संसद पुनःस्थापना भए पार्टी एकता जोगिन्छ : नेता भुसाल
बुटवल, ३ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने बताएका छन् ।
नेकपा तिलोत्तमा नगर कमिटीले शनिवार बुटवलको मणिग्राममा आयोजना गरेको भेलामा उनले संसद विघटनपछि नेकपा २ भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमको गम्भीर समीक्षा हुने बताएका हुन् । उनले सेटिङबाहेक अर्को कुनै तरिकाले संसद पुनःस्थापनालाई रोक्न नसक्ने दाबी गरे ।
न्यायालयलाई प्रभावित पार्न नदिनका लागि दबाब दिनुपरेकाले सडक आन्दोलन गर्नुपरेको बताउँदै नेता भुसालले ३ महिनाभित्र संसद पुनःस्थापना हुने विश्वास व्यक्त गरे । उनले देशका बुद्धिजीवी, संविधानविद्, कानूनविद् सबै संसद विघटनको विपक्षमा रहेकाले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए ।
‘वैशाखमा चुनाव गर्छु र दुई तिहाई वहुमत ल्याउँछु भन्ने प्रधानमन्त्रीको कुरा हास्यास्पद छ’ भुसालले भने, ‘खासमा ओलीजीको उद्देश्य चुनाव गर्ने हुँदै होइन, संविधान भत्काउने हो ।’