनिक झगडा छ । आफ्नो स्वार्थको लागि चलाख, धुर्त र चतुर मानिँदै आएका कमरेडहरु स्वार्थमा ब्रेक लागेपछि ‘रिसाएको बिरालोले खाँबो चिथोरे’ जस्तै एक अर्काको सिङ भाँच्नेगरी भिडन्तमा छन् । यिनको भिडन्तमा छिर्के हान्ने दाउमा माधव नेपाल देखिन्छन् भने सचिवालय सदस्य हुँ भन्ने केही कमरेडहरु पाखामा बसेर हुटिङ्ग गर्न मै व्यस्त छन् ।

एकातिर नेकपा नेतृत्व स्वार्थको लडाईँमा मस्त छ भने अर्कोतिर राजा ल्याउँछौं भन्ने प्रतिगामीहरु सडकमा बर्बराउँदै छन् । यो बेला जनता भने साँढेको जुधाईमा परेका बाच्छाको अवस्थामा पीडा सहन बाध्य छन् । कमरेड ओलीले आफुबाहेक अरुलाई रैती ठान्ने र कसैको कुरा नसुन्ने घमण्डी साँढेको व्यवहार देखाउँदा अहिले गणतन्त्र प्रतिगामी र संघीयता विरोधीको चेपुवामा परेको छ । कतै गणतन्त्रको लागि बगेको रगतमा होली खेल्दै ओलीले गणतन्त्रमाथि नै ‘मजाक’ त गरिरहेका छैनन् ?

आफ्नै पार्टीका कार्यकारी अध्यक्ष र वरिष्ठ नेताहरुलाई भारतसँग जोडेर ‘मेरो सरकार ढाल्न खोजे’ भन्दै रोइलो गर्ने ओली अन्ततः आफैं भारतीय गुप्तचर प्रमुख र भाजपा नेता बोलाएर बालुवाटारमा योजना बुन्छन् । अनी बाहिर म भयंकर गाणतन्त्रवादी हुँ भन्ने तर राजा आउ देश बचाऊ भन्नेलाई खुलेआम प्रदर्शन गर्न दिनुले कतै राजावादीसँग बालुवाटारको साँठगाँठ त होईन भन्ने प्रश्न उब्जिएको छ ।

हुन त झापा आन्दोलनपछि १४ वर्ष जेल बसेर क्रान्तिकारी बनेका ओली र १० वर्षे जनयुद्धबाट झन् क्रान्तिकारी बनेर उदाएका प्रचण्डको मिलन नै अस्वभाविक र अप्राकृतिक थियो । जसको परिणाम यहि हुन्छ भन्ने अनुमान जनताले पहिल्यै गरेका हुन् । विचार, सिद्धान्त र लिगेसीमा अडेर गरिएको एकता हुन्थ्यो भने आज यो जुँगाको लडाईँ हुने नै थिएन । एकता गर्दा पार्टी नीति, सिद्धान्त, दर्शन भन्दा बढी ‘तँलाई यत्ति मलाई यत्ति’ भनेर गरिएको एकता भएकोले यो अवस्था आएको हो ।

यदि कम्युनिष्ट आदर्श, विचार, दर्शन र जनताको भावना बुझेर एकता हुने भए प्रचण्ड र ओलीबीच एकता सम्भव नै थिएन । गणतन्त्रका लागि भएको आन्दोलनलाई ‘बयलगाढा चढेर अमेरिका’ गएजस्तो भनेर अपमान गर्ने प्रतिगामी सोंच भएका ओली र गाणतन्त्र र संघीयताका लागि अग्रगामी बिचार बोकेर आएका प्रचण्डको मिलन कर्णालीमा कोशी मिसाउनु जस्तै जटील हुने थियो ।

यी दुई कमरेडको तुलना गर्ने अवसर न जनताले पाए न त तिनका कार्यकर्ताले नै । गाउँका दुई सामन्तले स्वार्थको लागि मितेरी लगाएजस्तो दुई टाउका जुधाएर गरिएको एकता केहि दिनको रामछायाँ जस्तै बन्न पुग्यो । जसले संघीयतालाई बद्नाम गर्ने र गणतन्त्रलाई कमजोर बनाउने बाहेक कुनै प्रतिफल दिन सकेन । गन्हाएको छ भन्ने जानी–जानी पनि मितको कोशेली भनेर लगाएको जडौरी कोट जस्तै अवस्थामा कमरेडहरु आफैं पुगेका छन् ।

आफु नै ‘राज्य र कानुन हुँ’ भन्ने घमण्ड देखाईरहने ओली र म शक्तिशाली हुँ जनयुद्धमा जस्तै मदेखि सबै डराउनुपर्छ भन्ने प्रचण्डको उल्टो बुद्धिले देश, जनता र गणतन्त्रलाई साँढेको जुधाईमा परेका बाच्छाको अवस्थामा पुर्‍याउने देखिन्छ ।

विभिन्न कालखण्डमा भएका परिवर्तनकारी कुनैपनि आन्दोलनमा योगदान नगरी काकताली परेर ‘औताली’ खान गणतन्त्रमा आईपुगेका ओलीले यतिबेला प्रचण्ड भन्दा कमल थापालाई नजीक देख्नु अस्वभाविक पनि होईन । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नामबाट गणतन्त्र मेटाउने ओलीको बोलीमा समर्थन जनाउने कमल थापाले ओलीलाई धन्यवाद दिनु र राजा आउ देश बचाउ भन्ने आन्दोलनलाई ओलीले संरक्षण गर्दै सडक प्रदर्शन गर्न दिनु संयोग मात्रै होईन ।

जनताले २४० वर्ष लगाएर फालेको राजतन्त्रलाई फर्काउँछौं भनेर सडकमा आउने मुर्कटाहरुलाई केहि गर्न नसक्ने ओलीले भ्रष्ट र दलाललाई कारबाही गर भनेर सडकमा धर्ना बस्नेलाई लखेटिरहन्छन् भने बुझ्नुपर्छ कि एक दिन कमरेड ओलीको मष्तिष्कमा राजतन्त्र र टोपीमा श्रीपेचको चित्र स्पष्ट देखिनेछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay