scheduleसोमवारबैशाख ६ गते, २०७८

अमेरिकी संसद भवनमाथिको आक्रमणः असली जोखिम सामुन्ने छ

न्यूयोर्क टाइम्स

राष्ट्रपति ट्रम्प र संसदमा भएका उनका रिपब्लिकन समर्थकहरूले बुधबार उनीहरू आफैंले नेतृत्व गरेको सरकार र ‘माया गर्छु’ भनेको राष्ट्रको विरुद्ध हिंसात्मक हमलाका लागि उक्साएका छन् । उनीहरूलाई यस्तो गर्ने अनुमति वा छुट दिन सकिँदैन ।

बुधवार ट्रम्पको देशद्रोही बयानबाजीबाट प्रभावित हज्जारौंको भीडले क्यापिटोल भवनलाई घेरा हाले । तिनले संसद भवन तोडफोड गर्ने प्रयास गरे जहाँ निर्वाचित जनप्रतिनिधिहरू आफ्नो संवैधानिक कर्तव्य पुरा गर्न तथा जो बाइडेनले राष्ट्रपति निर्वाचन जितेको पुष्टि गर्न भेला भएका थिए ।

उनीहरू संसदका कुर्सीमा अमेरिकाको संघीय झण्डा गाड्ने र संसदीय कार्बाहीलाई रोक्ने प्रयत्न गर्दै थिए । उनीहरूले भवनका झ्यालहरू फोडे, ढोकाहरू तोडे । सुरक्षाकर्मीहरूमाथि आइलाग्दै सन् २०२० को निर्वाचनमा ट्रम्पको पराजयलाई अस्वीकार गर्दै नारा लगाए । यसक्रममा एक महिलाको मृत्यु भयो । राष्ट्रका नेताहरूलाई सुरक्षाकर्मीले त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा सार्नु पर्‍यो ।

क्यापिटोल भवन वरिपरि र वासिङ्टनका कयौं स्थानमा विष्फोटन गराएको पाइयो । ट्रम्प समर्थक प्रदर्शनकारीहरूले देशभरिका स्टेटहाउसहरू पनि बन्द गरे ।

यी हमलाहरू ट्रम्पले भड्काएका थिए । उनले नोभेम्बर निर्वाचनमा मतदाताको फैसलालाई अस्वीकार गर्दै महिनौं झुठ दोहोर्‍याउँदै रहे । उनले आफ्ना समर्थकलाई यो दिन वासिङ्टनमा आउन आव्हान गरेका थिए । उनले क्यापिटोल भवनमा आक्रमण गर्न भनेका थिए ।

उनले भीडलाई निर्वाचन परिणाम चोरी हो भने । यसका विरुद्ध लड्न आग्रह गरे । उनले भीडमा सामेल हुन अपिल गरे । यहाँसम्म कि उनी आफैं भीडमा आउन सक्ने बताए । जब भीडले क्यापिटोल भवन आक्रमण गर्‍यो, उनी धेरैबेर चुप रहे । त्यस्तो नगर्न वा त्यस्ता कार्बाही रोक्न आग्रह गरेनन् । उनले संविधानको रक्षा गर्ने सपथ खाएको कुरा भुले ।

जब उनी बोले, समय धेरै ढिलो भइसकेको थियो । तथापि उनले प्रदर्शनकारीको आक्रोश बढ्ने गरी चुनावमा भोट चोरी भएकै कुरा बोले । तर प्रदर्शनकारीलाई अब घर फर्किन भने । उनको अन्तिम बयानबाजी पनि सन्देहपूर्ण थियो । उनी राष्ट्रपतिको भूमिका र संविधानप्रतिको दायित्वबाट पूर्णत च्युत थिए ।

यस्ता राष्ट्रपतिलाई महाअभियोग कार्बाही र आपराधिक अभियोजनका लागि उत्तरदायी मान्न सकिन्छ । उनका हिंस्रक समर्थकहरूलाई समेत कार्बाहीको दायरामा ल्याउनुपर्ने हुन्छ । र, क्यापिटोल भवनको प्रहरीमाथि समेत छानबिन हुनुपर्ने हुन्छ, जो एक सार्वजनिकरुपमा घोषित र योजनबद्ध आक्रमण रोक्न विफल भएको छ ।

यो आक्रमण केवल सन् २०२० को निर्वाचन परिणामप्रतिको आक्रमण मात्र हैन । यो एक नजिर हो । यो भविष्यका चुनावी परिणामप्रति पनि यसै गर्न दिने एक अनुमतिपत्र बन्न सक्दछ । यस्तो कार्यलाई स्पष्ट ढंगले अस्वीकृत र अमान्य गर्न जरुरी छ ।

रिपब्लिकन पार्टीका नेताहरूको समूहले पनि यो आक्रमणको जिम्मेवारी लिनुपर्दछ । धेरै रिपब्लिकन नेताहरूले निर्वाचन परिणामबारे झुठ बोलेर राजनीतिको निकृष्ट खुद्रा व्यापार गरेका थिए । कुनै सबुत प्रमाण विना बाइडेनको जितको वैधतामाथि प्रश्न उठाएर उनीहरूले लोकतन्त्रप्रतिको जनताको विश्वासलाई कमजोर पार्ने प्रयत्न गरेका थिए । जो उनीहरूको वचनमा विश्वास गर्दथे, ती हिंसा अनिवार्य भइसकेको निष्कर्षमा पुग्ने सम्भावना थियो ।

जब भीडले क्यापिटोल भवनमाथि आक्रमण गर्न थाल्यो, संसद भवनभित्रै भएका रिपब्लिकनहरूले अझै उस्काउने काम गरे । टेक्सासका रिपब्लिकन सिनेटर ट्रेड क्रुजले सन् १८७६ को विवादास्पद चुनावको प्रस्ताव ल्याएर सन् २०२० को चुनावी परिणामलाई सम्परिक्षण गर्न माग गरे । सन् २०२० को निर्वाचनलाई आशंका गर्नुपर्ने कुनै भरपर्दो कारण नै थिएन ।

सन् १८७६ को ऐतिहासिक परिदृष्य बिल्कुल फरक थियो । त्यो अहिलेको अवस्थँसंग सादृष्य हुँदैनथ्यो । त्यतिखेर गोरा डेमोक्र्याट्सहरूले कालाहरूको मतदान प्रभावित गर्न व्यापक हिंसाको प्रयोग गरेका थिए । त्यो नश्लीय लोकतन्त्रबाट एक व्यापक सहभागितामुलक लोकतन्त्रका रुपमा अमेरिकी लोकतन्त्रको पुनर्निमाण गर्ने परिप्रेक्ष्यसँग जोडिएको घटना थियो ।

आधुनिक रिपब्लिकन पार्टीको सोचमा एक विचित्रको विरोधाभाष छ । एकातिर उनीहरू योजनावद्ध र प्रणालीगत तरिकाले मतदातालाई मतदान गर्नबाट निरुत्साहित गर्दछन् अर्कोतिर मतदाताबाटै आफ्नो शक्तिको वैधताको अपेक्षा राख्दछन् । बुधबारको अनपेक्षित हिंसामा यही विरोधाभाष कायम राख्ने सन्देश निहित छ ।

घटनाक्रमले के देखाउँछ भने केही रिपब्लिकन नेताहरूमा ट्रम्प समर्थकले निम्त्याउन सक्ने विपत्तिको भय थियो । बहुमत पक्षका रिपब्लिकन नेता सिनेटर मिच मैककाँलनले निर्वाचन परिणाम उल्टाउने रिपब्लिकन इरादालाई रोक्ने प्रयास गरेका थिए । तर, उनको वाकपटुतापूर्ण परिभाषा निक्कै ढिलो आएको थियो र त्यो सांकेतिक मात्र थियो । उनले बबण्डरका सामु हावाको सानो झोका मात्र देखाएका थिए ।

अन्य कतिपय राजनीतिज्ञमा भने बलियो ‘कन्भिक्सन’ पाइन्छ, जस्तो राष्ट्रपतिका पूर्व रिपब्लिकन उम्मेद्वार मिट रोमनीले ट्वीट गरेका छन्– ‘बुधबारको घटना राष्ट्रपतिद्वारा उक्साइएको एक हिंसात्मक विद्रोह हो ।’

संवैधानिक व्यवस्थाअनुसार निर्वाचन सम्पन्न भएको वर्षपछि आउने जनवरी ६ मा कांग्रेसले राष्ट्रपति निर्वाचन परिणामलाई अनुमोदन गर्नुपर्ने हुन्छ । यदि भीडले यो प्रक्रियालाई अवरुद्ध गर्न सकेको भए दुई हप्तापछि हुने राष्ट्रपति बाइडेनको हाइट हाउस प्रवेश कार्य समेत रोकिने थियो । त्यसो भएन । कांग्रेसले आफ्नो संवैधानिक दायित्व पूरा गर्‍यो ।

तर यो आक्रमणले शासनका कमजारीहरूलाई भने सर्वथा सम्झाइरहने भयो । सन् २०२१ को जनवरी ६ एक कालो दिनका रुपमा स्मरणीय रहेनछ ।

यो सवाल ट्रम्प शासनकालको एक अन्तिम कडी होला तर आधुनिक अमेरिकाको गहिरो र अनपेक्षित विभाजित युगको शुरुवात पनि हुन सक्दछ । असली जोखिम सामुन्ने छ तर यसको कुनै पूर्वनिर्धारित जवाफ भने छैन ।

निसन्देह रिपब्लिकन नेताहरूसँग राजनीतिक शक्ति छ, सँगसँगै जिम्मेवारी पनि छ कि अमेरिकी लोकतन्त्रप्रति अनावश्यक बयानबाजी उनीहरूले बन्द गरून् । अमेरिकी लोकतन्त्र र यो राष्ट्रको सेवा गर्न उनीहरूले खाएको सपथ पुरा गरून् । राजनीतिक स्वार्थका लागि गरिने सस्तो र भ्रमपूर्ण बयानबाजीले लोकतन्त्र र राष्ट्रको रक्षा र सेवा हुँदैन भन्ने राम्ररी बुझून् ।

(अमेरिकी संसद भवनमा भएको आक्रमणविरुद्ध न्यूयोर्क टाइम्सले लेखेको सम्पादकीयको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay