scheduleबुधवारमाघ १४ गते, २०७७

ट्रम्पले अब के गर्लान् ? कता जाला अमेरिकी राजनीति र समाज ?

एसडी मुनी

जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल हिलमा जे भयो, यस्तो कसैले सोचेको थिएन । मान्छेको मनका पक्कै डर थियो– ट्रम्पले के गर्लान् ? पक्कै केही न केही गर्लान् ? ट्रम्पले ह्वाइट हाउस छाड्दैनन् होला भन्ने आंशका थियो, तर उनी यसप्रकारको हिंसामा उत्रेलान् भन्ने थिएन ।

राष्ट्रपति पदमा रहेर मानिसलाई यसरी हिंसाका लागि भड्काउनु कुनै पनि दृष्टिकोणले उचित थिएन । जो बाइडेनले यसलाई ‘हिंसात्मक विद्रोह’ को संज्ञा दिएका छन् । ट्रम्पका निकटस्थ व्यक्तिहरू नै यो घटनापछि डराएका छन् । उनीहरू मध्ये कतिपयले घटनाको निन्दा र भर्त्सना गरेका छन् । कतिले पदहरूबाट राजीनामा दिएका छन् । अमेरिकाको इतिहासमा यो बिल्कुलै अनौठो, कहिल्यै नभएको घटना भएको छ । यस्तो हुने कल्पना त कसैले गरेकै थिएन ।

मलाई अहिले ठ्याक्कै साल, मिति वा नाम त याद छैन तर अमेरिकाको इतिहासमा यसअघि पनि एकजना राष्ट्रपतिले चुनावी हारपछि ह्वाइट हाउस छोड्न अस्वीकार गरेका थिए । तर, मिति आएपछि उनलाई सुरक्षाकर्मीहरूले नै हटाएका थिए । अमेरिकामा त्यस्तो प्रचलन छ । जबसम्म कुनै व्यक्ति राष्ट्रपतिको पदमा हुन्छ, सम्पूर्ण राज्य निकाय र सुरक्षा अंगहरू उसप्रति बफादार हुन्छन् । तर जब उसले ह्वाइट हाउस छोड्नुपर्ने दिन आउँछ, सबैले त्यो बफादारिता नयाँ राष्ट्रपतिप्रति समर्पित गर्दछन् ।

यसपाली पनि त्यही हुने सम्भावना थियो । सबैले यही सोचिरहेका थिए कि जनवरी २० सम्म ट्रम्पप्रति राज्यको बफादारिता रहनु अस्वभाविक हैन । त्यसपछि ह्वाइट हाउस नछोडे सुरक्षाकर्मीले नै उनलाई निकाल्ने छन् । तर, ट्रम्प यसरी हिंसामा उत्रिन्छन्, हिंसाका लागि मान्छेलाई उक्साउँछन्, यस्तो कल्पना त छँदै थिएन् ।

ट्रम्प पहिलेदेखि नै झुठ बोल्न माहिर थिए । पदमा रहेर पनि उनले बारम्बार झुठ बोले । उनी त्यस्ता कुरा गर्दछन्, जो वास्तवमा भएकै हुँदैन । आफ्नो कुरा माथि पार्न वा आफ्नो पक्षलाई मजबुत बनाउन उनी मनमौजी बोल्छन्, ती कुरा सत्य हुँदैनन् ।

ट्रम्पले उपराष्ट्रपति माइक पेन्सलाई पनि निर्वाचन परिणाम अस्वीकार गर्न दवाब दिएका थिए । तर पेन्स मानेनन् । ट्रम्प यहाँसम्म अगाडि बढे कि उनले आफ्नै साथीहरूलाई दबाब दिए । तर, ट्रम्पसँग जहाँनेर वैधता वा वैधानिकता थिएन, त्यो कुरा उनका साथीहरूले पनि मानेनन् ।

एसडी मुनी

अमेरिकी समाजमा व्यापक ध्रुवीकरण भइरहेको छ । उनको जुन एजेण्डा थियो, गोरा अमेरिकाको एजेण्डा, त्यो एकप्रकारले नश्लवादी एजेण्डा थियो । समाजमा ध्रुवीकरण बिना यस्तो एजेण्डा उनी राष्ट्रपति हुन सक्दैनथे । उनले ‘अमेरिका फष्ट’ र ‘मेक अमेरिका ग्रेट अगेन’ जस्ता नाराहरू दिए । सतहमा हेर्दा यी नारा राम्रै लाग्दछन् । तर, यसभित्रको कुरा भिन्नै थियो । उनी जुन अमेरिकाको कुरा गर्दै थिए, त्यो ‘ह्वाइट अमेरिका’ थियो । उनले काला र अन्य समुदायलाई अस्वीकार गरेका थिए जसको योगदान समेतले आजको अमेरिका बनेको थियो ।

एकारित उनी आप्रवासनको विरुद्ध थिए । अर्कोतिर विभिन्न नश्लहरू जस्तै- चिनियाँ, इन्डियन, अफ्रिकन, मेक्सिकन सबैको विरुद्ध थिए । यसैका आधारमा उनले आफ्नो निर्वाचन आधार वा भोटबैंक बनाउन खोजे । यहीनेरबाट ध्रुवीकरण बढ्यो । उनले विभाजनलाई प्रेरित गरे । उनका यावत नीतिहरूबाटै प्रष्ट हुन्थ्यो कि उनी अमेरिकाको एक भागको लागि काम गर्दैछन्, सम्पूर्ण अमेरिकाको लागि काम गर्दै छैनन् ।

तर, ट्रम्प प्रवृत्ति नै अमेरिकी प्रवृत्ति हो भन्न चाहिँ मिल्दैन । निश्चय नै ट्रम्पले विभाजन र ध्रुवीकरणलाई प्रेरित गरे तर हारे पनि । यसपाली अमेरिकीहरूले जो बाइडेन र कमला ह्यारिसलाई जिताएका छन् । यही कारणले ट्रम्पले अन्तिमसम्म चुनावी परिणाम अस्वीकार गर्ने प्रयत्न गरेका हुन् । तर, ट्रम्पको कुरा धेरै रिपब्लिकन नेता तथा सिनेटरहरूले नै अस्वीकार गरे । यसको अर्थ हो कि अमेरिकामा लोकतन्त्रको भावना अझै मरेको छैन ।

जस्तो कि नयाँ राष्ट्रपति निर्वाचित जो बाइडेन भन्दैछन् कि उनी कुनै एउटा पक्षको राष्ट्रपति हैनन्, सबैका राष्ट्रपति हुन्, त्यसले लोकतन्त्रलाई जीवितै राखेको मान्न सकिन्छ । भलै कि ट्रम्पले लोकतन्त्रलाई एक हदसम्म ध्वस्त गर्ने प्रयत्न गरे ।

यसो हुनुको मुख्य कारण आर्थिक हो । ट्रम्पको नाराले मुख्यतः बेरोजगार गोराहरूलाई छुन्थ्यो । उनीहरूलाई लाग्यो कि उनीहरूको रोजगार आप्रवासी र अरुहरूले खोसिरहेका छन् । अमेरिकामा जुन स्तरको आर्थिक उन्नति भएको छ, त्यसको फाइदा स्थानीय गोराभन्दा अरुलाई पुगेको छ । अमेरिकी गोरा धेरै लेखपढ गर्दैनन् । भूमण्डलीकरणसँगै उत्पन्न भएका नयाँ ज्ञान, शिक्षा र प्रविधि चाहिने पदहरूमा उनीहरू कमै हुन्छन्, यो स्थितिले जुन चित्र सामुन्ने आउँछ, ट्रम्पले त्यही भावनाको राजनीतिक शोषण गर्ने प्रयत्न गरे ।

सन् २००८ पछि नै अमेरिकामा आर्थिक संकट देखिन थालेको हो । तर, त्यतिखेर नश्लीय विभाजन चाहिँ थिएन भन्ने हैन । अमेरिकामा गोरा र कालाको विभाजन धेरै पुरानो हो । बाराक ओबामाकै कार्यकालमा पनि अनेक चर्चा र आंशका गरिन्थ्यो । काला राष्ट्रपतिलाई के काम गर्न देलान् भनिन्थ्यो । उनको नाम, धर्म र पैत्रृक देशसँग जोडेर चर्चा हुन्थे ।

अमेरिकालाई एकीकृत राख्न अब्राहम लिङ्कनले धेरै मेहनत र योगदान गरे । तर नश्लीय प्रवृत्तिको अन्त्य हुन भने सम्भव भएन । त्यो भित्रभित्रै सल्किँदै रह्यो । र, त्यसैको एक खतरनाक रुप बनेर ट्रम्प प्रवृत्तिको उदय भयो । अमेरिकी समाज र अर्थतन्त्रमा जुन दरार छ, त्यो कसरी अघि बढ्छ, त्यसैमा धेरै कुरा निर्भर गर्दछ । यो दरार कम गर्न जो बाइडेन सफल भएनन् भने यो दरार झनै विभत्सरुपमा प्रकट हुन सक्दछ । यदि बाइडेन सफल भए भने अमेरिकी लोकतन्त्रको भावना पुनर्स्थापित हुनेछ ।

अमेरिकामा त्यो प्रवृत्ति थियो र नै ट्रम्पले त्यसलाई सुदृढ र मजबुत गर्न सके । उनले करिब ७ करोड ४० लाख भोट पाए, त्यसको एउटा सानो अंश भेला भयो भने पनि ठूलो भीड त हुनै नै भयो । तर, यहाँनेर ध्यान दिनुपर्ने कुरा के छ भने ट्रम्पका यो ध्वंसात्मक प्रवृत्तिलाई रिपब्लिकन पार्टीले एकमुष्ट भएर साथ दिन चाहेन । धेरैले उनको साथ छोडे ।

अर्को ट्रम्पको आव्हानमा जम्मा हुने भीड जति नै ठूलो किन नहोस्, त्यो बहुमत हैन । ट्रम्पले राजनीतिक फाइदाका लागि यो प्रवृत्तिलाई पक्षपोषण त गरे, तर सोच्नुपर्ने कुरा के छ भने के यो प्रवृत्तिले समाजमा साँच्चै जरा गाँडेको छ ? कि ट्रम्पको उक्साहटमा मात्र यो सबै भइरहेको छ । यदि समाजमै जरा गाडेको छ भने भविष्य पनि निक्कै जोखिमपूर्ण हुनेछ ।

रिपब्लिकन पार्टी यो मुद्दामा विभाजित छ । त्यहाँ दुवै खाले मान्छे छन् । धेरै रिपब्लिकन गभर्नरहरूले ट्रम्पको दवाबका बाबजुद निर्वाचन परिणाम अस्वीकार गर्न मानेनन् । संसारका सबै राजनीतिक दलमा यो दृष्य देखिन्छ । एकखाले मान्छेहरू शक्तिको आडमा बस्न मन पराउँछन् । एक खाले मान्छेहरू नियममा हिंड्न चाहन्छन् । रिपब्लिकन पार्टीमा पनि त्यही स्थिति छ । यस्तो अमेरिकाको रिपब्लिकन पार्टीमा मात्र हैन, संसारका सबै ठूला पार्टीमा हुन्छ ।

ट्रम्पमाथि थुप्रै आरोप लगाउन सकिन्छ । सबैभन्दा ठूला दुईवटा आरोप हुन सक्दछन् । पहिलो– जुन निर्वाचन प्रक्रियाबाट अघिल्लो पटक उनी जितेर आएका थिए, त्यसैप्रति उनले अनेक आशंका र अविश्वास व्यक्त गरे । अकारण निर्वाचन परिणामप्रति जनतामा अविश्वास सृजना गर्नु लोकतन्त्रमा एक प्रकारको देशद्रोह हो । अर्को उनले हिंसाका लागि मानिसलाई प्रोत्साहन गरे । संवैधानिक निकायमाथि हमला गर्न प्रेरित गरे ।

यसबापत् उनलाई महाअभियोग लगाउन सकिन्छ । अझ अमेरिकी संवैधानिक प्रावधानअनुसार मन्त्रीपरिषद र उपराष्ट्रपतिले एक स्वरमा राष्ट्रपति असक्षम भएको निष्कर्ष निकाल्छन् भने उसलाई तुरुन्तै पनि हटाउन सकिन्छ । तर अब जनवरी २० टाढा छैन । १० दिन बाँकी छ । जनवरी २० मा बाइडेनको सपथ ग्रहण हुनेछ । तसर्थ यसबीचमा नै ट्रम्पलाई हटाउने कुरा अव्यवहारिक हुन सक्दछ ।

नयाँ सरकारले उनीमाथि हिंसा भड्काए वापत मुद्दा लगाउन सक्दछ । जेल जानु पर्ला नपर्ला त्यो दोस्रो प्रश्न हो । त्यहाँनेर अदालतको कुरा हुन्छ । तर प्रथम दृष्टिमा उनीमाथि हिंसा भड्काएको आरोपमा मुद्दा लगाउन सकिने ठाउँ छ ।

रिपब्लिकन पार्टी सायद अब नयाँ ध्रुवीकरण हुनेछ । त्यहाँ नियम र शक्तिको संघर्ष हुनेछ । अहिले रिपब्लिकन पार्टी जहाँ छ, त्यही बिन्दूमा रहन सक्दैन । रिपब्लिकन पार्टीमा अब के हुन्छ, कस्तो नेतृत्वको उदय हुन्छ, त्यो त हेर्न पर्दछ, त्यही अनुरुप रिपब्लिकन पार्टीको चरित्र बन्दै जान्छ ।

ट्रम्पले अझै जनतालाई भड्काउन छोड्ने छैनन् । तसर्थ बाइडेन र कमला ह्यारिसलाई काम गर्न सजिलो छैन । तथापि करिब ५ महिना जति हामीले पर्खेर हेर्नुपर्छ कि अमेरिकी राजनीतिमा के कस्तो प्रवृत्ति हावी हुन्छ ।

(सत्यहिन्दीमा आशुँतोषसंग भारतीय प्रोसेफर एसडी मुनीले गरेको कुराकानीको भावानुवाद)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay