scheduleसोमवार जेष्ठ ३१ गते, २०७८

आखिर कहिलेसम्म आफ्नै ओछ्यानमा असुरक्षित

विपना अधिकारी
  • महिलाहरू बलात्कारबाट बच्न घरभित्रै बस्नुपर्छ । बाहिरी कामकाजमा कम संलग्न हुनुपर्छ । घरबाहिर हुँदा उनीहरु बलात्कृत हुने खतरा रहन्छ ।
  • महिलाले घरबाहिर बढी समय बिताउनु वा अबेरसम्म रहनु बलात्कार हुनुको प्रमुख कारण हो ।

पछिल्लो १० महिनाको अवस्था हेरौं । सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यले गत चैत ११ मा लकडाउन घोषणा गर्‍यो । लकडाउनका बेला अतिआवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लागेको थियो । प्राणघातक रोगको सिकार भइने र सरकारी आदेश उल्लंघन गरे कारबाही भोग्नुपर्ने दोहोरो डरले देशभरका नागरिक झण्डै चार महिना (२०७६ चैत ११ देखि २०७७ साउन ७ गतेसम्म) घरभित्रै वा आफ्नो टोलभित्रै सीमित भए ।

तरकारी, फलफूल, दूध, खाद्यान्न जस्ता बाहिरका वस्तु ल्याउँदा कोरोना भित्रिने डरले घरमा जे छ त्यसैमा चित्त बुझाएर सुरक्षित रहन सार्वजनिक रुपमा आग्रह पनि भए, अधिकांश नागरिक आफैंले पनि त्यो उपाय अपनाए । लकडाउन अवधिमा विभिन्न आवश्यकता परिपूर्ति, कामधन्दा, बन्द–व्यापार, रोजगारी, धर्मकर्म लगायत अरु सिलसिलामा हुने मानिसको चहलपहल वा ओहोरदोहोर इतिमासमै सबैभन्दा बढी ठप्प भयो । नेपालमा मात्रै होइन, केही अपवादबाहेक विश्वका प्रत्येक देशमा ।

अब यही अवधिमा भएका महिला हिंसाका घटनाको तथ्यांक हेरौं । महिला अधिकारका क्षेत्रका कार्यरत गैरसरकारी संस्था ओरेकले लकडाउन अवधिमा महिला हिंसाका २३१ घटनाहरू रेकर्ड गरेको छ । त्यसमा घरेलु हिंसाका १३३, सामाजिक हिंसाका २१, बलात्कारका घटना ३४, बलात्कार प्रयासका सातवटा घटना छन्। त्यसैगरी, यौन दुर्व्यवहारका १०, हत्याका दुई, हत्या प्रयासका दुई, आत्महत्याका १४ र आत्महत्या प्रयासका दुईवटा घटना रेकर्ड भएका छन् । यी त सबै प्रहरीसम्म पुगेका घटना मात्रै हुन् । नानाभाँती प्रलोभन, धम्की र इज्जतका नाममा लुकाइएका घटनाको विवरण अभिलेखमा आएभन्दा निकै बढी हुन सक्ने अनुमान गरिन्छ ।

ओरेकले प्रकाशित गरेको तथ्यांक अनुसार १०५ वटा महिला हिंसाका घटनामा पीडक पति छन् । ४५ घटनामा परिवारका सदस्यहरु पीडकको भूमिकामा छन् । यसअवधिमा बलात्कारका ३४ र सामूहिक बलात्कारका दुईवटा घटना सार्वजनिक भएको छ । बलात्कारका ३४ घटनामा एउटा वैवाहिक बलात्कारको छ । २४ महिलाको बलात्कार छिमेकीबाट भएको छ । एउटी महिला आफ्नै बाबुको यौन प्यासले बलात्कृत हुनु परेको छ भने अर्कीलाई आफ्नै भाइले सिकार बनाएको छ । अर्की एक महिला नाता नखुलाइएको परिवारको सदस्यबाट बलात्कृत भएको अभिलेख छ । बलात्कारका तीनवटा घटनामा संलग्न अपराधीको पहिचान भएको छैन ।

यो तथ्यांकले हाम्रो समाजको यथार्थ चित्रको केही हिस्सा मात्र देखाउँछ, लुकाइएका घटनासमेत थपिने हो भने तस्बिर अझ भयावह हुन सक्छ । लकडाउन अवधिमा महिलाविरुद्ध भएका हिंसाका घटनामध्ये ६१ प्रतिशत घरभित्रै भएको ओरेकको तथ्यांकले देखाउँछ । ओरेकले जुलाई २०१८ देखि जुन २०१९ सम्म संकलन गरेको तथ्यांकअनुसार महिलाविरुद्ध हिंसाका १३१९ घटना प्रकाशमा आएका छन् । यसमा घरेलु हिंसाका घटनाको हिस्सा ६६.७२ प्रतिशत (८८० वटा) छ । सामाजिक हिंसाका घटनाको हिस्सा ११.९८ प्रतिशत (१५८ वटा), बलात्कारको १०.८४ प्रतिशत (१४३ वटा) र यौन हिंसाको ४.७ प्रतिशत (६२ वटा) छ ।

विपना अधिकारी

यो वर्षको तथ्यांक आउनेसमय अझै बाँकी रहे पनि पछिल्लो समयकोहिंसात्मक घटनाको लहर विश्लेषण गर्दा यस वर्ष पनि यौनजन्य दुर्व्यवहार, शोषण र हिंसामा कमी आउने सम्भावना अत्यन्त कम देखिन्छ । अझ रोचक पक्ष त के भने २०२० मा घटेका हिंसाका घटनाले हामीलाई आफ्नै वरिपरि मान्छेको आवरणमा बसेका भाइरसहरुसँग राम्ररी परिचित गराएको छ भने हिंसाको जोखिम घरबाहिर होइन घरभित्रै बढी छ भन्ने तथ्य स्थापित गराइदिएको छ । सिंगो विश्वले सन्२०२० मा सुरक्षित रहने सबैभन्दा अब्बल उपायको रुपमा मान्यता दिएको आफ्नै घरभित्रको बसाइ नेपाली महिलाको हकमा गलत साबित भएको छ र सुरुका अनुच्छेदमा उद्धृत गरिएका दुवै तर्क गलत ठहरिएका छन् । बरु ती तर्कहरु बलात्कारका घटनामा पीडितलाई नै दोषी देखाएर पानीमाथि ओभानो बन्ने प्रयास हुन्भन्ने कुरा पुष्टि भएको छ ।

महिलाहरु घरमा सुरक्षित हुन्छन् भन्ने कथन सत्य भएको भए नेपालमा पछिल्लो समय लैंगिक हिंसामा कमी आउनुपर्ने थियो । यसका आफ्नै कारण छन्। जबजब महिला हिंसाका घटना बाहिर आए, प्रश्नका तिरहरु हामीतर्फ नै सोझिए र हरेकचोटि जब प्रश्नका तिरहरु आफूतिर सोझिए, हामीले औंला सरक्क समाजतिर घुमायौं । सामाजिक बनोट, समाजका साँगुरा सीमारेखा, अझ प्रस्ट भनौं समाजका हरेक पक्षलाई दोषी बनायौं ।

तर के हामीले यो दोषी समाजभित्र आफूलाई कतै सामेल गरायौं त ? अहँ । हामी समाज सफा गर्न यति व्यस्त भयौं कि आफ्नै घरभित्रको फोहोर फ्याँक्न बिस्र्यौं । हामीले सिनेमाको रिल सत्यलाई विश्वास गरिरहेका छौं । अर्थात कुनै सुनसान सडकमा बलात्कारी आफ्नो सिकार ढुकेर बसिरहेको हुनेछ, एउटी महिला चिच्याउँछे– बचाऊ बचाऊ । त्यसपछि त्यहाँ नायक प्रवेश गर्छ र उसलाई बलात्कृत हुनबाट बचाउनेछ ।

तर यथार्थमा बलात्कार कुनै सुनसान सडकमा मात्र नभएर आफ्नै घरको, आफैं दिनहुँ सुत्ने ओछ्यानमा पनि हुन सक्छ । बलात्कारी हेर्दै डरलाग्दा शरीरका, सुनसान सडकमा सिकार ढुकेर बस्ने हिंस्रक जनावर जस्ता मात्र नभएर सबैभन्दा मायालु ठानिएका बुवा, दाजुभाइ, श्रीमान, छिमेकी जो कोही पनि हुन सक्छलभन्ने कुरा माथिको तथ्यांकले पुष्टि गरेको छ ।

त्यसो भए घरभित्रै बस्नु पनि अब गलत हो त ? होला ! यसपटक सायद महिलाहरु घरभित्रै बस्नाले पुरुषलाई उत्तेजित बनायो । फेरि पनि दोषी चाहिँ तिनै पीडित । आखिर कहिलेसम्म चल्ने पीडितमा दोषारोपणको यो लहर ?

नेपालमा प्रचलित फौजदारी कानुनको दफा २१९ को उपदफा ४ मा वैवाहिक बलात्कारलाई पनि फौजदारी अपराधको रूपमा परिभाषित गरिएको छ । जसमा स्पष्ट रूपमा भनिएको छ– यदि कुनै व्यक्तिले वैवाहिक सम्बन्धमा रहे तापनि आफ्नी श्रीमतीलाई बलात्कार गरेको खण्डमा त्यस व्यक्तिलाई पाँच वर्षसम्मको जेल सजाय हुनेछ ।

वैवाहिक बलात्कारलाई अपराधको रूपमा परिभाषित गरिए पनि एकजना बलात्कारी पीडितको पति नै हुन सक्छ भन्ने सत्यलाई हामी अझै पनि विश्वास गर्न तयार छैनौं । श्रीमान–श्रीमतीबीचको घरायसी मामिला’ भन्दै यसलाई बेवास्ता गर्न कोसिस गर्छौं । लाइसेन्स नै पाएपछि गाडी जतिबेला कुदाए पनि भैहाल्यो नि ! विवाह गरेको त मतलब नै भएन । आफ्नै पोइले गर्दा पनि के को बलात्कार ? बुढीलाई मन थिएन भन्दैमा बलात्कार त हुँदैन नि ! जस्ता अप्रासंगिक, असंवेदनशील, गैरजिम्मेवार टिकाटिप्पणी प्रशस्त सुन्न पाइन्छ । विवाहको अर्थ यौनको लागि आजीवन सहमति होइन । विवाह एउटा सुन्दर बन्धन हो । यसले व्यक्तिको आधारभूत मानव अधिकार खोस्दैन । हरेक व्यक्ति आफ्नो शरीर र यौन जीवनबारे आफैंले निर्णय गर्न स्वतन्त्र छ । कसैले पार्टनरसँग पनि उसको सहमतिबिना यौन सम्पर्क गर्छ भने त्यो अपराध हो ।

बाह्र वर्षकी सम्झना बिकको बलात्कारले पूरै देशलाई तरंगित बनायो । असोज ७ गते घरनजिकैको मन्दिरमा उनको शव फेला परेको थियो । सोही गाउँका १८ वर्षीय राजेन्द्र बोहराले बलात्कारपछि सम्झताको हत्या गरेको बताइएको छ । यो त उदाहरण मात्र हो । पछिल्ला केही महिनाभित्र नेपालमा यस्ता थुप्रै कहालीलाग्दा घटना घटे ।

यही डिसेम्बरमा ४० वर्षका एक व्यक्तिलाई१३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा उदयपुरको त्रियुगा नगरपालिकामा पक्राउ गरिएको छ । दैलेखमा पनि छोरी बलात्कार गरेको आरोपमा ३८ वर्षे एक व्यक्ति पक्राउ परे । अप्रिलमा सिन्धुपाल्चोकका २३ वर्षे पुरुषलाई १४ वर्षकी बहिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरियो । जुलाईमा बुद्धनगर नगरपालिकाको वडा नम्बर २ बाट ६५ वर्षे पुरुष आफ्नै छोरीलाई पटकपटक बलात्कार गरेको र गर्भवती बनाएको आरोपमा पक्राउ परे । अक्टोबरमा डाक्नेश्वरी नगरपालिका–२ मा १४ वर्षकी किशोरी उनकै छिमेकीबाट बलात्कृत भइन् ।

यस्ता दर्जनौं घटना हाम्रो सामु आए । तिनले एकछिन मन झस्काए । एक–दुई दिन हल्ला भयो फेरि सामसुम । महिलाले घरमा बस्ने विचार गरे पनि वा रातको समयमा घरबाट बाहिर ननिस्किए पनि तथाकथित भद्र पहिरन लगाए पनि, पुरुष साथी नबनाए पनि, कुन कुराले हाम्रो सुरक्षाको ग्यारेन्टी दिन्छ ? आखिर कहिलेसम्म राख्ने यौन हिंसाको मर्दाना विचारधारा ?

अब समय आएको छ, हामी सबैले नायक बन्ने । महिलाहरु घरभित्रै बस्नु, बाहिर अबेरसम्म नबस्नु, पुरुषलाई उत्तेजित पार्ने किसिमका लुगा नलगाउनु, पुरुष साथी धेरै नबनाउनु, श्रीमानले जे भन्यो त्यही आज्ञा पालन गर्नु जस्ता निष्प्रभावी सुरक्षा सल्लाह दिनुभन्दा पीडितलाई दोषारोपण गर्न बन्द गर्नुपर्छ । महिलालाई सुरक्षित हुन सिकाउनुभन्दा, असुरक्षित महसुस नै हुन नदिनेतर्फ सोच्नुपर्छ, आफ्नो घरभित्रकै धमिलो सोच सफा गर्नेतिर लाग्नुपर्छ । घरभित्र पनि फोहोर छ भन्ने तितोसत्यलाई स्वीकार गर्नुपर्छ । यो सत्य स्वीकार गरेर महिलाप्रतिको दृष्टिकोणमा परिवर्तन ल्याउन सके बलात्कारबाट बचाउन कुनै नायक आउनु पर्दैन हरेक पुरुष वास्तविक जीवनको नायक बन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय