scheduleशनिवारफाल्गुन २२ गते, २०७७

संसद विघटनविरुद्ध मलंगवामा जसपाको जनप्रदर्शन

एसपी यादव/ सर्लाही, ३ माघ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता तथा कार्यकर्ताहरुले ओलि सरकार विरुद्ध सर्लाहीको सदरमुकाम मलंगवामा शनिबार जनप्रदर्शन गरेका छन् ।

२०६३/०६४ मा भएको मधेस आन्दोलनको क्रममा सहादत प्राप्त गरेका वीर सहिदहरु प्रती मौन धारण गर्नुका साथै सहिदहरुको फोटोमा धूप देखाएर जनप्रदर्शन एवं विशाल विरोध सभा कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो ।

प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमको विरुद्धमा पार्टी प्रदर्शनमा होमिएको जसपाका वरिष्ठ नेता तथा कार्यक्रमका प्रमुख अतिथि राजेन्द्र महतोले बताए । नेता महतोले प्रतिगमनको विरुद्धमा एक भएर आन्दोलनमा जान समेत अपिल गरे ।

मलगंवाको तिनबिघि मैदानमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै जसपाका शिर्ष नेता महेन्द्र राय यादवले भने, संसद विघटन जस्तो असंवैधानिक कदम र यो ओलि सरकारको जति भर्त्सना गरेपनि कम हुने बताए । नेता यादवले सरकारले चालेको प्रतिगमनकारी कदम सफल नहुने भन्दै आफुहरुको शान्तिपूर्ण आन्दोलन सफल हुने विश्वास व्यक्त गरे । आफुहरुको विरोध ओली सरकार र ओलीले चालेको असंवैधानिक कदमको विरोध भएको नेता यादवले बताए ।

गाँउ–गाँउबाट आएका नेता तथा कार्यकर्ताहरु कालो ब्यानर सहित जन प्रदर्शनमा उत्रिएका थिए । दशौं हजारको संख्यामा रहेका नेता तथा कार्यकर्ताहरुले ओलि सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए । केपी ओली मुर्दावाद, विद्या भण्डारी मुर्दावाद, प्रतिगामी षडयन्त्र मुर्दावाद, असंवैधानिक कु खारेज गर, संंसद विघटन गर्न पाईदैन, अलोकतान्त्रिक कदम खारेज गर जस्ता नारा लगाएका थिए ।

जसपाका जिल्ला सचिव जबाहर राय यादवले सञ्चालन गरेको विरोध सभालाई जसपाका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेताहरुले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा नेताहरूले प्रधानमन्त्री ओलीले चालेको असंवैधानिक कदमको विरुद्धमा चर्को विरोध गरेका थिए ।

जसपाका केन्द्रिय सदस्य डा. अब्दुल रहिम मिकरानीको अध्यक्षतामा गरिएको जन प्रदर्शनमा जसपाका जिल्ला, प्रदेश तथा केन्द्रीय तहका नेता एवं कार्यकर्ताहरु, नागरिक समाज, अवकाश प्राप्त शिक्षकहरु, बुद्धिजीवी, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती रहेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay