scheduleशनिवारमाघ १० गते, २०७७

बितेको वर्ष सर्वाधिक लोकप्रिय बनेका शब्दहरू

काठमाडौं, १७ पुस । विश्वभरि आज नयाँ वर्षको माहौल छ । सन् २०२१ को आगमनसँगै सन् २०२० बिदा भएको छ । सन् २०२० समाप्त भए पनि मानव जातिको इतिहासमा यो वर्ष विभिन्न कारणले सम्झनामा रहनेछ । त्यसमध्येको सबैभन्दा ठूलो कारण त कोभिड–१९ को प्रकोप वर्ष हुनु नै हो ।

हिजो सन् २०२० को अन्तिम दिन मात्र कोभिड–१९ बाट विश्वमा ९ हजारभन्दा बढी मानिसको मृत्यु भयो । सन् २०२० भित्र १८ लाख बढी मानिस कोभिड–१९ को कारण मृत्युको मुखमा परे । कोभिड–१९ यो वर्ष क्यान्सर र मुटु रोगपछि मानव मृत्युको तेस्रो ठूलो कारण बन्यो ।

भाषिक दृष्टिकोणले समेत सन् २०२० उल्लेख्य वर्ष रह्यो । यो वर्ष त्यस्ता थुप्रै शब्दहरू व्यापकरुपमा विश्वव्यापी प्रयोग भए । यस्ता शब्दमध्ये कतिपय शब्दकोषमा सीमित थिए भने कतिपय नयाँ शब्दहरू नै जन्मिए ।

जस्तो कि ‘भाइरस’ शब्द प्रचलनमा थियो तर सन् २०२० मा यो शब्दको प्रयोग जति मानिसले गरे, यस अघि सायदै गरेका थिए । स्वास्थ्य र विज्ञानका विद्यार्थीहरू बाहेक ‘भाइरस’ शब्दप्रति सर्वसाधारणले कमै ध्यान दिएका हुन्थे ।

कोरोना’ नयाँ शब्द आयो । यो ‘नोबल कोरोना भाइरस’ सन् २०२० को पर्यायबाची शब्द नै बन्यो । ‘भाइरस’ र ‘कोरोना’ जस्तै ‘कोभिड–१९’ यो वर्षको महत्वपूर्ण शाब्दिक योगदान हो ।

लकडाउन’ शब्द कोभिड–१९ भन्दा अगाडि नै प्रचलनमा थियो । विशेषतः अमेरिकी सुरक्षाकर्मीले सुरक्षा कार्बाहीमा कर्फ्यूभन्दा सानो खालको सुरक्षाघेरा बन्दीका लागि लकडाउन शब्द प्रयोग गर्थे । स्वास्थ्य आपतकालमा पनि यो शब्द प्रयोग हुने कल्पना नै थिएन । कुनै खास इलाका वा टोलका घरहरूबाट मानिसलाई बाहिर निस्कन बन्देज गरेर अपराधीलाई खोजी गर्ने सुरक्षा कार्बाहीमा यो शब्द प्रयोग हुने गर्दथ्यो ।

क्वारिन्टिन’ निक्कै पुरानो शब्द हो । तर नेपालीहरूले यो शब्दको अर्थ सायद भन्सारमा पशुपंक्षी आयात निर्यात गर्दा गरिने स्वास्थ्य जाँचको सेवा भनेर बुझ्दथे । क्वारिन्टिन शब्दले संक्रमक रोगीहरूलाई ‘आइसोलेन’ मा तय गरिएका विशेष आवास क्षेत्र भन्ने बुझिँदैनथ्यो । ‘आइसोलेसन’ भने सन् २०२० भन्दा अघि पनि प्रचलित शब्द नै हो । सन् २०२० मा यसको प्रयोगमा काफी बृद्धि भयो ।

इपिडेमिक’ (महामारी) शब्द नेपालमा बिरलैले बुझ्थे । टेकु अस्पतालको नाममै इपिडेमिक शब्द थियो तर त्यसको अर्थ के होला भनेर सर्वसाधारण झुक्किरहेका हुन्थे । ‘पेन्डेमिक’ त धेरैले सुनेकै थिएनन् । पेन्डेमिकको नेपाली रुपान्तरण ‘महाव्याधी’ भनियो । कुनै देश, क्षेत्र वा इलाकामा संक्रामक रोग व्यापक बने ‘इपिडेमिक’ हुने रहेछ । विश्व नै कुनै एक संक्रमक रोगको शिकार भए ‘पेन्डेमिक’ हुने रहेछ । करिब १ सय वर्ष अघिको प्लेग र ७० वर्ष अघिको बिफर पनि ‘पेन्डेमिक’ रहेछ ।

अंग्रजीको ‘सोसियल डिस्टेन्स’लाई नेपालीमा ‘सामाजिक दुरी’ भनियोस वा ‘भौतिक दूरी’ यो बहस कायमै छ । तथापि ‘सोसियल डिस्टेन्स’ शब्द यस अघि कहिल्यै बाक्लो प्रयोग भएको थिएन ।

मास्क’ र ‘सेनिटाइजर’ त यो वर्षका सर्वाधिक लोकप्रिय शब्द मात्र हैन, सर्वाधिक प्रयोग हुने माल नै बने । ‘फेस सिल’ सम्भवत शब्द र बस्तु दुबै दृष्टिकोणले नयाँ थियो । स्वास्थ्यकर्मीलाई ‘अग्रमोर्चाकर्मी’ (फ्रन्टलाइनर वर्कर) भनिएको सन् २०२० अघि कहिल्यै सुनिएको थिएन । नेपालका स्वास्थ्यमन्त्रीले नै शुरुवातमा ‘पिपिइ’ को अर्थ नबुझेर हैरान हुनु पर्‍यो । ‘किड’ र ‘पिसिआर टेष्ट’ जस्ता शब्दहरू जनजनको जिब्रोमा झुन्डिए ।

दिसा, पिसाब, रगत, खकार जाँचमा ल्याबमा ‘स्याम्पल’ दिने गर्थे, कोरोना पिसिआर गर्न भने ‘स्वाब’ दिनुपर्ने भयो । त्यसो त अरु पनि थुप्रै नयाँ शब्दहरू प्रयोगमा आए, जस्तो कोरोना भाइरसको ‘जीवन चक्र तोड्ने’ प्रयासलाई ‘सर्किट ब्रकिङ’ भनियो । दोस्रो चरणको जोखिमलाई ‘सेकेन्ड आउटब्रेक’ भनियो ।

यस बीचको अर्को प्रचलित शब्द ‘भर्चुअल मिटिङ’ बन्यो र ‘जुम’ एकाएक लोकप्रिय बन्यो । जुममा हुने भर्चुअल बैठकमा राष्ट्रप्रमुखहरूको बार्तादेखि शिखर सम्मेलनसम्म सम्भव भए । चीन, जापान, उत्तर कोरिया, अष्ट्रेलिया, न्यूजील्याण्डलगायत आसियान देशहरूले ‘भर्चुअल मिटिङ’ मार्फत् नै ‘आइसीआरपी’ जस्तो महत्वपूर्ण व्यापार सम्झौता गरे ।

विश्व शब्दकोष, भाषा र साहित्यले यी शब्दका लागि सन् २०२० लाई सर्वथा स्मरण गर्नेछन् ।

साउ चाइना मर्निङ पोस्टमा प्रकाशित लिसा लिमको एक लेखको सहयोगमा ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay