scheduleसोमवारफाल्गुन २४ गते, २०७७

बरमझियाको ‘पेडा’ मा कमरेडका लडीबुडी

रुद्रप्रसाद भट्ट

पूर्व-पश्चिम राजमार्ग (अहिलेको लोकमार्ग) को यात्रा गर्दा सप्तरी जिल्लाको भारदह भन्ने ठाउँ जो कसैको दिमागमा रहेको हुनुपर्छ । पूर्वबाट काठमाडौंतर्फ आउँदा कोशी ब्यारेज कटेपछि र पूर्व जाँदा बरमझिया नजिक रहेको यो ठाउँमा पुग्‍नेबित्तिकै सबैको आँखा सडक छेउमा रहेको ‘बाजेको पेडा’ लेखिएको बोर्डमा पर्दछ । तर, अचम्म त्यतिबेला लाग्छ कि राजमार्गको दुवैतर्फ झण्डै एकसय हाराहारीमा ‘बाजेको पेडा’ नै लेखिएको साइनबोर्ड मात्रै छ ।

जानकारहरु भन्‍ने गर्दछन् कि राजमार्ग निर्माण हुँदादेखि नै त्यहाँ पेडाको व्यापार शुरु भएको थियो र साँच्चै त्यहाँ बाजेले नै पेडा बनाएर बिक्री गर्दथे । आज भारदहमा दर्जनौं पसलमा ‘बाजेको पेडा’ छ तर, दुर्भाग्य ती बाजे छैनन् । आउने जानेले दैनिक किलोको दरमा बाजेको पेडा लिएर जान्छन् तर, खानेले यो थाहा पाउँदैन कि पेडा असली हो वा नक्कली ! किनभने आज भारदहमा जति पेडा पसल छन् ती सबैले आफ्नो नाम ‘बाजेको पेडा’ नै राखेका छन् । असली बाजेको पेडा पसल, पुरानो बाजेको पेडा पसल, बैजनाथ बाजेको पेडा पसल, झन् पुरानो बाजेको पेडा पसल, उही पुरानो बाजेको पेडा पसल ।

रुद्रप्रसाद भट्ट

आफैंलाई विश्वास गर्न नसकेर, आफुले बनाएको पेडामा भरोसा नभएर हो वा साँच्चै असली पेडा बनाउन नजानेर हो उनीहरुले ‘बाजेको पेडा’ नै बेचेका छन् । तर, आफ्नो सीप, कला, मेहेनत र लगानी सबै बाजेको पेडाको ‘ब्राण्ड’ मा ‘स्वाहा’ बनाएर पेडा साहुजी हुने बाहेक उनीहरुको छुट्टै पहिचान छैन । ठीक त्यसैगरी नेपालको कम्युनिष्टहरु पनि आफ्नो छुट्टै पहिचान बनाउन नसकेर हो वा बिक्दैन भनेर आजसम्म पनि उही पुरानै ढर्रामा घिसारिँदै छन् ।

आफुलाई असली बाजेको पेडाजस्तै खाँटी ‘असली’ देखाउन १८औं शताब्दीका मार्क्स र लेनिनको साथ खोजिरहेका छन् । र, चुनाव जित्‍न पनि जनताको मन र मतमा भन्दा चुनाव चिन्ह र नाममा बढी विश्वास गरिरहेका छन् । सायद त्यसैले होला पार्टी फुट्दा विचार, सिद्धान्त र असल नेता कार्यकर्तालाई भन्दा चुनाव चिन्ह र नाम हत्याउन अनेकौं तिक्डम र हथकन्डा अपनाउने चलन छ ।

आजभन्दा ३१ महिनाअघि काठमाण्डौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा तामझामका साथ तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको थियो । २००६ सालमा स्थापना भएको नेकपा समयक्रमसँगै टुटफुट र विभाजनको दर्जनौं घुम्ती पार गरेर ७० वर्षपछि पुनः नेकपा को नाममा जनतामाझ आइपुगेको हो । २००६ साल वैशाख १० मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी दर्जनौं पटक फुट्दै र जुट्दै २०७५ जेठ ३ गते २१औं पटक एकता भएर नेकपा बनेको थियो ।

यसबीचमा पार्टी फुटसँगै नेतापिच्छे भारदहको पेडाकै शैलीमा ‘असली’ कम्युनिष्ट र ‘झन् असली’ कम्युनिष्टको नाममा पार्टी सञ्चालन र जनता अल्मल्याउन नेपालका कम्युनिष्टहरु सक्षम भए । विगतमा विभाजित हुँदै र जुट्दै आएका कम्युनिष्टमध्येको ठुलो पार्टी हालको नेकपा फेरि विभाजनको अन्तिम दिन कुरिरहेको छ । अहिले नेकपा नाम मात्रै एउटै छ । बाँकी पार्टी संगठन, अध्यक्ष, कमिटी, पार्टी कार्यालय, भेला, बैठक सबै अलग-अलग छन् । नेकपा स्थापनाको ७१ वर्षमा पार्टीभित्र अनेकौं पात्र फेरिए पनि प्रवृत्ति चाहिँ अझै उस्तै छ । आफुसँग हुँदा ‘हिरा’ अर्कोसँग गए ‘गुह्ये किरा’ देख्ने प्रवृत्ति अहिले पनि कम्युनिष्ट हुँ भन्ने कमरेडहरुमा ज्युँ का त्युँ छ ।

डा.केशरजङ्ग रायमाझी र पुष्पलाल हुन् वा मोहनविक्रम र मोहन वैद्य हुन् पार्टी फुटेपछि एकले अर्कोलाई म मात्रै असली कम्युनिष्ट हुँ ‘तँ कम्युनिष्ट नै हैनस्’ जसरी सत्तोसराप गरेकै हुन् । त्यसपछिका टुटफुट र एकतामा सामेल भएका कमरेडहरुमध्ये मदन भण्डारी, मनमोहन अधिकारी, नरबहादुर कर्माचार्यबाहेक अन्य कमरेडहरु अहिलेपनि पाखुरा सुर्केर ‘लौ आईज’ भन्ने अवस्थामै छन् ।

कम्युनिष्ट पार्टी फुट्दाको गाईजात्रा त २०५४ मा नेकपा एमाले फुट्दा देखियो । त्यसभन्दा अगाडि पनि कमरेडहरु नफुटेका चाहिँ होइनन् । तर, तत्कालीन अवस्थामा नेकपा एमाले फुटाएर नेकपा माले बनाउने र देशकै असली कम्युनिष्ट बन्ने दौडका नायक थिए वामदेव गौतम । तर, उनै गौतमलाई काठमाडौं खुलामञ्चबाटै देशकै ठुलो भ्रष्टाचारी भनेर ‘खलनायक’ घोषणा गर्दै थिए हाल नेकपा (ओली समूह) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (प्रचण्ड समूह)का अध्यक्ष माधव नेपाल ।

त्यतीबेला सशस्त्र युद्धमा रहेको माओवादी चाहिँ २०६५ पछि फुट्न शुरु गरेको हो । प्रचण्ड माओवादी, वैद्य माओवादी, बाबुराम माओवादी, बादल गुट, नारायणकाजी गुट हुँदै अहिले पनि केहि गुट र समूहको रुपमा विप्लव माओवादी र गोपाल किँराती नेतृत्वको माओवादी केन्द्रको नाममा जीवित नै छ ।

१८औं शताब्दीका कार्ल मार्क्स, एंगेल्स वा लेनिन र स्टालिनलाई भेट्न नपाएपनि माओत्सेतुङ, गोञ्जालो, फिडेल क्यास्ट्रो हुँदै सि जिङपिङ सम्मलाई भेटेको हालको नेतृत्वले पनि मार्क्सवाद, लेनिनवाद वा माओवादमा कतै नभेटिएको छुद्र, अश्लिल र भद्दा आरोप लगाउँदै आएका छन् । आफु खाँटी कम्युनिष्ट हुँ भन्ने प्रमाणस्वरुप एकले अर्कोलाई गद्दार, पलायनवादी, पश्चगामी, पुनरुत्थानवादी, अवसरवादी, जडसुत्रवादी, संशोधनवादी भन्दै अन्ततः सर्वहारा नेतालाई करोडौं र अर्बौं रुपैंया खाएकोसम्म आरोप लाग्‍न थालेको छ । आरोप लगाउनेले लगाएको मात्रै होइन आरोप लाग्‍नेले पनि ‘खाएकै त हो, तर कसरी पत्तो पाएछ’ भन्‍ने भावमा चुपचाप सहेकै छन् ।

अहिलेसम्म नेता-नेता बीचमा मात्रै लाग्‍ने आरोप अब पार्टीको मूल दस्तावेजमै आउने देखिन्छ । पार्टी गठनको मुख्य उदेश्य, पार्टीको आदर्श, विचारधारा र सिद्धान्त नै एकअर्काप्रतिको आरोप र प्रत्यारोपको जगमा निर्माण हुने अवस्था अहिले नेकपाको दुई समूहको लुछाचुँडीबाट स्पष्ट हुन्छ । यही रोग वर्तमान नेकपामा अझैं झाँगिदै जाने देखिएको छ । दैनिकजसो हुने बैठक र एकले अर्कोलाई गर्ने कारबाहीको श्रृंखला हेर्दा अबको केही सातामा सबैले सबैलाई आरोप–प्रत्यारोप र कारबाही गरिसक्ने देखिन्छ ।

यसर्थ, ७१ वर्षको इतिहास बोकेको नेपाली कम्युनिष्ट आन्दोलन र झण्डै ४०-५० वर्ष आफुलाई क्रान्तिकारी कम्युनिष्ट हुँ भन्‍ने दावी गर्ने कमरेडहरुले आफुलाई असल हुँ, इमान्दार हुँ भनिरहन बाजेको पेडा शैलीमा पार्टी कार्यालयको साइनबोर्ड र चुनाव चिन्ह दावी गरिरहनु पर्छ र ? जनतालाई म असल छु भन्नलाई नाम होइन काम राम्रो हुनुपर्छ र जनताको मत लिन चुनाव चिन्ह होईन जनताको पीर र व्यथा चिन्‍न सक्नुपर्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay