scheduleबुधवारमाघ १४ गते, २०७७

मेगा बैंकद्वारा १३.०५ प्रतिशत लाभांश पारित

काठमाडौं, २९ पुस । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस शेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारणसभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो । यसैगरी, साधारणसभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा बोल्दै मेगा बैंक सञ्चालक समितिका अध्यक्ष शाहले आर्थिक बर्ष २०७६/७७ को शुरुको आठ महिना देशको अर्थतन्त्र राम्रै भए पनि त्यसपश्चात कोभिडको महामारीका कारण प्रतिकुल असर परेकाले नेपालको बैंकिङ क्षेत्रले पनि चुनौती भोगिरहेको बताए । ‘हाल बजारमा अधिक तरलता रहेको अवस्था छ, जसले गर्दा कर्जा तथा निक्षेपको ब्याजदर घटिरहेको छ भने त्यसको प्रभाव स्वरुप आधार दर पनि घट्दै गइरहेको हुँदा कर्जाको ब्याजदरमा तीव्र प्रतिस्पर्धाको अबस्था छ,’ अध्यक्ष शाहले भने, ‘कर्जामा घट्दो ब्याजदरले प्रभावित ब्यवसायीहरुको कारोबारलाई मलम लगाउने कार्य त गरेको छ । तर, यसले बैंकिङ क्षेत्रमा ब्याजदर जोखिम समेत बृद्धि गरेको छ । त्यसैले बिभिन्न जोखिमसँग सम्बन्धित आन्तरिक तथा बाह्य गतिविधिको मेगा बैंकले सुक्ष्म अध्ययन एवं विश्लेषण गरिरहेको छ ।’

बन्दाबन्दीको अवस्थामा पनि बैंकले सर्वसाधारणहरुलाई बैंकिङ सेवा र सुविधाहरु अटुट रुपमा प्रदान गरेको स्मरण गर्दै उनले कोभिड १९ को चुनौतीलाई मध्यनजर गर्दै बैंकले ‘डिजिटल प्रडक्ट विभाग’ को स्थापना गरेको जानकारी दिए । अध्यक्ष शाहका अनुसार, डिजिटल बैंकिङलाई प्रबद्र्दन गर्ने उद्देश्यले मेगा बैंकले ‘डिजिटल ट्रान्सफर्मेशन स्टेरिङ कमिटी’ गठन गरी कार्यान्वयन ल्याएको छ । ग्राहकलाई आफ्नै घरमा बसी भिडियोमार्फत कुराकानी गरी खाता खोल्ने सुविधा स्वरुप मेगा बैंकले नेपालमै पहिलो ‘भिडियो अकाउन्ट ओपनिङ सिस्टम’ समेत सञ्चालनमा ल्याएको उनले बताए ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले कोभिडबाट अन्य व्यवसाय जसरी बैंकिङ क्षेत्र समेत प्रभावित भए पनि मेगा बैंकको वित्तिय परिसचूक सन्तोषजनक रहेको बताइन् । चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैँया पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब रुपैँयाले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैँया पुगेको छ । गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकले बिभिन्न छुट तथा सुविधाहरु प्रदान गरिरहेको जानकारी दिँदै सिइओ खुञ्जेलीले ब्याज रकममा छुट, ब्याजदरमा छुट, किस्ताको भाका अवधि विस्तार, कर्जा पुनर्तालिकीकरण, जरिवाना छुट लगायतले कोभिडबाट प्रभावित ग्राहकहरुलाई राहत मिलेको बताइन् । सिइओ खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैंया सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ ।

बैंकिङ कारोबारसँगै संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि मेगा बैंकले प्राथमिकतामा राखेको छ । ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत प्रत्येक शाखाबाट एक–एक जना छात्राहरुलाई छनौट गरी १२ कक्षासम्मको अध्ययनका लागि ‘एक शाखा-एक छोरी छात्रवृत्ति अभियान’ सुरुवात गरेको बैंकले त्यसलाई निरन्तरता दिँदै २०७७ सालको शैक्षिक सत्रका लागि प्रत्येक शाखाहरुबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ । साथै, कोभिडको विषम परिस्थितिमा नेपाल सरकार तथा सबै प्रदेश सरकारहरुलाई कोभिडको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड र ७ वटै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५–५ लाख रुपैंया गरी १ करोड ३५ लाख रुपैंया सहयोग गरेको छ ।

गत आर्थिक बर्षमा मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गरेपश्चात ५८ वटा जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ । अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०६ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay