scheduleशनिवारफाल्गुन १५ गते, २०७७

कमरेड बादल, के तपाईं राजनीतिकरुपमा ज्यूँदै हुनुहुन्छ ?

सुदर्शन खतिवडा

शक्तिको लालसाले मानिस कतिसम्म राजनीतिक भ्रष्ट र गतिछाडा हुनसक्छ ? यो प्रश्नको उत्तर खोज्न टाढा जानुपर्दैन । केपी ओलीका पछिल्ला कार्यक्रमहरूमा मञ्चमा मुन्टो निहुराएर जनयुद्धप्रति अपमानजनक बिम्ब सुन्दै मन्त्री पद जोगाइरहेका रामबहादुर थापा बादललाई हेरे पुग्छ ।

जर्ज अरवेल भन्थे, ‘राजनीतिक भाषा झूटलाई सत्य र हत्यालाई सम्मानजनक बनाउनका लागि रचिएका हुन्छन् ।’ माओवादी आन्दोलनका एक अगुवा बादलले केपी ओली समूह रोजेपछि उनले गरेका भाषणहरूले अरवेलका यिनै भनाईहरूलाई ज्यूँदो बनाउँछन् । उनले संसद विघटनलाई अग्रगामी कदम भनिरहेका छन् । राजनीतिक कू र प्रतिगमन रोक्न ओलीले साहसपूर्वक अग्रगामी कदम चाल्नुपरेको उनको स्पष्टोक्ति हुनेगरेको छ ।

कुनैबेला संविधानसभाको बाटो हिंडेको प्रचण्ड-बाबुराम समूहलाई लाल गद्दारको संज्ञा दिँदै पार्टी फुटाएर उनी क्रान्तिको वायुपंक्षी घोडामा सवार भएका थिए । त्यसअघि जब पहिलो संविधानसभामा माओवादीलाई सुविधाजनक बहुमत थियो, उनले सत्ताकब्जाको लागि सात दिने काठमाडौंकेन्द्रित असफल आन्दोलनको नेतृत्व गरेका थिए । पालुङटारमा डा. बाबुराम भट्टराईको शान्ति र संविधानको नाराविरुद्ध प्रचण्ड र मोहन वैद्यलाई साथ दिएका थिए ।

यसबीचमा उनको राजनीतिक जीवन यति उतारचढावमय भए कि उनको राजनीतिक यात्राको रेखाचित्र विचित्रको बन्यो । उनी विचार र एजेन्डाप्रति कति पनि इमान्दार देखिएनन् । अन्यौलता र अस्पष्टताको अँध्यारोमा स्वार्थी अनुहार लुकाउन खोजेर उनी दायाँबायाँ गरिरहे । कहिले निर्वाचन बहिस्कार गर्दै प्रतिकात्मकरुपमा बुथ फुटाउँदै हिंडे, कहिले सहयात्रीहरुलाई लालगद्दारको आरोप लगाउँदै हिंडे ।

ओलीसँग अरु माओवादी नेताहरु पनि गएका छन् तर, यहाँ बादललाई नै किन सम्बोधन गरिएका थिए भने उनले राजनीतिक स्वार्थ नमिल्दा इतिहासमा धेरै अवतार धारण गरिसकेका छन् । जब हिजो बोलेका कुराहरुले आज बोकेका कुराहरुको खण्डन गरिरहेको हुन्छ अथवा हिजो र आजको बीच तुलनै गर्न नसकिने अन्तर हुन्छ, उसको राजनीतिक जीवन पत्रु देखिन थाल्छ । रत्नपार्कमा बोल्दै हिंड्ने मुकुन्देमा बरु एजेन्डाप्रतिको इमान्दारिता छ, उनले आफ्ना कुराहरुमा ‘कन्सिस्टेन्सी’ कायम गरिरहेका भेटिन्छन् तर, जब बादलमा त्यति पनि गुण भेटिँदैन भने ऐनाअगाडि उभिँदा उनले आफ्नो मूल्यांकन कसरी गर्लान् ?

अब यस्तो लाग्न थालेको छ कि हजारौं सहिद र बेपत्ताहरूको बलिदानबाट जन्मिएको बादल भन्ने पात्रको राजनीतिक मृत्युवरण भइसकेको छ । किनकि पछिल्ला राजनीतिक यात्रामा उनी राजनीतिकरुपले कति पनि इमान्दार लाग्दैनन्-देखिँदैनन् । व्यक्तिमा देखिने राजनीतिक भ्रष्टीकरण वेश्यावृत्तिभन्दा घिनलाग्दो हुनु एकप्रकारले राजनीतिक मृत्युवरण नै हो । यी दृश्यहरू अश्लील, भद्दा र असंयोजनीय त त्यतिबेला लाग्छ जब स्खलनका डोबहरू लुकाउन नसकेको मानिस आफूलाई साधु घोषणा गर्छ । बादलले दावी गर्ने गरेको तथाकथित राजनीतिक अग्रगमनको यात्रा भद्दा मजाकजस्तो लाग्छ ।

अघिल्लो दिन केपी ओलीले एउटा सार्वजनिक भाषणमा ‘प्रचण्डहरूको जंगली महत्वाकांक्षा’ भनेर सम्बोधन गरे । भोलिपल्ट उनका चेला ईश्वर पोखरेलले बादलकै अगाडि सोही शब्द दोहोर्‍याए । यहाँ सामान्य चेत भएका मानिसहरूले पनि बुझ्न सक्छन् कि उनीहरूले जनयुद्ध लड्नेलाई जंगली भनिरहेका छन् । उपल्लो वरियता दावी गरिरहेका बादललाई ईश्वरले प्रहार गरिरहेको सायद उनले बुझे नै होलान् । आफूले जंगलीको उपमा पाइरहँदा बादल जुत्ताले जमिन खोतल्दै शीर निहुर्‍याएर भुइँतिर हेरिरहेका थिए ।

शहर पसेको छोराले आफ्ना गाउँबाट आएका मातापितालाई छिमेकी वा अन्य कोही भनेर चिनाउने घिनलाग्दा प्रसंगहरू हामीले बारम्बार सुन्दै आएका छौं । ओली समूह पसेका बादलले पनि जनयुद्धप्रति गर्व गर्न र उक्त शब्द उच्चारण पनि गर्न नसक्ने अवस्था सिर्जना भएको सहजै अनुभूति गर्न सकिन्छ । बादलले सम्बोधनको क्रममा गणतन्त्रका लागि ‘हिंसात्मक’ आन्दोलनको भूमिका थियो भनेर घुमाएर बोलिरहेका थिए । अलिकति पनि आत्मसम्मान बाँकी भएको मानिसले एक थान पदका लागि कसरी आफ्नो गौरवशाली इतिहास र विरासतलाई बलात्कृत गर्न सक्छ ? के यसलाई राजनीतिक मृत्युवरण भन्न मिल्दैन ?

ईश्वरलाई उछिन्दै ओलीले गणतन्त्रको स्थापनामा हतियारको कुनै भूमिका नरहेको, मुड्कीले हतियारसित लडेर गणतन्त्र स्थापना गरेको भने । उनले गणतन्त्रको आन्दोलनमा बादलसमेत सहभागी भएको माओवादी जनयुद्धको कुनै पनि भूमिका थिएन भनेर भाषण गरिरहँदा बादलमा अलिकति पनि स्वाभिमान ज्युँदो छ भने मञ्चमा कसरी टिकिरहन सक्छन् ? जनयुद्ध केटाकेटीको खेल थिएन । हजारौं योद्धाहरूको बलिदानी भएको थियो । लाखौं मानिसले रगत, पसिना र आँसु बगाएर विकास गरेको आन्दोलनको नेतृत्व गरेको मानिसको यो ढंगको गैरजिम्मेवारपन अनपेक्षित त छ नै, अराजनीतिक र अस्वभाविक पनि छ ।

ओलीले यसबीचमा माओवादीसँग रहेको विरासत र शक्तिको दोहन गरिसके । भटमास पेलेर तेल निकालिसकेपछि बचेखुचेको पिनाबाट मस्यौरा बनाउने ओली उद्देश्यको चरु बन्न तयार बादलहरूको ओली समूहमा यात्रा कस्तो होला ? अहिले नै अनुमान गर्न सकिन्छ । ओलीले केही समय पूर्वमाओवादीहरूलाई घाँस र कुँडो खुवाएर पाल्नेछन् र उपयुक्त चाडपर्वमा बध गरिदिनेछन् । यो कुरा बुझ्न ओलीका विश्वासपात्र महेश बस्नेतको भाषण नै काफी छ । उनले सार्वजनिकरुपमा नेकपामा माओवादी गलगाँड आएको र त्यसलाई काटेर फाल्न ढिला गर्न नहुने बताउँदै आएका छन् ।

यसबाट ओली समूह पूर्वमाओवादीहरूलाई कुनै सम्मानित स्थान र भूमिका दिनेभन्दा उपयोग गर्ने रणनीतिमा रहेको स्पष्टै छ । हरेक दिन अपमानका शब्दवाणहरूले घाइते र रगतपच्छे हुँदै घृणाको आँसु पिएर बाँच्ने जीवन उनीहरूले किन रोजिरहेका छन् ? स्वार्थको कैदमा बन्द भएकाहरूलाई स्वतन्त्रता र स्वामिभानको मूल्य थाहा नहुनु अस्वभाविक भने होइन ।

सुदर्शन खतिवडा

स्वयम् ओली र उनका प्रवक्ताहरूले छुराजस्तो मुखहरूले बारम्बार बचनवाण प्रहार गर्दै घाइते बनाइरहँदा पनि रक्तमुच्छेल हुँदै पद नै जोगाइरहन कसरी सकेका होलान् बादलहरूले ? ओलीले कौरव बनेर पूर्वमाओवादीहरूको आत्मसम्मानको चीरहरण गरिरहँदा एउटा स्वाभिमानी मान्छे कसरी क्षणिक पदको सिरानी हालेर निदाउन सक्छ ? जनयुद्धमा लागेर सहिद र बेपत्ता हुनेहरूले त पश्चात्तापको मौका पाउने छैनन् । बाँचेकाहरूले एकपटक अवश्य सोचेको हुनुपर्छ कि कति कमजोर नैतिक धरातल भएका मानिसहरूको पछि लागेर ज्यानको दाउ लगाइछ भनेर ।

प्रचण्डले पद र राजनीतिक अवतरणका लागि हिजो जुन गल्ती गरे, त्यही गल्ती बादलहरूले गरिरहेका छन् । परिवर्तनकारी शक्तिको समाधिस्थलबाट उदाएका ओलीले एकप्रकारले सम्वर्द्धनवादी राजनीतिको सहारा लिइरहेका छन् । उनले परिवर्तनका एजेन्डाहरूलाई धर्मपुत्रको रुपमा बाध्यताले स्वीकारेका हुन् भन्ने कुरा त एकपछि अर्को उनको अभिव्यक्ति र व्यवहारले पुष्टि गरेकै छन् । नत्र आफू अल्पमतमा पर्नासाथ संसारकै उत्कृष्ठ भनेर आफैंले महिमागान गरेको संविधानको घाँटी ओलीले कसरी निमोठ्न सक्छन् ? जनताले दुई तिहाई नजिक बहुमत दिएको संसदको हत्या कसरी गर्न सक्छन् ? संघीयतालाई कसरी केन्द्रको प्रशासनिक एकाई भन्न सक्छन् र त्यस्तै व्यवहार गर्न सक्छन् ? समानुपातिक समावेशितालाई कसरी एनजिओको ट्याउँट्याउँ भन्न सक्छन् ?

बादल कमरेड, तपाईंलाई लाग्छ कि ओलीले जनयुद्धको पुनर्मूल्यांकन गर्नेछन् र तपाईं र तपाईंहरूको विरासतको सम्मान गर्नेछन् ? बिहानीले के संकेत गरिरहेको छ ? कि तपाईंले नै आफ्नो गौरवशाली विगतको पुनर्मूल्यांकन गर्नुभएको हो ? विगतप्रति पश्चात्ताप छ भने सार्वजनिकरुपमा भन्नुहोस् । क्षमायाचना गर्नुहोस् । तब ओलीको पछि लाग्ने कदम राजनीतिक हुनसक्छ । होइन भने, आफ्नो कदमलाई राजनीतिकरुपमा कसरी पुष्टि गर्न सक्नुहुन्छ ?

यी हरफहरु लेख्दा मलाई केपी ओली भन्ने पात्रप्रति कुनै गुनासो छैन । उनले लुकाएर केही गरेका छैनन् । उनी आफ्नो उद्देश्यमा प्रष्ट छन् । आफूलाई मन परेको राजनीतिक बाटो हिंड्नु र हिंडाउन खोज्नु कुनै अपराध होइन । गान्धीले सैद्धान्तिक धरातलमा नटेको राजनीतिलाई पाप मान्थे । ओलीसँग एउटा सैद्धान्तिक धरातल छ र त्यहीँ टेकेर आफ्ना राजनीतिक कदम चालिरहेका छन् । बयलगाढाको बिम्बदेखि संसद विघटनसम्म आइपुग्दा उनको राजनीतिक यात्रामा ग्राफ खासै विचित्र देखिँदैन । विचित्र त बादलहरुको देखियो ।

मार्टिन लुथर किंग जुनियर भन्थे, ‘कहिलेकाँही यस्तो समय आउँछ जतिबेला तिमी नबोल्नु नै धोकेबाज बन्नु हो ।’ उनलाई सम्झिएर इतिहासको यो घडीमा बोल्न मन लाग्यो र उनलाई प्रश्न गर्न मन लाग्यो- कमरेड बादल, यो तपाईंको रहरको बाटो हो कि बाध्यताको ? तपाईंले समयमै जवाफ दिनुपर्छ । जब समयले प्रश्न सोध्नेछ, तब तपाईं जवाफ दिन लायक नै रहनुहुनेछैन ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay