scheduleसोमवारबैशाख ६ गते, २०७८

सजिला छैनन् प्रचण्ड-माधव समूहका चुनौतीहरु

साझापोष्ट विश्लेषण

काठमाडौं, २६ पुस । पुष ५ गतेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमपछि देशको राजनीतिमा असाधारण क्रमभङ्ग र केन्द्रभङ्ग भएको छ । क्रमभङ्ग यसर्थमा कि नेकपाभित्रको अन्त्यहीन किचलोले मानिस वाक्कदिक्क भएका थिए । कुनै परिणाम नआउने ‘बैठकदेखि बैठकसम्म’ को समाचार अर्थहीन थिए ।

करिब ७० वर्षको इतिहासमा पहिलो एकल बहुमत प्राप्त कम्युनिष्ट पार्टीप्रति जुन आकांक्षा र अपेक्षा थिए, ती शिथिल भएका थिए । ‘कम्युनिष्ट घोषणापत्र’ देखि ‘नेकपा स्थापनाको घोषणपत्र’ सम्मका अवधारणा र झण्डै दुईतिहाई बहुमतको कम्युनिष्ट सरकारबीच कुनै तारतम्य थिएन । कम्युनिष्ट आन्दोलनका भाष्य र उद्देश्यहरु एकातिर थिए, नेकपाको प्रचण्ड बहुमतको सरकार अर्कोतिर थियो ।

यो विरोधाभाषमा प्रधानमन्त्री केपी शर्मा ओली मात्र एक्ला दोषी र जिम्मेवार थिएनन् । निश्चय नै नेकपाको प्रथम अध्यक्ष र प्रधानमन्त्रीको रुपमा ओलीका जिम्मेवारी र दायित्वहरु बढी थिए । तसर्थ, अपजसमाथि ओली समूहको अंशियारी पनि बढी थियो र छ । यही कारणले हुनु पर्दछ, अहिलेको बिषम स्थितिका लागि जनता, नागरिक समाज, बौद्धिक वर्ग र विपक्षी दलहरुले समेत प्रचण्ड–माधव समूहभन्दा ओली समूहलाई बढी जिम्मेवार ठानिरहेको छ ।

आज जनअसन्तोषको केन्द्रमा ओली छन् । उनको राज्य सञ्चालन गर्ने सोच र कार्यशैली आलोचनाको केन्द्रमा छ । नागरिक समाज, बौद्धिकवर्ग र विपक्षी दलहरूले उनैलाई तारो बनाएका छन् । तर, यसको अर्थ यो हुँदैन कि यी यावत घटनाक्रममा प्रचण्ड–माधव पक्ष विल्कुल निर्दोष थियो । प्रचण्ड–माधव सही र ओली खराब भएर यो परिणाम आएको हैन ।

बरु ओलीको खराब सोच र शैलीलाई राजनीतिक हिसाबकिताबको तुलोमा राखेर लामो समयसम्म साथ दाहाल–नेपाल समूहले समेत साथ दिएको कारणले ओली यो स्तरको क्षति गर्न सक्ने स्थितिमा पुगेका हुन् । यो क्रम कुनै न कुनै विन्दूमा टुट्नु नै थियो, तसर्थ क्रमभङ्गता जरुरी थियो ।

‘केन्द्रभङ्ग’ यसर्थमा विशालकाय कम्युनिष्ट पार्टी क्षतविक्षत भएको छ । एमाले र माओवादी केन्द्रको एकतापछि संगठनात्मक हिसाबले जुन आकार, फैलाव र प्रभावको पार्टी बन्यो, त्यत्रो राजनीतिक दल त्यसअघि यो देशमा कहिल्यै बनेको थिएन । संगठनात्मक क्षमता र जनस्तरको प्रभावलाई मात्र हेर्दा यो दलले देशमा दशकौं लामो शासन गर्न सक्ने तर्क अस्वभाविक थिएन ।

तर, राजनीति भनेको केवल दलको आकार, पार्टी सदस्यता संख्या र संगठनहरूको जालो मात्र हैन । राजनीतिमा यी चिजहरू साधन हुन्, साध्य हैनन् । साध्य भनेको लक्ष्य हो, उद्देश्य हो, योजना, नीति र कार्यक्रम हो । किन र केका लागि यति ठूलो कम्युनिष्ट पार्टी ? नेकपाको लक्ष्य र उद्देश्य प्रष्ट थिएन । अमूर्तरुपमा जनताको जनवाद, समाजवाद, साम्यवादको कुरा गरिए तापनि ती ठोस र कार्यक्रमवद्ध थिएनन् । गर्नुपर्ने कामको प्राथमिकता प्रष्ट थिएन । गर्न के चाहेको हो भन्ने कुरा मै अलमल थियो ।

विचार र एजेण्डा केन्द्रित हुनुपर्ने सत्ताधारी दलको सम्पूर्ण शक्ति अन्ततः व्यक्ति, पद र पहुँचको द्वन्द्वमा फस्यो । आधाआधा कार्यकाल प्रधानमन्त्री हुने सम्झौता, नेताहरूको मर्यादाक्रम, मन्त्री र राष्ट्रियसभा सदस्य हुने होड र राजनीतिक नियुक्तिमा आन्तरिक भागबन्डा मिले नमिलेको कुरा विवादको केन्द्रमा आए । जब पार्टी केन्द्रको प्राथमिकतामा यस्ता चिजहरू बन्दै गए, पार्टीको केन्द्रीय शक्ति भने भङ्ग हुँदै गयो ।

पार्टी कार्यकर्ताको एउटा पङ्क्ति आज यता वा उता लागेर आआफ्ना नेता, समूह वा गुटको जयजयकार गरिरहेको होला । एकअर्कालाई छ्यास्ने वा तास्ने रणनीति अन्तर्गत गाली गरिरहेको होला । तर त्यो प्रमुख कुरा हैन । नेकपा समर्थकहरूको ठूलो पङ्क्तिको मन अहिले कुँडिएको छ । उनीहरूको हृदयमा दुवै समूह वा गुटप्रति खासै रुचि र श्रद्धाभाव बाँकी छैन । यदि ठूलो कम्युनिष्ट पार्टी बन्दा, झण्डै दुईतिहाईको एकल बहुमत ल्याउँदा त केही नापिएन, अब फुटेका ससाना समूहले खै के लछारपाटो लगाउलान् भन्ने भावना बढेको छ ।

तर नेकपाको केन्द्रभङ्गताले निर्माण गरेको शक्तिहीनताको स्थितिलाई समेट्ने, त्यो ठाउँ लिन सक्ने अन्य कुनै पार्टी वा शक्तिले अहिलेसम्म उदित भएको छैन । निश्चय नै त्यो ठाउँ लिनका लागि केही दलहरूले प्रयास अघि बढाएका छन् । नेकपाको विरक्तलाग्दो विभाजनपछि विपक्षी दलहरू नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा र विवेकशील साझालाई केही न केही मात्रामा राजनीतिक फाइदा हुनेछ । तर, यो फाइदा अझै मात्रात्मक प्रकृतिको छ, गुणात्मक बन्न सकेको छैन ।

यो नयाँ स्तरको क्रमभङ्गता र केन्द्र भङ्गतापछि नेकपाका दुवै समूहहरू राजनीतिक अस्तित्व रक्षाको लडाइँमा सामेल हुन बाध्य भएका छन् । घटनाक्रमको पेचिलोपन पनि त्यस्तै देखिन्छ । राजनीतिक कोर्स र प्राविधिक पक्षहरूले दुई समूहको अस्तित्व र आकारमा ठूलो भिन्नता ल्याउन सक्दछ ।

निर्वाचन चिन्ह सूर्य पनि पाउने, सरकार पनि आफैसँग हुने र सर्वोच्च अदालतले प्रस्तावित निर्वाचनको मिति पनि सदर गर्दिने हो भने प्रचण्ड–माधव समूहमाथि ओली समूह हावी हुने निश्चित देखिन्छ । यद्यपि यी कुनै पनि कारण राजनीतिक, वैचारिक र एजेण्डागत नभएर प्राविधिक मात्र हुन् । कम्युनिष्ट पार्टीको ७० वर्ष लामो स्कुलिङ र शिक्षापछि पनि पार्टीको ठूलो पङ्क्ति अझै विचार र एजेण्डाभन्दा प्राविधिक नाफाघाटामुखी रहेको यसले पुष्टि गर्दछ । धेरै कम्युनिष्ट कार्यकर्ता र समर्थकहरू अहिले निर्वाचन चिन्ह कस्ले पाउँछ, मूलधार कुन समूहलाई मानिन्छ भनेर नखुली पर्खेर बसेका छन् ।

तर, सम्भावनाको अर्को पाटो पनि छ । निर्वाचन चिन्ह सूर्य प्रचण्ड–माधव समूहले पाएमा र सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्गठनको निर्णय गर्दिएमा ओली समूहको झनै, कन्तबिजोक हुन सक्दछ । त्यस्तो भएमा ओली समूहले प्रचलित राजनीतिक दल सम्बन्धी ऐन अनुरुप संसदीय दल र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत पुर्‍याएर नयाँ दललाई बैधानिकता दिनु पर्ने हुन्छ । संसद पुनस्र्थापनापछि पद जोगाउँन धेरै साँसदहरू प्रचण्ड–माधब समूहमा फर्किन सक्दछ । विभाजनको सुविधासहितको नयाँ दल र त्यसको संसदीय दल स्थापित गर्न ओली समूहलाई हम्मेहम्मे पर्न सक्दछ ।

नेकपाका मुख्य दुई समूहमध्ये भबिष्यमा कुन समूह ठूलो होला भन्ने कुरा निर्धारण गर्ने यी प्राविधिक पक्षहरूलाई एक क्षण पर सार्ने हो भने विचार र एजेण्डाले दुवै समूह उस्तै देखिन्छन् । दुवै समूहको मुख्य भेद कार्यशैलीमा देखिन्छ, विचार र एजेण्डामा हैन ।

दुवै समूह आफूलाई ‘कम्युनिष्ट’ भन्दैछन् । दुवै समूहले आफूलाई ‘मार्क्सवादी–लेनिनवादी’ दावी गर्दछन् । पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको विरासतप्रति दुवै समूहको दाबी छ । दुवै समूहका नेताहरूको यो संविधानप्रतिको धारणा समान थियो । दुवै समूह गत निर्वाचनको घोषणापत्रप्रति इमान्दार थिएनन् । दुवै समूहले संविधान जारी गर्दा बखतका असन्तुष्टिप्रति उस्तै दृष्टिकोण राख्दै आएका थिए । दुवै समूहका नेताहरूको आर्थिक सोच, व्यवहार र जीवनशैलीमा खासै भिन्नता देखिन्नँ ।

एक्काइशौं शताब्दिको सुसंस्कृत लोकतन्त्र, लोकतान्त्रिक संस्कार, पारदर्शी जीवनशैली र आर्थिक प्रणाली, शासकीय स्वरुप परिवर्तन, संघीयता र प्रदेश पुनर्सीमाङ्कन, भाषिक, सांस्कृतिक लगायतका सीमान्तकृत समुदायको अधिकारको प्रत्याभूति, भ्रष्टाचार निरोधक अंग र अवयवहरूको संरचनात्मक सुधारजस्ता सवालमा ओली समूह र प्रचण्ड–माधव समूहका सोचबीच कुनै भिन्नता अहिलेसम्म देखिएको छैन ।

माधव नेपाल, झलनाथ खनालको भन्दा प्रचण्डको राजनीतिक नियति यहाँनेर अझ बढी समीक्षा योग्य छ । उनका लागि ओली कुनै नचिनेका इष्ट थिएनन् । महाकाली सन्धि यता सबैजसो राष्ट्रिय सवालहरूमा दक्षिणपन्थी अडान र रुझान राख्दै आएका, जनयुद्ध, मधेश जनविद्रोहलगायतका सबैजसो क्रान्तिकारी आन्दोलनहरूविरुद्ध बिषवमन गर्दै आएका ओलीसँग नाटकीय पार्टी एकता गर्दैगर्दा प्रचण्डले आफ्नै वैचारिक निष्ठा, इतिहास, विरासत र एजेण्डालाई कुनै मूल्य, माने र महत्व दिएका थिएनन् ।

एउटा भिन्नै कम्युनिष्ट पार्टी चलाइरहनु पर्ने व्यवहारिक झंझटमा मुक्त हुने र आधा कार्यकाल प्रधानमन्त्री खाने लोभ बाहेक पार्टी एकताको अरु कुनै वस्तुगत, नैतिक र वैचारिक आधार थिएन । प्रचण्ड जत्तिको उचाई भएको नेताका लागि यो स्तरको आत्मसमर्पण वाञ्छित हुँदैनथ्यो । यस्तो काम सीपी मैनाली, नारायणमान बिजुक्छे, मोहनविक्रम सिंह, मोहन वैद्य, नेत्रविक्रम चन्द जत्तिका नेताले त गरेनन्, प्रचण्डबाट ओलीज्मसामु आत्मसपर्मण कसैले कल्पना गरेको थिएन ।

जतिसुकै फुलबुट्टा भरिए पनि एमाले–माओवादी एकता प्राकृतिक र राजनीतिक देखिँदैनन्थो, त्यो प्रचण्ड संघर्षदेखि हार खाएर विजातीय चरित्रका ओलीको टाङमुनी छिर्न गएजस्तो मात्र देखिन्थ्यो । राजनीतिमा मान्छे आफ्नो निष्ठा र एजेण्डका लागि एक्लिन सक्छ, मारिन सक्छ, हार्न सक्छ तर आत्मसमर्पण गर्दैन, कम्तीमा प्रचण्डले त्यसो गर्दैनन् भन्ने जुन सोच प्रचण्डबारे जनस्तर थियो, अब त्यो छैन । नेपाली समाजले प्रचण्डलाई एक औसत नेताका रुपमा हेर्न थालिसकेको छ, जसले राजनीतिक फाइदा, बेफाइदाका लागि जुनकुनै बेला जस्तो सुकै सम्झौता गर्न सक्दछन् भन्ने मानिसका मनमा परिसकेको छ ।

नेपाली राजनीतिमा माधव नेपालको न भूमिका कम छ न धुमिलता । कोअर्डिनेशन केन्द्रदेखि मदन भण्डारी अभावमा पनि एमालेको दीगो उपस्थिति उनको राजनीतिक जीवनको महत्वपूर्ण योगदान हो । तर, कतिपय घटनाक्रममा उनी विवादित पनि छन् । विशेषतः पछिल्लो राजनीतिक विकासक्रम, युवापुस्ताको अपेक्षा, सीमान्तकृत समुदायका आन्दोलनहरूप्रति उनी त्यतिधेरै सकारात्मक र शिक्षित लाग्दैनन् । संघीयता र समावेशिताको सवालमा उनका सोच ओलीको भन्दा खासै फरक छैनन् । तसर्थ आजको युवापुस्ता, बौद्धिक वर्ग र सीमान्तकृत समुदायले माधव नेपालको व्यक्तित्वलाई कुनै ‘नयाँ करिष्मा’का रुपमा हेर्ने सम्भावना निक्कै कम छ ।

दाहाल–नेपाल–खनाल राजनीतिक जीवनको उत्तरार्धतिर छन् । आफ्ना उत्तराधिकार र युवापुस्ताबारे अझै उनीहरू आश्वस्त छैनन् । गलत राजनीतिक दृष्टिकोण र शैलीका बाबजुद बरु ओलीमा एक प्रकारको व्यवहारिक गतिशिलता देखिन्छ तर दाहाल–नेपाल–खनालको गत्यात्मकताको लय विश्रृंखलित भइसकेजस्तो लाग्दछ ।

ओली र दाहाल–नेपाल समूहमध्ये कुन ठूलो हुन्छ, त्यो कम्युनिष्ट कार्यकर्ता र गुटसंग व्यक्तिगत राजनीतिक भविष्य जोडिएका मान्छेहरू बाहेक अरुका लागि खासै महत्वको कुरा हैन । जुन गुट ठूलो भए पनि एउटा कम्युनिष्ट पार्टी देशमा रहने हो । त्यससँग वैचारिक तथा राजनीतिक संघर्ष र सहकार्य गर्नुपर्नेहरूका लागि जुन गुट भएपनि उस्तै हो । किनकी यी दुई गुटबीच विचारधारात्मक तथा एजेण्डागत भिन्नताको सीमारेखा कोर्न सजिलो छैन ।

तत्काललाई ओलीतन्त्र विरुद्ध जनमत केन्द्रित हुनु स्वभाविक हो, किनकी ओली सत्तामा छन् र उनैले निर्वाचित प्रतिनिधिसभा विघटन गराएका छन् । यति मात्र कारणले प्रचण्ड–माधव समूहको भविष्य दीगो र सुनिश्चित हुन सक्दैन । त्यसका लागि उनीहरूले आफ्नो समूहको आन्तरिक जीवन र विचार पद्धतिमा नयाँ मोड पनि दिन सक्नु पर्दछ । अन्यथा प्रचण्ड–माधव समूह सामुका चुनौतिहरू झनै अग्ला र अनुउल्लंघनीय हुँदै जानेछन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay