scheduleबुधवारमाघ १४ गते, २०७७

लोकतन्त्रको ‘जतन’ गर्ने कि आफैं ‘पतन’ हुने हो प्रधानमन्त्रीज्यू ?

अभि गाउँले

‘काशी जाने कुतिको बाटो’ भन्ने त सबैले जाने-सुनेकै उखान हो । अहिलेको नेपालको राजनीति र यसको कार्यदिशा लगभग यसैको पेरिफेरिमा लपेटिएको छ । घरको मुलद्वारको ढोका खोल्न र बन्द गर्न ताल्चा र चाबीसँगै निर्माण गरिएको हुन्छ । ताल्चा वा चाबीमा कुनै एक हरायो भने बजारमा छुट्टाछुट्टै किन्न पाइँदैन अर्थात् त्यसको सेटै फेर्नु पर्दछ । यहाँ त्यस्तै भएको छ सायद । रगतको अतुल्य मूल्य तिरेर ल्याएको जनताको व्यवस्था धरासायी बन्न पुगेको छ । गणतन्त्रले देशको समृद्धि गराउने प्रशस्त मार्गहरू तय गरेको छ तापनि हामी दोबाटोमा अलमलिएका छौं ।

आजकल यस्तो लाग्न थालेको छ कि व्यक्तिगत प्रयोजनका निम्ति मात्र यो राजनीतिक वृत्तले गणतन्त्र ल्याएको हो न कि यसको स्वामित्वभार लिनका लागि । आफूलाई लोकतन्त्रको मसिहा ठान्नेहरूले नै इतिहासको विभिन्न कालखण्डमा अराजकता र अस्थिरतालाई निम्ता दिएका थुप्रै घटनाका फेहरिस्त बताउन यहाँ त्यति सम्भव नहोला ।

२०५९ साल जेठ ८ गते राति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो इतर समूहलाई ठेगान लगाउन र पार्टी विभाजन गराउन राजा ज्ञानेन्द्रसमक्ष प्रतिनिधिसभा विघटनका लागि सिफारिस गरेका थिए । अहिले कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन र शेरबहादुरको त्यो संसद विघटनबीच तात्विक फरक नभएको बुद्धिजीवीहरूको विश्लेषण छ । दुवैले पार्टीभित्रको आन्तरिक कलहको चाप थेग्न नसकेर संसदलाई रीसको शिकार बनाएको कुरा कतै छिपेको छैन । यस हिसाबले यी दुई पात्रलाई एउटै दर्शनढुङ्गाबाट निस्केको दुइटा झिल्का मान्न र भन्न सकिने आधारस्तम्भ छ ।

विश्व भू-राजनीतिक अवस्थाको एकप्रकारको धमिलो दृश्यकाबीच विकास भएको नेपालको पछिल्लो राजनीतिक घटनाक्रम शताब्दीकै लजास्पद विषय बन्न पुगेको छ । जनता सार्वभौमसत्ता सम्पन्न भएको बलियो शासन व्यवस्थामा पनि देशको यो दुर्गति होला भन्ने सायदै कल्पना गरिएको थियो । गत पौष ५ मा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेयता नेपालको राजनीति थप संकटबाट गुज्रिरहेको छ । देशलाई निकासा दिन खटाइएका पात्रहरूकै कारण राजनीतिक गतिरोध उत्पन्न भएको छ ।

खड्गप्रसाद ओलीले सनकका भरमा संविधानको विभत्स हत्या गरेका छन् । कलिलो-मलिलो संविधानको हातखुट्टा बाँधेर करणी गरिसकेपछि कालो कर्तूत ढाक्न ओलीले रगतपच्छे गराएका छन् । अचेत अवस्थामा रहेको संविधानको शरीर अदालतको ढोकामा लम्पसार परिरहेको छ । अदालतका भुइँहरू रक्ताम्य भएका छन्, तैपनि संविधानको अन्तिम व्याख्याता अदालतले आनाकानी गर्दैछ । सायद ‘गोङ्गबु हत्या प्रकरण’ मा परिचालित जोजो कुकुर भएको भए सुंघेरै अपराधी पत्ता लगाउँथ्योहोला तर न्यायमूर्तिहरू असली मूर्तिझैँ चुपचाप देखिन्छन् । देशको भविष्य अन्धकारमय बनिरहेको बेला श्रीमानहरूको स्वविवेक प्रयोग हुन जरुरी छ ।

अभि गाउँले

श्रीमान् फेरि भन्छु, संविधानको हत्याराको ‘लिङ्ग छेदन’ गरियोस्, जनतालाई यथाशीघ्र न्याय दिलाइयोस् । नत्र ओली सत्ताको उन्मादमा अर्को ‘कू’ हुने खतरा छ ।

जहाँसम्म जनअदालतको मानमर्दन हुँदैन भने यति भन्ने धृष्टता राखौं कि अदालतको सेटिङमै ओलीले असंवैधानिक कदम चालेका हुन् कि भन्ने शंकाहरू आउन थालेका छन् । अदालतमा विचाराधीन मुद्दामा सत्तारूढ न प्रतिपक्ष, कसैले पनि प्रभावित हुने खालको अभिव्यक्ति दिन हुँदैन र मिल्दैन । तर यहाँ जसले जे मन लाग्यो त्यही बोल्दै हिंडेका छन् । अदालतले पनि पीडकको भन्दा बढी पीडितको कुरा सुनुवाइ गर्नुपर्छ । अहिलेको अवस्थामा संविधानमाथि निर्मम प्रहार गर्ने ओली पीडककै दर्जामा छन् । यस मानेमा प्रचण्ड-माधव र अन्य दलले जति बोल्न पाउने हुन् त्योभन्दा बढ्ता ओली बोल्न पाउन्नन् । किनकि सत्ताको शक्ति उनकै हातमा छ, चाहे जति चलखेल हुनसक्छ, संवैधानिक निकाय प्रभावित हुनसक्छ ।

पूर्वप्रधानन्यायाधीशहरू सुशीला कार्की, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र मीनबहादुर रायमाझीको सामुहिक प्रेस-विज्ञप्तिले पनि ओलीको कदम असंवैधानिक ठहर गरिसकेको छ । थाहा छैन वहाँहरूले यसरी बोल्न मिल्ने हो वा होइन तर अदालतले जुन प्रकारले दवाब र प्रभावमा परेर प्रतिगमनकारीहरूको साक्षी बस्ने गन्ध फैलायो त्यसपछि नैतिक दवाबका लागि पनि र देशलाई दुर्घटनाबाट जोगाउन पनि बोल्ने साहस गर्नैपर्दथ्यो । त्यो वहाँहरूले गर्नुभयो, त्यसका लागि जनताले धन्यवाद भनेका छन् । ओलीका नन्दीहरु शंकर पोख्रेल र सूर्य थापाहरू अब आत्तिएका छन् । अनेक तिकडम गरेरै यहाँसम्म आइयो अब कुन तुरूप खेल्ने भन्ने चिन्ताले सताएको छ, पिरोलेको छ ।

भनिन्छ, जति डोरी बाटे पनि गाँठो एउटै हो । बिनापूर्वाग्रह स्पष्ट राजनीतिक भाषामा भन्नुपर्दा झलनाथ-माधवको काँधमाथि चढेर प्रचण्डले ओलीको टाउकामै ‘चिर्पट’ हाने । त्यसपछि घाइते ओली भाउन्निएर संविधानको भित्तै फोरेर प्रतिक्रान्तिको बाटोतिर लागे । जे हुनु भैसक्यो अब जेजे हुने हो त्यो पनि जरूर भोग्नु छ । तर पनि राजनीतिक बहस कहाँनेर गएर रोकिएको छ भने के अब संसद ब्युँतिएला ? ओली सच्चिन्छन् कि अझै मच्चिन्छन् ? व्यवस्था नै सकिने त हैन ? जस्ता कैयौं अन्योलताहरू जन्मिएका छन् ।

ओली समूह बाहेक सबै राजनीतिक दलहरू ओलीले गरेको बदमासीविरूद्ध सडकमा उत्रिएका छन् । सडकबाटै संसदको छिनोफानो गर्ने उनीहरूको दाबी छ । सडकको शक्तिले राजालाई प्रजा बनाउन सक्ने अनि जनताले चुनेका तानाशाही खोल ओढेका प्रधानमन्त्री किन हटाउन नसक्ने भन्दै दिनहुँ नाराबाजी र जुलुस साथै विरोधसभा सम्मेलनहरू भैरहेका छन् । यसले यो पनि संकेत गरिरहेको छ कि अबको राजनीतिक बाटो र उन्मुक्ति त्यति सहज पक्कै छैन, यो सतहमा आएको सत्यता हो ।

महामारी र राजनीतिक संक्रमण एकैसाथ हुँदा असको परिणाम असामान्य हुने नै भो । नेपालमा अझै पचास वर्ष शासन चलाउंछौ मै हुँ भन्ने कम्युनिष्टहरूको अहमवाद पाँच वर्ष नपुग्दै एकता मात्र हैन सिद्धान्तत: स्वाहा भैसकेको अवस्था छ । विश्व कम्युनिष्ट आन्दोलनका एक होनहार नेता कार्ल मार्क्स र माओको जीवन दर्शन र राजनीतिक सिद्धान्तलाई आत्मसात् गर्न नसक्दा नेपाली कम्युनिष्ट आन्दोलनको यो हविगत भएको हो ।

गरिबी र अभावको कोखबाट जन्मिएर समयचक्रमा त्यही कम्युनिष्ट सम्भ्रान्त वर्गमा रूपान्तरण हुने र सधैं सिद्धान्तको व्यापारी बन्ने यो कस्तो नियत ? हाम्रो कस्तो नियति ? कार्ल मार्क्सहरू जीवितै रहेको भए नेपालका कम्युनिष्टहरू खहरेझैं विलय भइसक्थे/हुन्थे । यिनीहरूको देश लुट्ने र आपसमा टुट्ने-जुट्ने नौटंकी जनताले निरीह बनेर हेर्नुपर्ने थिएन होला ।

नेकपाको कुन कित्ताले सूर्य चिह्नको वैधानिकता पाउला र कथित निर्वाचनमा त्यसैमा मतदान गरूँला भनेर कुनै पनि जनता कुरिरहेका छैनन् । ओली र माधव-प्रचण्डमध्ये को बन्ला असली पार्टी भन्ने पर्खाइमा पनि देखिन्नन् । जनतालाई केवल आफ्ना प्रतिनिधिसँग भलाकुसारी गर्ने र आफ्ना समस्याहरू पोख्ने चिन्ता छ ।

दुई तिहाइसहितको सार्वभौम संस्था संसद पुनःस्थापनको बाटो हेरिरहेका छन् । देशमा शान्ति र स्थायित्व चाहिरहेका छन् । ओलीले भनेजस्तो वैशाखमै चुनाव हुने कुरामा राजनीति दलहरू नै सशंकित छन्, जनताले झन् कुन आधारमा विश्वास गर्ने ? प्रधानमन्त्रीले धारावाहीरूपले संविधानका धाराहरू भत्काउँदै आएका छन्, बाँकी रहेका गणतन्त्रका संरचनाहरू पनि ओलीको निशानामा परेका छन् कि भन्ने त्रास कायमै छ तर त्यो जनबलले निस्तेज पार्नुपर्छ ।

तानाशाहहरूले लोकतन्त्रलाई ‘मुठ्ठीको माखो’ बनाउने दुस्साहस गर्छन्, अन्ततः जनताको अगाडि घुँडा टेक्नैपर्ने दिन पनि आउँछ । जुन व्यवस्थाको जगमा टेकेर प्रधानमन्त्री बनेको छ त्यै व्यवस्थाको हुर्मत् लिने नैतिकता केपी ओलीलाई छैन । अन्तर मनबाटै प्रश्न गर्दैछु, साँच्चिकै गणतन्त्रको जतन गरेर समृद्धिको नवीन यात्रा तय गर्ने कि व्यवस्थासँगै आफू पनि पतनको बाटो रोज्ने प्रधानमन्त्रीज्यू ? यो जनजनको प्रश्न र अनुनय हो । यसमा उत्तर आओस् या नआओस् तर प्रधानमन्त्रीले ठण्डा दिमागले बिस्तारामै लोटेर भए नि मनन गर्नुपर्छ ।

कहिलेकाही प्रधानमन्त्री ओलीको भाषण सुनेर तनावमुक्त हुने कोसिस पनि गर्छु । निकै रोचक अनि घोचक लाग्छ प्रधानमन्त्रीको बोली । वाककला र तर्क गर्ने शैलीको त म फ्यानै हु । अनेक उखान टुक्का जोडजाम गरेरै भए नि विरोधी/विपक्षीलाई भित्तामै पुराउने भाषणकला निकै प्रशंनीय छ । तर देशको कार्यकारीले हास्य कलाकारको जागिर त खोस्न मिलेन नि मौसुफ ? मनोज गजुरेलहरूको ‘कमेडी च्याम्पियन सिजन टु’ चल्न लागेको बखत प्रधानमन्त्रीले कार्यकर्ता भेला गर्दै कमेडी सो गर्दै कार्यक्रम जुधाउन भएन, यो पटक्कै सुहाउँदैन । अन्तमा, जनमतमाथि कुठाराघात गरेर फेरि जनमत माग्न पाउने तपाईं भाग्यमानी कामचलाउ प्रधानमन्त्री ।

महामहिम राष्ट्रपतिलाई ‘उठबस’ गराउन सक्ने ल्याकत भएको शक्तिशाली प्रधानमन्त्री । छत्तीस महिना संविधानलाई ‘सुगारटाइ’ गर्ने तर कार्यान्वयनमा आलु खाने ‘ताक्लु’ प्रधानमन्त्री । वाह ! कामचलाउ सरकारका नामचलाउ र बदनामी प्रधानमन्त्री । छिमेकीका सबै नागरिकले चिन्ने नाम केपी शर्मा ओली । यस्तै मति लिँदै जाने हो भने प्रधानमन्त्रीले आफू ‘पुरिन’लाई अझै केहि इन्च जमीन खन्नैपर्ने छ, ‘कुटोकोदालो’ त आफ्नै हातमा छ क्यारे !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay