भरतपुर पुगेर पौडेलले भने- देउवा प्रधानमन्त्री हुन सक्छन् (भिडियो)
काठमाडौं, ३ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवा पुनः प्रधानमन्त्री हुनसक्ने बताएका छन् ।
‘प्रतिनिधि सभा आए पनि केही नोक्सान छैन। उनीहरु दुई फ्याक भएका छन्। हामी त निर्णायक नै छ नि। काँग्रेस जता लाग्छ त्यतै निर्णय हुन्छ,’ शनिबार भरतपुरमा आयोजित संसद विघटनको विरोधसभामा पौडेलले भने, ‘हाम्रो सभापतिको तालुमा आलु फल्यो । फेरि प्रधानमन्त्री हुन बेर छैन ।’
उनले कांग्रेसको काँधमा राजनीतिको निर्णायक जिम्मेवारी आएको स्पष्ट पारे । उनले देउवा प्रधानमन्त्री बन्न प्रतिनिधिसभा बचाउनुको विकल्प नरहेको बताए ।
पछिल्लो राजनीतिक अवस्थाले देश ठूलो विद्रोहतिर जान लागेको संकेत गर्दै उनले भने, ‘प्रतिनिधिसभा विघटनले ठूलो विद्रोहतिर धकेलिँदैछ। शक्ति केन्द्रहरुको क्रीडास्थल बनाउँदैछन्। नेपाललाई रणभूमि बनाउँदैछन् । देशलाई दुष्चक्रमा फसाउन लागिएको छ। त्यसैले पहिले संविधानलाई बचाउँ । पहिले प्रतिनिधिसभालाई बचाउँ । त्यसपछि चुनाव लडौंला ।’
केपी ओलीले अदालतलाई पनि धम्क्याइरहेको उनको तर्क थियो । ‘न्यायाधीशहरुले संविधानतिर हेर्ने होइन। यो त राजनीतिक कुरा हो भनेर केपी ओलीले भनिसके। प्रधानमन्त्रीले अदालतलाई दबाव दिने हो? अदालतलाई धम्क्याउने? त्यसो भनेपछि हामीले आन्दोलन गर्ने कि नगर्ने?,’ उनले भने, ‘प्रधानमन्त्री लोकतन्त्र हुँदैन भन्दैछन्। लोकतन्त्रको चीरहरण हुँदा नेपाली काँग्रेस चुप लागेर बस्दैन।’
संविधान अलपत्र पारेर हुने चुनाव कांग्रेसलाई मान्य नहुने उनको तर्क थियो । ‘चुनाव आयो भनेर केही साथीहरु रमाएका छन्। यसरी हतारिएर हुँदैन। पहिले लोकतन्त्र बचाउँछौ। संविधान बचाउँछौं,’ उनले भने, ‘यसमा टेकेरमात्र चुनावमा हुन्छ। यस्ता चुनाव पञ्चायतमा पनि आए गए। ७० वर्ष लडेर आएको संविधान छ। संविधानमा टेकेर आएको चुनावमा मात्र जाने हो।’