नेपाल-भारत बैठक- सीमा विवादको विषय उठान, कोरोना खोपको आश्वासन
काठमाडौं, २ माघ । नेपाल र भारतका विदेशमन्त्रीहरूको बैठक शुक्रवार दिल्लीमा सकिएको छ । बैठकमा सीमा विवादबारे विषय उठान मात्र भएको र कोभिड विरुद्धको खोप पाउने आश्वासन पाएको बताइएको छ ।
बैठकमा भारतले नेपाललाई तत्काल खोप उपलब्ध गराउने आश्वासन दिँदै भनेको छ, ‘नेपालमा सुरुवाती चरणकै लागि भारतबाट खोप उपलब्ध हुनेछ।’
राजदूत नीलाम्बर आचार्यलाई उद्धृत गर्दै बीबीसीले यसबारे खबर लेखेको छ । सुरुवाती चरणमा अग्रमोर्चामा काम गर्ने ३ प्रतिशतका लागि खोप ल्याइने नेपाली अधिकारीहरुले बताउँदै आएका छन् ।
राजदूत आचार्यले सीमाका विषयमासमेत ‘वार्ताबाट’ र ‘दुईदेशबीचको संयन्त्रबाट’ विवाद समाधान गर्नुपर्ने कुरा उठेको जानकारी दिए ।
आयोगको बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच एक्लाएक्लै वार्तासमेत भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
यसअघि नेपाल-भारत संयुक्त आयोगको बैठक सन् २०१९ को अगस्टमा काठमाडौंमा भएको थियो।
नेपालले बैठकमा सीमाबारे कुरा गर्न चाहे पनि भारतले यसमा कुनै रुचि नदेखाएको बुझिएको छ । ‘सीमाका विषयमा हाम्रो अडान जगजाहेर छ। र म के कुरा स्पष्ट पार्न चाहन्छु भने संयुक्त आयोग र सीमा बैठक फरक-फरक संयन्त्र हुन्,’ भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भनेका भनेका थिए ।
बैठकमा दुई देशका प्रबुद्ध व्यक्तिहरूको समूहले तयार पारेको ईपीजी प्रतिवेदन ‘बुझ्नुपर्छ’ भन्नेबारे कुरा भएपछि छलफल सकरात्मकरुपमा अगाडि नबढेको राजदूत आचार्यले संकेत गरेका छन् ।
आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतको बीचमा बाँकी ठाउँमा रहेका विवाद समाधान गर्न नेपालले सकेसम्म छिटो वार्ताको प्रक्रिया सुरु गर्न चाहेको बताएका छन् ।
‘तपाईंहरु सबै जानकार हुनुहुन्छ नेपाल र भारतको बीचको १८,०० किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमाको संयुक्त मापन गरेका हौं । केही किलोमिटर सीमामा कामहरु बाँकी रहेका छन्,’ दिल्लीमा आयोजित एक कार्यक्रममा शुक्रबार उनले भने ।
‘बाँकी खण्डमा एक सहमतिमा पुग्दा यसले हामीलाई अन्तर्राष्ट्रिय सीमालाई पूर्ण रुपमा समाधान भएको अवस्थामा मात्र पुर्याउँदैन, यसले सर्वसाधारणको भावनामा सकारात्मक भाव उत्पन्न गर्छ र दुई पक्षीय सम्बन्धमा विश्वासको वातावरण बनाउँछ,’ उनले भने,‘मलाई पूर्ण रुपमा विश्वास छ, हामी त्यो चरणमा पुग्ने छौं ।’
मन्त्री ज्ञवालीले सीमा समस्यालाई वार्ताद्वारा समाधान गर्न दुवै पक्ष सहमत भएको दावी गरे पनि भारतीय पक्षले यसबारे केही प्रष्ट पारेको छैन ।