scheduleशुक्रवार आषाढ़ ११ गते, २०७८

वेस्टब्रोमको मैदानमा लिड्सको फराकिलो जीत, आर्सनल र बर्नली पनि विजयी

काठमाडौं, १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिड्स युनाइटेडले फराकिलो जीत हासिल गरेको छ । लिड्सले वेस्ट ब्रोमलाई उसैको मैदानमा ५-० को फराकिलो अन्तरले हराएको हो ।

लिड्सको जीतमा एजान एलियोस्की, ज्याक ह्यारिसन, रोड्रिगो र रापिन्हाले १-१ गोल गर्दा एक गोल भने उपहार पाएको थियो ।

खेलको नवौं मिनेटमा वेस्ट ब्रोमका रोमेयन सयर्सबाट आत्मघाती गोल भएपछि खेलमा लिड्सले अग्रता लिएको थियो । ३१औं मिनेटमा एलियोस्कीले गोल गरेपछि लिड्सको अग्रता दोब्बर भएको थियो । ३६औं मिनेटमा ह्‍यारिसनले गोल गर्दै लिड्सलाई ३-० ले अघि बढाए ।

४०औं मिनेटमा रोड्रिगोले गोल गरेपछि लिड्स ४-० को आरामदायी अवस्थामा पुगेको थियो । ७२औं मिनेटमा रापिन्हाले गोल गरेपछि लिड्सको ५-० को जीत सुनिश्‍चित भएको थियो ।

जीतसँगै १६ खेलबाट २३ अंक भएको लिड्स ११औं स्थानमा उक्लिएको छ । पराजित वेस्ट ब्रोम ८ अंकसहित १९औं स्थानमा यथावत् छ ।

बर्नली र आर्सनलको जीत

गएराति नै भएको खेलमा बर्नली र आर्सनलले पनि जीत निकालेका छन् । बर्नलीले सेफिल्ड युनाइटेडलाई तथा आर्सनलले ब्राइटनलाई समान १-० गोलअन्तरले हराएका हुन् ।

बर्नलीको जीतमा बेन मीले गोल गरेका थिए भने आर्सनलको जीतमा एलेक्सेन्डर लाकाजेटले गोल गरेका थिए ।

जीतपछि बर्नली १५ खेलबाट १६ अंकसहित १६औं स्थानमा उक्लिएको छ । आर्सनल समान खेलबाट २० अंकसहित १३औं स्थानमा उक्लिएको छ ।

पराजित सेफिल्ड २ अंकसहित पुछारमा छ भने ब्राइटन १३ अंकसहित १७औं स्थानमा छ ।

अर्को खेलमा साउथह्याम्पटन र वेस्टह्यामले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय