scheduleशनिवारफाल्गुन १५ गते, २०७७

‘वाम’ र ‘दक्षिण’ नै किन ? ‘पश्च’ र ‘अग्र’ हुन सक्दैन ?

डम्बर खतिवडा

राजनीतिक दलहरूको विचार, एजेण्डा र कार्यदिशाको चरित्र वा स्थान निर्धारण गर्ने औजारलाई ‘राजनीतिक रङ्गावली’ (पोलिटिकल स्पेक्ट्रम) भनिन्छ । परम्परागत रङ्गावलीमा मुख्य दुई भाग र अनेक विन्दू हुन्छन् । ती मुख्य दुई भाग भने ‘वामपन्थ’ (लेफ्ट) र ‘दक्षिणपन्थ’ (राइट) हुन् ।

यी दुईको बीचमा एक ‘मध्यममार्ग’ (सेन्टर) हुन्छ । वामपन्थ र दक्षिणपन्थका दुई भाग र बीचमा हुने मध्यविन्दूको वरिपरि अनेक विन्दूहरू हुन्छन् । जस्तै– वामपन्थ (Left), दक्षिण झुकेको वामपन्थ (Left of Right Leaning), मध्यमार्गी वामपन्थ (Left to Centre), दक्षिणपन्थ (Right), चरम दक्षिणपन्थ (Far/Ultra Right), चरम वामपन्थ (Far/Ultra Left) वामतिर झुकेको दक्षिणपन्थ (Right of Left Leaning), मध्यपन्थ (Centre), मध्य-वामपन्थ (Centre to Left), मध्य-दक्षिणपन्थ (Centre to Right) आदि ।

वैचारिक कोणबाट उदारवाद, साम्यवाद, समाजवाद, अराजकतावाद, संघवाद, महिलावाद र जैविकतावादलाई ‘वामपन्थी’ विचारधारा मानिन्थ्यो । त्यसैगरी सम्वर्द्धनवाद, राष्ट्रवाद, फासीवाद र धार्मिक कट्टरतावादलाई ‘दक्षिणपन्थी’ विचारधारा मानिन्थ्यो ।

मेरो विचारमा अब यो वर्गीकरण प्रासङ्गिक छैन । किनकी-

एक– वामपन्थ वा दक्षिणपन्थ विचारधाराभन्दा बढी एजेण्डा र कार्यदिशासँग जोडिन्छ । एउटै विचारका दलको एजेण्डा फरकफरक हुन सक्दछ । उदाहरणको लागि नेपालमा एमाले, माओवादी केन्द्र र मसाल एउटै साम्यवादी विचारधाराका दल थिए/हुन् । तर, संघीयताको एजेण्डामा यी ३ दलका फरकफरक धारणा थिए । माआवादी केन्द्र संघीयताको पैरवीकर्ता थियो । एमाले संघीयताको पैरवीकर्ता थिएन तर सामान्य प्रशासनिक संघीयताप्रति आपत्ति गरेन । मसाल भने संघीयताको पुरै विरुद्धमा रह्यो ।

विचारधाराले यी तीनवटै दल एउटै डालोमा पर्दछन् । तर, एजेण्डाले– माओवादी केन्द्र वामपन्थी, एमाले मध्यमार्गी र मसाल दक्षिणपन्थी दल बन्न पुग्दछ । अर्थात् विचारधाराको आधारमा मात्र राजनीतिक दललाई वामपन्थी वा दक्षिणपन्थी वर्गीकरण गर्न सकिन्न ।

अझ त्यसभित्र नेकपा (विप्लव), मोहन वैद्य, सीपी मैनाली वा नेमकिपाको समेत स्थान निर्धारण गर्नुपर्‍यो भने त्यो झनै गञ्जागोलपूर्ण हुन्छ ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

वामपन्थ र दक्षिणपन्थ विभाजनको प्रारम्भ सन् १७८९ को फ्रान्सेली क्रान्तिबाट भएको थियो । फ्रान्सेली ‘नेशनल एसेम्बली’ मा राजाका समर्थक दाइने हारका कुर्सीमा बस्थे । गणतान्त्रिक क्रान्तिका पक्षधर देब्रे हारका कुर्सीमा बस्थे । देब्रे तिर बस्ने वामपन्थी (Left) भए । दाइनेतिर बस्ने (Right) भए । क्रान्तिकारी शक्तिलाई ‘लेफ्ट’ र क्रान्तिविरोधी शक्तिलाई ‘राईट’ भन्न थालियो ।

बेलायती गौरवमय क्रान्ति, फ्रान्सेली राज्य क्रान्ति र अमेरिकी स्वतन्त्रता सङ्ग्रामको समय ‘लिवरल’ क्रान्तिकारी मानिन्थे । वामपन्थी भनिन्थे । किनकी उनीहरू निरङ्कुश राजतन्त्रको साटो बहुदलीय लोकतन्त्र, धार्मिक रुढीवादको साटो धर्मनिरपेक्षता, साम्राज्यवादको साटो, राष्ट्रिय स्वाधिनतामा विश्वास गर्थे ।

सम्वर्द्धनवादको तुलनामा उदारवाद क्रान्तिकारी विचारधारा थियो । समाजवादीहरूले पछि उदारवादीलाई पुँजीवादी, दक्षिणपन्थी र आफूलाई वामपन्थी भन्न थाले । अर्थात् रङ्गावलीमा विन्दूहरू बद्लिए । सम्वर्द्धनवादी दक्षिणपन्थबाट चरम-दक्षिणपन्थतिर धकेलिए । उदारवादी मध्यपन्थीजस्तो बने भने समाजवादीहरूले वामपन्थको ठाउँ लिए ।

सन् १८५० को दशकमा परिदृष्य झनै फरक भयो । सन् १८४८ मा कम्युनिष्ट घोषणापत्रको प्रकाशनपछि साम्यवादले अरु सबैलाई दक्षिणपन्थ र आफू मात्र वामपन्थ दावी गर्‍यो । साम्यवादी दृष्टिकोणमा समाजवादी पनि दक्षिणपन्थी देखिए ।

एजेण्डा र कार्यदिशाका आधारमा यो निष्कर्ष झनै फरक हुनसक्छ । जस्तो– नेपाली कांग्रेसलाई सलोडोलो ‘मध्यमार्गी’ भन्न सकिएला । अझ क्रान्तिकारी आँखाबाट हेर्दा आजको समयमा कांग्रेस ‘दक्षिणपन्थी’ जस्तो पनि देखिन सक्दछ । अर्को कोणबाट हेर्दा कांग्रेसमा ‘संवैधानिक राजतन्त्र र हिन्दू राज्य’ वालाहरू दक्षिण अझ चरम दक्षिण देखिन्छन् ।

कुनै पनि राजनीतिक दल उसको औपचारिक विचारधारा के हो भन्ने आधारमा मात्र वाम वा दक्षिण हुँदैन । खास ऐतिहासिक सन्दर्भ, एजेण्डा वा घटनाक्रममा तुलनात्मक दृष्टिकोण के कस्तो छ– यो पक्ष हेर्नुपर्छ । यो दृष्टिकोणबाट हेर्दा साम्यवाद वामपन्थ मात्र रहँदैन, कयौं देशमा साम्यवादी दलले चरम दक्षिणपन्थ, दक्षिणपन्थ, मध्यपन्थ र चरमवामपन्थको भूमिका गरेको प्रष्ट देखिन्छ । यही कुरा अन्य विचारधाराका दलमा समेत लागू हुन्छ ।

दुई भागको रङ्गावली साटो एक्काइशौं शताब्दिमा सहज र उपयुक्त चार भागको रङ्गावली हुन सक्दछ । एक– लेफ्ट (वामपन्थ), दुई– राइट (दक्षिणपन्थ), तीन– ब्याक (पश्चपन्थ), चार– फ्रन्ट (अग्रपन्थ) ।

यो वर्गीकरण अझ सजिलो गरी बुझ्न ‘समानता’ र ‘स्वतन्त्रता’ को ‘प्रवर्ग आव्यूह’ (Categorical Matrix) बनाउन सकिन्छ ।

समानता छ, स्वतन्त्रता छैन– साम्यवाद हो । वामपन्थ हो । स्वतन्त्रता छ– समानता छैन–उदारवाद हो । दक्षिणपन्थ हो । स्वतन्त्रता र समानता दुवै छैन– सम्वर्द्धनवाद, फासीवाद, धार्मिक कट्टरतावाद आदि हुन् । यो पश्चपन्थ हो । समानता र स्वतन्त्रता दुवै छ– समाजवाद हो । अग्रपन्थ हो ।

‘राज्य’ र ‘बजार’, ‘व्यक्तिवाद’ र ‘सामुहिकतावाद’ ‘लोकतन्त्र’ र ‘समाजवाद’ जस्ता प्रवर्गलाई पनि यसरी परिभाषित गर्न सकिन्छ । जस्तै ‘लोकतन्त्र’ र ‘समाजवाद’ बनाउँदा समाजवाद छ, लोकतन्त्र छैन– साम्यवाद हो । वामपन्थ हो । लोकतन्त्र छ, समाजवाद छैन– उदारवाद हो । दक्षिणपन्थ हो । लोकतन्त्र र समाजवाद दुवै छैन– सम्वर्द्धनवाद, फासीवाद, धार्मिक कट्टरतावाद आदि हुन् । पश्चपन्थ हो । लोकतन्त्र र समाजवाद दुवै छन्– त्यो सामाजिक जनवाद हो । अग्रपन्थ हो ।

‘अग्रपन्थ’ अघि यस्तो अवधारणालाई नववामपन्थ (New Left) भनिन्थ्यो । ‘नववामपन्थका पिता’ मानिएका हवार्ड मार्क्युज भन्थे, ‘पुँजीवादको सीमा र साम्यवादको घेरा नाघ्न सक्ने राजनीतिक चेतना नै नववामपन्थ हो’ । उनी अगाडि भन्छन्, ‘क्रिटिकल मार्क्सवाद र र्‍याडीकल डेमोक्रेसीको संयुक्त रुप नववामपन्थ हो ।’

साम्यवादले नववामपन्थलाई ‘घुमाउरो पाराले पुँजीवादमा विचलन गरेको’ आरोप लगाउँथ्यो । यो आरोपबारे मार्क्यूजको भनाई थियो, ‘वस्तुतः जेलाई विचलन भनेर आरोप लगाइन्छ, त्यो विकास हो भन्ने मेरो बुझाई छ ।’

नववामपन्थी दृष्टिकोणमा साम्यवाद ‘पुरानो वामपन्थ’ हो । माक्यूर्ज भन्थे– ‘पुरानो वामपन्थको सबैभन्दा ठूलो समस्या वैचारिक प्राधिकारमा विश्वास र स्वतन्त्रताको सौन्दर्य अनुबोध नहुनु’ हो । यस दृष्टिकोणबाट हेर्दा वामपन्थ र नववामपन्थबीचको भिन्नतालाई निम्नानुसार व्यक्त गर्न सकिन्छ ।

एक– पुरानो वामपन्थले मार्क्सवाद, लेनिनवाद, स्टालिनवाद, माओवाद सिद्धान्तलाई वैचारिक प्राधिकार मान्दछ । नयाँ वामपन्थले मार्क्सवादलाई वैचारिक प्राधिकार वा मार्गदर्शक सिद्धान्त नभएर आलोचनात्मक सिद्धान्त मान्दछ । मार्क्सवादको दार्शनिक पक्ष द्वन्द्ववादलाई नववामपन्थले अस्वीकार गर्दैन् । तर मार्क्सवादका आर्थिक, सामाजिक र सांस्कृतिक मान्यतालाई जस्ताको त्यस्तै स्वीकार गर्दैन । लेनिनवाद, स्टालिनवाद, माओवादजस्ता दर्शनलाई सामान्य सन्दर्भस्रोत मात्र मान्दछ ।

दुई– पुरानो वामपन्थ उदार प्रतिनिधिमुलक लोकतन्त्रको विरुद्धमा हुन्छ । त्यसले उदार लोकतन्त्रलाई ‘पुँजीवाद’ भन्दछ । पुरानो वामपन्थले लोकतन्त्र र पुँजीवादबीच भिन्नता देख्दैन । लोकतन्त्रको साटो सोभियत वा कम्युन वा संयुक्त जनवादी अधिनायकत्वमा आधारित राजनीतिक प्रणालीको पैरवी गर्दछ । तर नववामपन्थले उदार लोकतन्त्रको निन्दा गर्दैन । लोकतन्त्र र पुँजीवादबीच भिन्नता देख्दछ । उदार लोकतन्त्रलाई ‘प्रत्यक्ष सहभागितामुलक/समानुपातिक समावेशी लोकतन्त्र’ मा रुपान्तरण गर्ने प्रयास गर्दछ ।

तीन– पुरानो वामपन्थले साम्यवादलाई समाज विकासक्रमको अपरिहार्य ऐतिहासिक घटना मान्दछ । समाजको वैश्विक चरित्र एकत्ववादी हुन्छ हरेक देशको सामाजिक आर्थिक चरित्रले खास ऐतिहासिक विशिष्ठतामा समाजवाद र साम्यवाद घटित हुन्छ भन्ने मान्यता राख्दछ । नववामपन्थले मानवीय समाजका चरित्र र स्वभाव बहुआयामिक र बहुलवादी मान्दछ । मानव समाजमा कुनै पनि घटना अपरिहार्य र अनिवार्य रुपमा घटित हुँदैन । मानवीय चेतनाले समाजको स्वरुपलाई इच्छित दिशामा रुपान्तरण गर्न प्रयत्न गरिहन्छन् । फलतः राजनीतिक परिवर्तन र क्रान्तिको दिशा एकलरेखीय नभएर गैरएकलरेखीय हुन्छ भन्दछ ।

चार– पुरानो वामपन्थले वर्ग र वर्गसंघर्षलाई क्रान्तिको केन्द्रिय अवधारणा मान्दछ । आर्थिक आधार र उत्पादन पद्धतिले उपरीसंचरना निर्धारित हुने ठान्दछ । तर नववामपन्थले मानव समाजमा संघर्ष र क्रान्तिका इस्यूहरू बहुआयामिक हुन्छन्, त्यसमध्ये ‘वर्ग’ एक महत्वपूर्ण आयाम हो तर सम्पूर्ण हैन, वर्गका अतिरिक्त, जाति, वर्ण, लिङ्ग, नश्ल, धर्म, सभ्यता, संस्कृति, पर्यावरणआदि क्रान्तिका केन्द्रीय अवधारणा हुन सक्दछ भन्दछ ।

पाँच– पुरानो वामपन्थले लेनिनको ‘जनवादी केन्द्रियता’लाई प्राधिकारपूर्ण संगठनात्मक सिद्धान्त मान्दछ । नववामपन्थले आमचेतना, स्वस्फुर्त तथा स्वयंसेवी सहभागिता, स्वसाशित र स्वायत्त संगठनहरूको श्रृङ्खला, सहभागितामुलक लोकतान्त्रिक नेतृत्व प्रणालीमा विश्वास गर्दछ । अकेन्द्रीकरण, केन्द्रभङ्ग, बहुकेन्द्र–सन्तुलनजस्ता अवधारणामा विश्वास गर्दछ ।

छ– पुरानो वामपन्थ मानव अधिकार आन्दोलन, पेशागत आन्दोलनको स्वायक्तता र नागरिक समाजको भूमिकाप्रति खासै सकारात्मक हुँदैनन् । ती आन्दोलनलाई पार्टीको बृहत्तर हितमा उपयोग गर्ने मनसाय राख्दछ । नववामपन्थले यस्ता आन्दोलनको मौलिक अस्तित्वलाई उच्च महत्व दिन्छ । पुरानो वामपन्थले निर्देशित जनसंगठन तथा क्षेत्रगत संगठन बनाउँछ । नववामपन्थले स्वस्फुर्त पेशागत तथा नागरिक आन्दोलनका मुद्दा आफूमा समाहित गरी समर्थन हासिल गर्ने प्रयत्न गर्दछ ।

सात– पुरानो वामपन्थले बल प्रयोगको सिद्धान्त, हिंसात्मक संघर्ष र राज्यको वर्गचरित्र र वर्गदमनमा विश्वास गर्दछ । सर्वहारा वर्गको अधिनायकत्व, भेनगार्ड पार्टी र सशस्त्र संघर्ष अनिवार्य शर्त हुन्छन् । राज्यको जन्म वर्गस्वार्थमा आधारित हुँदा विरोधी वर्ग र शक्तिको दमन गर्नु स्वभाविक मान्दछ । नववामपन्थले राज्यको चरित्र वर्गीय मात्र हैन, वर्गीय र वर्गोत्तर– दुवै हुने ठान्दछ । नववामपन्थले विरोधी वर्ग, विचार र शक्तिलाई दमन गर्ने हैन, प्रतिस्पर्धा गर्ने सोच राख्दछ । नववामपन्थी आन्दोलन ‘मास र्‍याडीकलिज्म’ मा आधारित हुन्छ ।

आठ– पुरानो वामपन्थले उत्पादन साधनको राष्ट्रियकरण र शक्तिको संकेन्द्रणमा जोड दिन्छ । नववामपन्थले बजारअर्थतन्त्रमाथि बलियो नियमन, उत्पादन साधनको न्यायपूर्ण पुनर्वितरण, प्रगतिशील करदर र शक्तिको निक्षेपणमा जोड दिन्छ । पुरानो वामपन्थले उत्पादन स्वामित्वलाई निजी र राजकीय गरी २ भागमा बाँड्दछ । नववामपन्थले निजी, सार्वजनिक, सहकारी र सामुदायिक गरी ४ भागमा बाँड्दछ । स्वामित्वका यी पक्षहरू बीच गतिशील सन्तुलन, सहकार्य र प्रतिस्पर्धाको माग गर्दछ ।

नौ– पुरानो वामपन्थ र नववामपन्थ दुवै साम्राज्यवाद विरोधी हुन्छन् । तर, पुरानो वामपन्थले पुँजीवादी विश्वकेन्द्रको विरुद्ध प्रतिकेन्द्रको अवधारणामा विश्वास गर्दछ । नववामपन्थले कुनै प्रकारको विश्वसंगठन, विश्वसाम्राज्य, प्रतिकेन्द्र अस्विकार गर्दछ । नववामपन्थले एक वृहत्तर, सम्मानजनक र न्यायपूर्ण भूमण्डलीकरणको माग गर्दछ ।

दश– पुरानो वामपन्थले समाज २ ध्रुवीय, बुर्जुवा र सर्वहारा वर्गमा विभाजित हुने ठान्दछ । मध्यम वर्गलाई पेटी बुर्जुवा र अवसरवादी वर्गका निन्दा गर्दछ । नववामपन्थले समाजमा मध्यम वर्गको स्थान र भूमिकालाई भिन्नै महत्व दिन्छ । पुरानो वाममन्थको उद्देश्य सर्वहारा क्रान्तिद्वारा बुर्जुवा सत्ता कब्जा गर्नु र सर्वहारा राज्य स्थापना गर्नु हो । नववामपन्थको उद्देश्य प्रत्यक्ष तथा सहभागितामुलक लोकतान्त्रिक विधिमार्फत् समाजको उद्यमशीलता र व्यवसायिकता बृद्धि गरी समृद्ध र समन्यायिक आयस्तरको निरन्तर विस्तार गर्नु हो ।

वामपन्थ, दक्षिणपन्थ, पश्चपन्थ र अग्रपन्थ– यो ४ कोणीय रङ्गावली प्रयोग गर्ने हो भने नै नववामपन्थ भन्ने अवधाणा हराउँछ र त्यसको स्थान ‘अग्रपन्थ’ हो । त्यसै गरी दक्षिणपन्थ र चरम दक्षिणपन्थ भन्ने विभाजन हराउछ, ‘लिवरल’ हरूलाई ‘राइट’ र चरम दक्षिणपन्थीहरूलाई ‘पश्चपन्थ’ भन्न सकिन्छ ।

यो ४ भागको रङ्गावलीले नेपालको राजनीतिलाई सटिक चित्रण गर्न सक्दछ । यहाँ राप्रपा ‘पश्चगामी’ हो, कांग्रेस ‘राइट’ । कम्युनिष्ट समूहहरू ‘वाम’ हुन् र जसपा– अग्र । विवेकशील–साझाका साथीहरूले यो रङ्गावलीमा आफ्नो स्थान प्रष्ट गर्न अझै बाँकी छ ।

के यसप्रकारको विश्लेषण पद्धति गलत हो र ? बहस र आलोचनाको माग गर्दछु ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay