scheduleशुक्रवार आश्विन १ गते, २०७८

प्रहरी र विप्लव समूहबीच गोली हानाहान

संखुवासभा, १२ पुस । संखुवासभामा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।

विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको हो ।

विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए भने प्रहरीले दर्जन बढी गोली चलाएको बताइएको छ ।

प्रहरी स्रोतका अनुसार विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको थियो ।

सुरुमा सादा पोशाकका प्रहरीको टोली घरतिर पुगेको थियो तर, राईसहितका व्यक्ति घर पछाडिको जंगलमा लुकेको पाइएको थियो ।

प्रहरी टोली घरमा छिर्ने बित्तिकै बाहिरबाट समूहका कार्यकर्ताले गोली चलाएको र त्यसपछि थप मद्दतका लागि गएको प्रहरी टोलीले जवाफी फायरिङ गरेको हो ।

गोली चलाउँदै समूहका नेतासहित ३ जना जंगलतिर भागेको तथा भने घरबाट विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोन लगायत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय