साना किसानको ब्याज तिर्ने कर्णाली प्रदेश सरकारको निर्णय
सुर्खेत । कर्णाली प्रदेश सरकारले साना किसानले सहकारी संस्थामार्फत् लिएको ऋणको ब्याज तिरिदिने निर्णय गरेको छ । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले साना किसानको व्यवसायिक वृद्धिका लागि यस्तो कार्यक्रम ल्याएको बताएको छ ।
मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा प्रदेश सरकारकी भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले भनिन्, ‘प्रदेश सरकार मातहतका ३१४ वटा सहकारीले साना किसानलाई ऋण दिने र ऋणको एघार प्रतिशत ब्याज हामीले सहकारीलाई तिरिदिन्छौं ।’ परम्परागत खेतीबाट किसानलाई व्यवसायिकतातर्फ उन्मुख गर्न यस्तो कार्यक्रम ल्याएको मन्त्री केसीले बताइन् ।
न्यूनतम पचास हजारदेखि अधिकतम पाँच लाख रुपैयाँसम्मको ऋणमा कृषि विकास कार्यालयले ब्याज र सेवाशुल्क तिरिदिने गरी व्यवस्था मिलाइएको मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए । ब्याज अनुदान कार्यान्वयन गर्न कर्णाली प्रदेशको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थासँग मन्त्रालय मातहतको कृषि कार्यालयले सम्झौता गर्ने उनले बताए ।