scheduleशनिवारमाघ १० गते, २०७७

कुन बन्ला नेकपाको ठूलो समूह ? ओली कि प्रचण्ड-माधव ?

साझापोष्ट विश्लेषण

काठमाडौं, १० पुस । राजनीति अनन्त सम्भावनाको खेल हो । भन्न सकिन्न कतिखेर के हुन्छ । राजनीतिको खेलमैदानमा कयौं अनुमानित दृष्यहरू दोहोरिन्छन् कयौं सोच्दै नसोचेका परिदृष्य पनि देखिन सक्दछन् ।

कम्युनिष्ट पार्टीमा फुट र विभाजन कुनै नौलो कुरा हैन । यो कम्युनिष्ट आन्दोलनको जन्मजात चरित्र हो । कार्ल मार्क्सले ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय’ बनाउँदादेखि नै फुट, गुट, द्वन्द्व, संघर्ष र विग्रहको श्रृङ्खला शुरुवात भएको थियो । मार्क्सको पालामा कार्ल मार्क्स र बाकुनिनको संघर्ष निक्कै ठूलो थियो । हैरान भएका मार्क्सले जीवनको उत्तरार्धमा ‘कम्युनिष्ट अन्तर्राष्ट्रिय’ नै विघटन गरेका थिए ।

कार्ल मार्क्सको देश जर्मनीमा फर्डिनेन्ड लासाल, एडबर्ड बर्नस्टिन, कार्ल काउत्स्की र रोजा लक्जेम्बर्गका आआफ्ना विचार, बुझाई र निष्कर्षहरू थिए । ती एकआपसमा बारम्बार टकराउँथे । लेनिनको देश रुसको कम्युनिष्ट आन्दोलन पनि यो गति, मति र नियतिबाट मुक्त थिएन । रुसी कम्युनिष्ट आन्दोलनका प्रारम्भिक दिनहरूमा प्लेखानोभ समूह सबैभन्दा ठूलो सर्वहारावादी क्रान्तिकारी समूह मानिन्थ्यो ।

विस्तारै लेनिनको समूह हावी हुँदै गयो । सन् १९०३ मा शुरुवात भएको लेनिन र मार्तोभको संघर्षले बोल्सेभिक र मेन्सेभिकजस्ता समूह जन्मिए । लियोन त्रोतस्कीको भिन्नै समूह थियो । सन् २०१७ को अक्टोबर क्रान्ति र सन् २०१४ मा लेनिनको मृत्युपछि स्टालिन, त्रोतस्की र बुखारिन समूह बीचको संघर्ष झनै पेचिलो भएर गए । अन्ततः स्टालिनले सबैमाथि निर्मम दमन गरेर एक छत्र राज गरे ।

माओको देश चीनमा पनि यो रोग शुरुवातदेखि नै थियो । पार्टी स्थापनाको पहिलो दशकमै त्यहाँ लि लि शान र छन् तु सुका गुटबीच भीषण आन्तरिक संघर्ष भएका थिए । माओलाई केन्द्रीय समितिबाट कारबाही गरेर निकालिएको थियो । सन् २०३० को दशकपछि अरु समूह कमजोर भएर गए । माओको समूह बलियो हुँदै गयो ।

सन् १९४९ मा कम्युनिष्ट शासनको स्थापनापछि चिनियाँ कम्युनिष्ट पार्टीमा ३ पटक ठूला अन्तसंघर्ष भए । सन् १९५७ तिर माओ र लि साओची बीचको संघर्ष । यो संघर्ष निक्कै भीषण र निर्मम थियो । राष्ट्रपति रहेका लि साओचीलाई माओ समर्थक रेडगार्डहरूले अपदस्त गरी सडकमा नाङ्गै हिडाएका थिए । यहाँको जुत्ताको माला भनेजस्तो चुच्चे टोपी लगाएर शहर घुमाएका थिए । पछि लिलाई जेल हलियो । उनी जेलमै मरे । यही क्रममा देङ १२ वर्ष जेल बसेका थिए ।

देङको उदय हुनुअघि नै अर्का गुटबाज लिन प्याओ हवाई दुर्घटनामा मारिएका थिए । उनले माओको हत्या गर्ने योजना बनाएका थिए भनिन्छ । देङको उदयपछि उनले ग्याङ आफ फोरसंग भीषण प्रतिशोध साँधे । माओकी कान्छी पत्नी, ग्याङ आफ फोर की मुख्य नायिका तथा सांस्कृतिक क्रान्तिकी प्रमुख अभियन्ता जेल हालिइन् । उनले अन्ततः जेलभित्रै आत्महत्या गरिन् ।

संसारका सबै देशका कम्युनिष्ट पार्टीका यस्ता घटनाहरूको अविछिन्न श्रृङ्खला छ । युगोस्लभियाका मार्सल टिटोले आफ्नै उपराष्ट्रपति तथा उपमहासचिव मिलोबन दजिलासलाई १० वर्ष जेल हालेका थिए । भारतमा अहिले पनि करिब ३ दर्जन साना ठूला कम्युनिष्ट समूह छन् ।

नेपालको कम्युनिष्ट आन्दोलन प्रारम्भदेखि नै यो रोगबाट ग्रसित थियो । पार्टी गठनको पहिलो दशकमै पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, केशरजंग रायमाझी र मोहनविक्रम सिंहका फरकफरक गुट निर्माण भएका थिए । वि.सं. २०१९ को तेस्रो महाधिवेशनपछि नेकपा विधिवत् रुपमा फुट्यो । तुल्सीलाल अमात्य, मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठ र केशरजंग रायमाझीका फरकफरक गुट क्रियाशील भए । त्यसपछि दर्जनौं समूह निर्माण भए । यो क्रम अहिलेसम्म जारी छ ।

अहिले पनि नेपालमा एक दर्जन जति कम्युनिष्ट समूह छन् । भर्खरै विभाजित नेकपाका दुई समूह ओली र प्रचण्ड समूहका अतिरिक्त, विप्लव, वैद्य, सीपी मैनाली, नारायणामान बिजुक्छे, मोहनविक्रम सिंह, गोपाल किराँती, ऋषि कटेलका भिन्नाभिन्नै समूह छन् । यी सबै कम्युनिष्ट समूहले आफूलाई खाँटी कम्युनिष्ट र अरुलाई नक्कली कम्युनिष्ट भन्ने गर्दछन् ।

२०३० को दशकमा माले र चौम गरी दुई ठूला धारको समानान्तर विकास भएको थियो । २०४६ साल अघिसम्म चौम देशको सबैभन्दा ठूलो कम्युनिष्ट समूह मानिन्थ्यो । मदन भण्डारी नेतृत्वको माले र मनमोहन अधिकारी नेतृत्वको एमाले मिलेर २०४७ सालमा एमाले बनेपछि त्यही समूह सबैभन्दा ठूलो भयो । तर, यो समूह पनि २०५४ सालमा फेरि माले र एमालेमा विभक्त भएको थियो ।

२०५२ पछि चौम धारको उत्तराधिकारी बन्दै प्रचण्ड नेतृत्वको माओवादी उदय भयो । एक दशक लामो जनयुद्धको रापतापले यो समूह पहिलो संविधानसभा निर्वाचनमा सबैभन्दा ठूलो कम्युनिष्ट समूह मात्र हैन, देशकै सबैभन्दा ठूलो पार्टी बन्यो भने त्यसअघिको एमाले तेस्रो स्थानमा सीमित भयो । तर माओवादीको यो चकाचौध दोस्रो संविधानसभा निर्वाचनसम्म पनि कायम रहेन ।

यी सबै घटनालाई एक ठाउँमा ल्याएर हेर्दा कम्युनिष्टहरूको फुटलाई कुनै ठूलो घटना नभएर सामान्य नियति वा पुनरावृत्ति मान्न सकिन्छ । भर्खरै भएको ओली र दाहाल समूहको विभाजन त्यही ऐतिहासिक घटनाक्रमको पछिल्लो कडी मात्र हो ।

तर, विगत घटना, अनुभव र परिणामलाई हेर्दा ठूला दुई कम्युनिष्ट समूहहरू एक साथ उत्तिकै शक्तिशाली हुन सकेको देखिन्न । देशमा उल्लेखनीय कम्युनिष्ट जनमत भएको कुरामा दुई मत हुन सक्दैन । तर, त्यो जनमतले कुन समूहलाई रोज्छ ? त्यो भने समयसमयमा फरक पर्ने गरेको छ । कुनै एउटा समूह शक्तिशाली हुँदा अर्को समूह कमजोर हुने गरेको छ ।

ओली र दाहाल–नेपाल समूहमा भएको नेकपाको विभाजनपछि पनि यो नियम लागू हुने देखिन्छ । यी दुवै समूह एकसाथ उत्तिकै शक्तिशाली हुन सक्ने छैनन् । कुनै एक समूह शक्तिशाली हुने छ भने अर्को समूह कमजोर हुनेछ । कुन समूह शक्तिशाली र कुन समूह कमजोर हुन्छ ? त्यसको अनुमान गर्न भने अझै केही घटनाक्रम पर्खेर हेर्नुपर्ने हुन्छ ।

त्यसको पहिलो शर्त निर्वाचन चिन्हको हो । कम्युनिष्ट मतदाताबीच लोकप्रिय रहेको ‘सूर्य’ चुनाव चिन्ह कसले पाउने हो, त्यसले धेरै चिज निर्धारण गर्नेछ । जसले सूर्य पाउनेछ, उसैले आफू मूलधार भएको दावी गर्नेछ, त्यसको केही न केही मनोवैज्ञानिक असर पर्नेछ ।

विद्यमान केन्द्रीय समितिको बहुमतलाई हेर्दा निर्वाचन आयोगले दाहाल–नेपाल पक्षलाई निर्वाचन चिन्ह दिनुपर्ने हुन्छ । तर, निर्वाचन आयोगका आयुक्तहरू ‘प्रभावित छन्’ भने व्याख्या घुमाउन सकिने पर्याप्त ठाउँ छ । सामान्यतः कुनै पनि संस्थाको बैठक अध्यक्षले बोलाउने र महासचिवले माइन्युट प्रमाणित गर्ने हो । अध्यक्षले बोलाउँदै नबोलाएको र महासचिवले प्रमाणित नगरेको बैठक बहुमत भए पनि औपचारिक हुन्न भन्ने व्याख्या निर्वाचन आयोगले नगर्ला भन्न सकिन्न । आयोगले यस्तो व्याख्या गरेमा ओली समूह माथि पर्नेछ ।

दोस्रो र अझ महत्वपूर्ण कुरा सर्वोच्च अदालतको निर्णय हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले के कस्तो फैसला गर्ला ? संसद पुनर्स्थापना भएमा ओली समूह निक्कै कमजोर हुनेछ । तर चुनाव चिन्ह सूर्य पनि ओली समूहले पाउने र संसद पनि पुनर्जीवित नहुने र ओलीले सरकारमै रहेर चुनाव गराउने अवसर पाउने हो भने ओली समूह हावी हुन बेर छैन ।

संसद पुनर्स्थापना हुने हो भने अहिले ओली समूहतिर लागेका धेरै सांसद र केन्द्रीय सदस्यहरू दाहाल–नेपाल समूहतिर फर्किन सक्दछन् । तटस्थ रहेकाहरूले सूर्य चिन्ह र अदालतको फैसलापछि कुन गुटमा जाने भन्ने निर्णय गर्ने छन् । संसद पुनर्स्थापना भएमा ओली समूहले ४० प्रतिशतको सम्भावना कायम राख्न नसक्ने सम्भावना बढेर जान्छ । त्यस्तो बेला ओलीमाथि अविश्वासको प्रस्ताव त आउँछ नै, राष्ट्रपति विद्या भण्डारीले समेत महाअभियोग सामना गर्नुपर्ने छ । त्यसो भएमा ओली–समूहको दुर्दान्त पतन हुन बेर छैन ।

तर, घटनाक्रम हेर्दा ओली त्यति कच्चा खेलाडी हुन् जस्तो लाग्दैन । धेरैको आशंका छ कि ओलीले निर्वाचन आयोग र अदालतमा कुनै न कुनै प्रकारको सेटिङ गरेका छन् । संवैधानिक संस्था र निकायहरूको विश्वास गुमेको पछिल्लो अवस्थामा त्यस्तो सेटिङ बिल्कुल छैन भन्न सकिने आधार छैनन् । आशंकाअनुरुप ओली समूहको सेटिङ सपल भएमा ओली समूह प्राविधिक रुपले माथि पर्नेछ ।

नेकपाको यो विभाजनले अरु दलहरूको राजनीतिक भविष्यमा भने खासै नकारात्मक असर पर्ने सम्भावना देखिन्न । बरु सबै विपक्षी दलहरू थोरबहुत जनमत र भोट बढाउन सक्ने सम्भावना बढ्ने छ ।

नेकपा संगठनको पङ्क्ति र त्यसको संस्कृति हेर्दा तुलनात्मक रुपमा बढी असल र स्थापित कार्यकर्ताहरू ओलीभन्दा दाहाल–नेपाल खेमामा केन्द्रित हुने सम्भावना छ । तर ओलीसँग स्रोतसाधन र शक्तिमाथि पहुँच छ, त्यसको प्रयोग उनले अवश्य गर्नेछन् । तसर्थ, ओली र दाहाल–नेपालमध्ये कुन समूह ठूलो हुन्छ भनेर अनुमान गर्न अझै केही समय पर्खिनुपर्ने हुन्छ ।

त्यसका मुख्य आधार भने चुनाव चिन्ह सम्बन्धी निर्वाचन आयोग र विघटित संसद सम्बन्धी सर्वोच्च अदालतका निर्णय नै हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay