scheduleबुधवारमाघ १४ गते, २०७७

जनआन्दोलनपछि ओलीलाई उपप्रधानमन्त्री बनाएर गल्ती गरेँः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले जनआन्दोलनपछि केपी ओली जस्तो परिवर्तनविरोधी मान्छेलाई उपप्रधानमन्त्री बनाएर गल्ती गरेको बताएका छन् ।

नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रियामा अध्यक्ष नेपालले भने, ‘०६२–६३ को आन्दोलनपछि मैले उहाँ जस्तो परिवर्तन विरोधीलाई उपप्रधानमन्त्री बनाएँ। यो मेरो गल्ती थियो । उहाँ जस्तो व्यक्तिका लागि पार्टी एकता हुँदा आलोपालो प्रधानमन्त्रीको सहमतिबाट प्रचण्डजी पछाडि हट्ने कुरामा मैले साथ दिएँ । यसमा पनि मबाट गल्ती भयो ।’

उनले हालसालै अर्का नेता वामदेव गौतमले पनि अहिलेको अवस्था आउनुमा ओलीको ९९ प्रतिशत गल्ती रहेको बताएको स्मरण गरे । केही गल्ती आफूबाट पनि भएको उनको स्वीकारोक्ति थियो ।

उनले ओलीले प्रधानमन्त्रीबाट बाहिरिन तयार हुनुपर्ने तर्क गरे । ‘काम चलाउ प्रधानमन्त्री मात्र अब उहाँ प्रधानमन्त्री पदबाट बाहिरिन खुट्टा उचालेर बस्दा हुन्छ,’ उनले भने ।

केपी ओलीको तानाशाही प्रवृत्तिबाट मुलुक पिल्सिएको तर्क गर्दै उनले भने, ‘उहाँको तानाशाही प्रवृत्तिबाट कसैले चिच्याउनु पनि पाउनु भएको छैन । हामी निसासिएपछि हामी बोल्न बाध्य भएका हौ । उहाँले आफ्नो पार्टीसँगै प्रतिपक्षीको पनि मान मर्दन गर्नुभएको छ ।’

अत्यधिक अल्पमतमा रहेको ओलीले सडकछापे पार्टी बनाइरहेको उनको तर्क थियो । ‘केपी ओलीले सडक छाप होइन, धुलोछाप पार्टी बनाउँदै हुनुहुन्छ,’ उनले भने, ‘त्यहाँ मदन भण्डारी फाउन्डेशन मात्र छ । त्यहाँ पार्टी छैन ।’

अध्यक्ष नेपालले संवैधानिक ‘कू’ भएकाले चुनावको कुरा गर्न नसकिने धारणा राखे । ‘संवैधानिक ‘कू’ गरेका बेला चुनावको कुरा हुँदैन । अदालतबाट सच्याउनुपर्छ,’ उनले भने, ‘अन्तिममा त जनअदातल छँदैछ । उहाँले बैशाखमा चुनाव गराउनका लागि घोषणा गर्नुभएको छैन ।’

उनले पार्टीभित्र प्रचण्डसँग ट्युनिङ मिलिरहेको जिकिर गरे । ‘म प्रचण्डसँग गएको भनिएको छ । त्यो होइन । हिजो प्रचण्डले भनिसक्नुभएको छ । हामी दुबै जना समान अध्यक्ष हौँ,’ उनले प्रश्न गरे, ‘यसअघि स्थायी समिति बैठकको नेतृत्व मैले गरेँ । म पहिलो अध्यक्ष भएँ । अब प्रचण्डले बैठकको अध्यक्षता गर्नुहुन्छ । उहाँ पहिलो अध्यक्ष हुनुहुन्छ । यो कुरा केपी ओलीबाट भएन । आज प्रचण्डबाट भएको छ । अब भन्नुहोस् को राम्रो ?’

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay