नेविसंघको नारा- विद्यार्थीको एउटै स्वर, सरकारभित्र चोरैचोर
काठमाडौं, १ माघ । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले विहीवार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै नेविसंघ शंकरदेव क्याम्पसका विद्यार्थीहरुले काठमडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरुले मुखमा कालो मास्क, निधारमा कालो फिता र त्यसमा नारा लेखेर प्रदर्शन गरेका थिए भने शरीरमा नारा लेखिएको कालो परिहन लगाएका थिए ।
युवा विद्यार्थीले ‘केपी ओली मुर्दावाद, खोक्रो राष्ट्रवाद बन्द गर, असंवैधानिक कदम खारेज गर, विद्यार्थीको एउटै स्वर सरकार भित्र चोरैचोर’ जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
संविधान विपरितको काम प्रधानमन्त्रीले गरेको भन्दै विरोध गरिएको प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले बताएका छन् ।
उनीहरुले अहिलेको कदम अधिनायकवाद र प्रतिगामी भएको भन्दै विरोधका कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।