scheduleशुक्रवारबैशाख १० गते, २०७८

विधिबाट भागेका प्रधानमन्त्रीको उत्ताउलो भाषण र लोकतन्त्र

अभि गाउँले

प्रधानमन्त्री ओलीले आफ्ना असंवैधानिक चालहरूको मिथ्या प्रशंसा गरेको देख्दा उदेक लागेर आउँछ । जनताको संविधानलाई खच्चर बनाएर व्यक्तिगत अभिलाषाहरूको टनका टन भारी लाद्ने ओली-प्रवृत्तिले देशमा राजनीतिक संकट जन्माइरहेको छ ।

अत्यासलाग्दो राजनीतिको कुइरीमण्डलभित्र वायुपङ्खी घोडा बनेर कहिले पूर्व त कहिले दक्षिणतिर वेग हान्ने नियत सजिलै बुझिएको छ । ओलीले जनताका सामुन्ने ‘म देशकै लागि काम गर्छु’ भन्दै मुन्टो हल्लाउँदै गर्छन् । फेरि उतातिर गएर भगवान ! बिन्ती छ म हजुरको इच्छामा गद्दारी गर्दिन भन्दै पुच्छर हल्लाउँछन् ।

हो, छिमेकीसँग मित्रभाव राख्नु निकै सकारात्मक कुरा हो । भाषणहरूमा ओलीले बारम्बार भन्ने गरेको शब्दावली हो, ‘म भारतसँग असल मित्रता बनाउन चाहन्छु ।’ उसो त नेपाली जनता र कुनै पनि राजनीतिक दलहरूले भारतसँग सैद्धान्तिकरूपमा शत्रुतापूर्ण व्यवहार चाहेका कहाँ हुन् र ? छिमेकी देशहरूबीच नैतिक समानताका आधारमा सम्बन्ध अघि बढाउनु नै एक्काइसौं शताब्दीको आवश्यकता हो । कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपाली भू-भागहरूमा भारतले वर्षौंदेखि आधिपत्य जमाएर खाइरहेको कुरा जगजाहेर छ ।

प्रधानमन्त्रीले यो भन्ने साहस गरून् कि म भारतले नेपालको सार्वभौमिकतामाथि नाङ्गो हस्तक्षेप गरेको सहन सक्दिनँ । मैले जनताकासामु लोकप्रिय बन्न र कथित राष्ट्रवादी हुनका लागि नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको होइन तर स्वाभिमानी जनताले आफ्नो राष्ट्रप्रति बहन गर्नुपर्ने जिम्मेवारी पूरा गरेको हुँ ।

भारतीय सेनाले मातृभूमिको छातीमा विस्तारवादी बुट बजारिरहँदा पनि अझै मित्र नै ठानिरहने प्रधानमन्त्रीको यो उदारता हो कि आत्मसमर्पण ? के मित्रताभित्र समानताले आत्महत्या गरेको हुन्छ र प्रधानमन्त्रीज्यू ? एक ताका नाकाबन्दीका विरूद्धमा बोलेको छु भन्दैमा नेपाली राजनीतिमा सधैं भारतको नाकाबन्दी चुपचाप स्विकार्न सकिन्छ ?

राष्ट्रिय टेलिभिजनका पर्दाहरूमा प्रधानमन्त्रीले चालेका कमदकाबारे जनताले सहजै बुझ्न सक्ने गरी दर्जनौं अन्तर्वार्ताहरू प्रसारण भैसकेका छन् । अखबारहरूमा पनि यसबारेको कटाक्ष, टिप्पणी र लेखहरू छ्यापछ्याप्ती भेटिन्छन् । तैपनि ओली एकतमासले मेरो गोरूको बाह्रै टक्का भने जसरी गर्वका साथ भनिरहेका छन् कि आफूले चालेको कदम विधिसम्मत छ भनेर ।

जतिबेला जे मन लाग्यो त्यही गर्नलाई यो कुनै हुकुमी शासन हैन । यो जनताको शासन हो । जनताको शासनमा जनतालाई प्रताडित गराउने हुकुमत कसैलाई छैन । राणा शासनको बर्बरतामा पनि बोल्न नडराउने पुर्खाका सन्तान ओलीको जङ्गे शासनमा कहिँ डराउछ ? नेपालमा राणा परिवारले वि.सं. १९०३ देखि २००७ सालसम्म चलाएको निरकंशुताविरूद्ध नेपाल आमाका होनहार सपूतहरूले गरेको योगदान इतिहासले सधैं पूजा गर्नेछ ।

यति गर्विलो इतिहासअघि ओलीतन्त्रको त्यस्तो के ह्याउ छ जसले अधिकारसम्पन्न जनतामाथि अत्याचार गरोस् ? एक हुल कार्यकर्ता सडकमा विछ्याएर उरन्ठेउलो गरे पनि त्यसको प्रतिफल रसबरीझैं गुलियो कहाँ होला र !

निर्वाचन आयोग र सम्पूर्ण न्यायालयलाई चुम्बकीय प्रभावमा पारेर आफूलाई शक्तिकेन्द्र बनाउन लागिपरेका छन् ओली । जसरी चुम्बकले आफ्नो चुम्बकीय क्षेत्र निर्धारण गरेर वरपरका फलामयुक्त वस्तुहरूलाई आफूतिर तान्छ त्यसैगरी ओलीले पनि आसेपासे र नोकरचाकरलाई आकर्षण गरेर बलियो बन्ने दाउपेच गरिरहेका देखिन्छन् । सत्तालाई फलामे कुर्सी बनाउने मनासायले जतिलाई फलाम सम्झेर आफूतिर तानेका छन्, ती असली फलाम नभएर खिया हुन् जसलाई ‘फलामको फोहोर’ पनि भन्ने गरिन्छ ।

समयको अन्तरालमा ओलीको आकर्षण शक्ति शून्य हुँदा ती सबै असरल्ल पर्ने छन्, छेउ न टुप्पोका बन्नेछन् । अझ ओलीको चुम्बकीय गुणले ‘जनयुद्धका सुन’लाई पनि आफूतिरै तानेको छ, आजसम्म सुनसँग चुम्बवको आकर्षण भएकै छैन, हुनै सक्तैन । जनयुद्धलाई कुहिएको फर्सीसँग तुलना गर्नसक्ने ओलीले भोलि बादल, रायमाझी र भट्टलाई पिसेर तेल निकाल्दैनन् भन्न सकिन्छ ? माउ खान सक्ने मुखले बच्चा बाँकी राख्ला र ? यो निकै सोचनीय र मननीय कुरा हो । सोच्नेले सोचून् र बुझून् पनि ।

अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रस्ताव पेश गर्ने तयारी भइरहेको छ । नवनिर्वाचित राष्ट्रपति जो बाइडनले शपथ ग्रहण गर्न हप्तादिन बाँकी रहेको बेला राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने तयारीलाई हामीले कुन रूपमा लिने त ? लोकतन्त्रमाथि हमला गर्न सक्ने ट्रम्पलाई कारबाही होला त ? जनताका लागि उर्वर व्यवस्था यो समय र माटोले विषाक्त किन बनाइरहेको छ ?

विश्वको शक्तिराष्ट्रका राष्ट्रपतिमाथि महाअभियोग लाग्न हुने तर हाम्रा जब्बर प्रधानमन्त्री ओलीका विरूद्धमा स्वयं आफ्नै दलले अविश्वासको प्रस्ताव किन ल्याउन नपाउने ? गुटगत राजनीतिलाई संस्थागत गर्ने राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन किन नसक्ने ? दरबारीय शासकहरूको झल्को दिने ओलीका हरेक कदमलाई लोकतन्त्रको छाप विल्कुल मान्न सकिन्न ।

न सत्य बोल्न मिल्छ न झुठो, यही हो धर्मसंकट भनेको । यस्तो बेला सकेसम्म मौन बस्नु नत्र ‘उपाय कुशलता’ अपनाउनुपर्छ किनकि यहाँ देख्नेले सत्य भन्न सक्दैन र भन्नेले कहिल्यै सत्य देखेको हुँदैन । सत्य सधैं कटु हुन्छ । पूर्वन्यायामूर्तिहरूले पनि कामचलाउ प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्धको सामुहिक प्रेस-विज्ञप्ति त्यहीअनुरूप निकालेका हुन् । न्यायालयको त्यति सारो माया लाग्छ भने त प्रधानमन्त्रीले मुद्दा फिर्ताको धम्की किन दिंदैछन् ? लोकतन्त्रमा बोल्न पाइन्न ? हस्तक्षेप पो गर्न मिल्दैन तर नागरिकका हिसाबले वकालत गर्न मज्जाले मिल्छ, पाइन्छ । आफूले जेमा पनि मनमौजी गर्न पाउने के यो संविधान प्रधानमन्त्रीले काखीमा भिर्ने कोखे सारङ्गी हो, जतिबेला मन लाग्यो त्यतिबेला बजाउनलाई ? संविधानका निर्माताहरूले गरेको व्याख्याअनुसार ओलीले संविधान र कानूनलाई तिलाञ्जली दिएर आफ्नो राजनीतिक यात्रा सुरक्षित गरेका हुन् ।

ओलीमा लोकतन्त्र बचाउने प्राणवायु छ कि घातक जैविक विष छ भन्ने कुरा उनको पछिल्लो कदमले स्पष्ट पारेको छ । किनकि २०७२ को संविधानमा संसद विघटनसम्बन्धी एउटा मात्र व्यवस्था रहेको छ । संविधानको धारा ७६ को उपधारा ७ मा भनिएको छ- ‘उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ ।’

संविधानअनुसार उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्री ले मात्रै संसद विघटनको सिफारिस गर्न सक्छ । जबकी प्रधानमन्त्री ओली संविधानको धारा ७६ को उपधारा १ अनुसार बहुमतप्राप्त दलबाट नियुक्त भएका प्रधानमन्त्री हुन् ।’ यसरी संविधानले सरकार बन्ने विकल्प सकिएको अवस्थामा संसद विघटन गरेर मध्यावधि निर्वाचनमा जाने व्यवस्था गरिएको हो । अहिलेको अवस्था त्यस्तो होइन । प्रधानमन्त्री ओलीले यी विकल्पहरूमा नजानु नै संसदबाट फरार हुनु हो । अवैधानिक बाटो रोजेर कूबाटोमा हिंड्ने देशको प्रधानमन्त्रीले राजनीतिक दलहरूलाई मध्यावधि निर्वाचनमा डोर्‍याउन सक्लान् भन्ने विश्वासै गर्न सकिन्न ।

संवैधानिक प्रणाली कुल्चिएर एक व्यक्तिको पद सुरक्षित राख्ने संस्कारलाई राजनीतिक स्थिरता मानिदिनुपर्ने कस्तो दुर्भाग्य । देशले यस्तो निकम्मा लोफर प्रधानमन्त्री पाएको छ कि जसलाई आफू नै सत्य हो भन्ने भ्रमले भ्रमित पारेको छ ।

ओली अहिले देश-दौडाहमा छन् । प्रचण्ड-माधवलाई खसाल्न कुनै कसर बाँकी राखेका छैनन् । लाग्छ- उनी चुनाव प्रचारप्रसारमा व्यस्त छन् । जनताको माझमा गएजस्तो बहाना गर्दैछन् । उनका उत्ताउला भाषणमा गडगडाह ताली ठोकेर खित्को छाड्ने त तिनै झोले-टोलेहरू हुन् । दुरदराजका विपन्न नागरिकलाई कति पीडा छ भनेर ओलीलाई के थाहा बरा ! जनतालाई जबर्जस्त काउकुती लाएर हसाउने प्रधानमन्त्रीले देश र जनतालाई फसाइ सके । देश भर्सेलामा पर्‍यो । फरि प्रतिक्रान्तिको प्रतीकात्मक दृश्य देखियो । हिजोभन्दा आज राम्रो होला भन्ने आस मात्रै भो ।

राजनीतिमा इमान्दार पुस्ताले कहिले पनि नेतृत्व गर्न सकेन । सधैं जोकर र अक्षमहरुको हालीमुहाली मात्रै भैरह्यो । जनताले सुखको सास फेर्न पाउने दिन कहिले आउला बरै !

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay