scheduleशनिवारफाल्गुन २२ गते, २०७७

कार्ल मार्क्सका दुःख र नेकपाका दुर्भाग्यहरू

डम्बर खतिवडा

मार्क्स, मार्क्सवाद र मार्क्सवादीहरूले आफ्नो जीवनको नवकिशोर वयमा पारेको प्रभाव सम्झेर अचेल म आफैं गम खान्छु । कुनै भाष्य, सिद्धान्त, आन्दोलन र महाआख्यानमा मानिसलाई प्रभावित गर्न सक्ने कति ठूलो ताकत हुँदोरहेछ । त्यस्तो ताकत सायद मार्क्सवादमा मात्र हैन, अरु भाष्य र महाआख्यानमा पनि होला, त्यही भएर त हरेक वैचारिक धार वा सम्प्रदायका मानिस आफूलाई ‘श्रेष्ठ’ र ‘समर्पित’ दावी गरिरहेका हुन्छन् । आफूले आफैंलाई ‘ठीक’, ‘महान’ र ‘बीरोचित’ ठानेर आत्ममग्न हुन्छन् । गौरवान्वित हुन्छन् ।

के अलकाइदा, बोको हराम, तालेवान वा मुजाहिदिनहरू ‘इस्लाम’ प्रति कम समर्पित र गौरवान्वित ठान्छन होला ? निष्ठा, आस्था र भक्तिको कथा भारतको आरएसएस र भाजपामा झनै गज्जबको छ । त्यो त्यति सजिलै बनेको पार्टी हैन, जति ठानिन्छ । सानो उमेरमै घरबार छोडेर हिंड्ने, आरएसएसको कार्यालय वा आश्रममा बसेर सिंगो जीवन बिताउने, कुनै निजी फाइदा र आम्दानीको काम नगर्ने लाखौं कार्यकर्ता आरएसएसले निर्माण गर्दछ ।

क्रान्तिकारीहरूमा ‘बलिदान’ को संस्कृति भएजस्तो भाजपामा ‘जीवनदान’ को संस्कृति छ । अटलबिहारी बाजपेयीदेखि अहिलेका नरेन्द्र मोदीसम्म त्यस्तै ‘जीवनदानी’ हुन जसले निजी जीवन, वैबाहिक सम्बन्ध, घरगृहस्थ, पेशा र व्यवसाय सबै त्यागेर संघ परिवार र भापजा पार्टीका लागि मात्र काम गरे । जीवन दिए । के ती आफूलाई कम ‘श्रेष्ठ’, ‘समर्पित’, ‘ठीक’, ‘महान’ र ‘बीरोचित’ ठान्दा हुन् र ?

वामपन्थमा होस वा दक्षिणपन्थमा विचार र सम्प्रदायको अतिआदर्शीकरण एउटा पाटो हो । सत्य अर्को पाटो हो । सत्य प्रकृति र समाजको गतिले निर्धारण गर्दछ, नकी आदर्शीकृत विचार, सम्प्रदाय र पात्रहरूले । जब विचार र सत्यबीच, सिद्धान्त र व्यवहारबीच अन्तर्विरोध सृजना हुन्छ, सत्यले सिद्धान्तलाई छोड्छ, व्यवहारहरू नै नयाँ सिद्धान्त बन्न पुग्दछन् । यो अन्तर्विरोधको नैरित्य सर्वव्याप्त छ ।

नेकपाको हकमा पनि यो यथार्थ बारम्बार पुष्टि भएको छ । नेपालका कम्युनिष्टहरू आफूहरूलाई जुनस्तरको नैतिक, आर्दशवान, वैचारिक र सिद्धान्तवादी दावी गर्दछन्, ती दावी एकपटक हैन, हज्जारपटक खण्डित भएका छन् । त्यो पनि निक्कै न्युनस्तरको सांस्कृतिक चेत र हद दर्जाको स्वार्थी व्यवहारमा । त्यो श्रृंखलाको पछिल्लो कडी ‘ओली भर्सेस प्रचण्ड-माधव विभाजन’ बन्न पुगेको छ । यस क्रममा जेजस्ता आरोप प्रत्यारोपहरू प्रकट भइरहेका छन् ती कार्ल मार्क्सका दुःखहरू भन्दा साना छैनन् ।

Dambar_Khatiwada_Photo
डम्बर खतिवडा

कार्ल मार्क्सले साम्यवादको सिद्धान्त साना दुःखले आर्जेको थिएनन् । मार्क्स, मार्क्स परिवार र मार्क्सवादीहरूका दुःखको वृतान्त उन्नाइशौं र बीसौं शताब्दिको मानव सभ्यताका महादुःखमध्ये एक हो । मार्क्स आफैंमा एक फक्कड र उद्धिग्न मानिस थिए, परिवारप्रति लापरवाह । आज मार्क्सजस्तो जीवन कसैले बाँच्न खोज्यो भने स्वभाविक छ उसलाई समाजमा ‘गैरजिम्मेवार’ भनिनेछ । उनका सबैजसो सन्तानले बाल्यकालमा कुपोषणको सामना गर्नु परेको थियो । पढ्नु र लेख्नु बाहेक अरु कुनै काम कार्ल मार्क्स स्थिर चित्तले गर्न सक्दैनथे । त्यो कामले त्यतिबेला परिवार पाल्न पुग्ने पैसा कमाई हुँदैनथ्यो ।

उनका किताब छाप्ने राम्रा प्रकाशकहरू पाइँदैनथे । उनको पैत्रिक धनको हिस्सा त्रियेरमा छुटेको थियो । जेनी बेलाबेला माइत जान्थिन्, तर कार्ल मार्क्सले भोगेका, भोगाएका दुःखहरूको कारण माइतीमा उनको सम्मान घटेको थियो । जेनीका परिवार प्रसियाका सामन्तहरू थिए, जो छोरीको दुःखले कुन्ठित हुन्थे, यदाकदा सहयोग गर्थे तर त्यसले मार्क्स परिवारलाई लण्डनको जीवन धान्न पुग्दैनथ्यो । ‘पुँजी’ को बारेमा कार्ल मार्क्सले त्यतिधेरै अध्ययन गरे, लेखे तर स्वयं परिवार पाल्न पुग्ने पुँजी कहिल्यै कमाउन सकेनन् । त्यो आफैंमा एक ठूलो महादुःख थियो ।

प्रसियाबाट देश निकाला गरिएका, लण्डनमा डेरा गरेर बस्ने, पुस्तकालयमा १८ घण्टासम्म भोकभोकै पढेर बिताउने मार्क्स पैसाको अभाव हुने बित्तिकै साथी एङ्गेल्ससँग सहयोग र सापटी माग्थे । अक्सर मेनचेष्टरमा बस्ने एङ्गेल्सले लण्डन पैसा पठाउन ढिलो हुन्थ्यो । यही निहुँमा एङ्गेल्ससँग उनको यदाकदा मनमुटाव पनि हुन्थ्यो । मार्क्सका एक सन्तान मर्दा उनीसँग कात्रो किन्ने पैसा पनि थिएन ।

कार्ल मार्क्सको यौन जीवनबारे भयाङ्कर ठुलो स्काण्डल थियो- हेलेन डिमुथको । डिमुथ मार्क्स पत्नीसंगै बिहेमा दाइजो आएकी सुसारे थिइन् । दास मुक्तिको कुरा गर्ने मार्क्स परिवार मै स्वयम् दासी थिइन- हेलेन । उनले भिन्नै बिहे गरिनन् । जीवनभरि उनी मार्क्स र जेनीसँगै बसिन् ।

अझ विचित्र घटना सन् १८५० मा भयो जब जेनी करिब १ वर्षका लागि माइत गएकी थिइन् । हेलेनले एक छोरा पाइन्, जसलाई सामाजिक मर्यादाको पाखण्डी पर्खाल खडा गरेर मार्क्सले आफ्नो सन्तान स्वीकार गरेनन् । ती बच्चाको बुबा एङ्गेल्स हुन् भनियो । नाम राखियो- हेनरी एंगेल्स डिमुथ । जबकी एङ्गेल्स त्यो साल म्यानचेष्टरमै थिए । उनी त्यो वर्ष लण्डन आएकै थिएनन् । हेनरीलाई परिवारबाट बाहिर एक श्रमिक परिवारलाई पैसामा ९ वर्षसम्म पाल्न लगाइयो ।

मार्क्स मरेपछि यो रहस्य खुल्यो कि हेनरी यथार्थमा मार्क्सकै छोरा थिए । मार्क्सको विशेष आग्रहमा हेलेन डिमुथ र एङ्गेल्सले त्यस्तो नाटक गरेका थिए । मार्क्सकी कान्छी छोरी इलिनियोर मार्क्स जो आफ्नो पितालाई निक्कै ठूलो आदर्श मान्थिन, यो रहस्य अनावरणपछि उनी मानसिक रोगी जस्तै भइन् । मार्क्सको मृत्युपछि उनले हेनरीलाई परिवारमा ल्याइन्, दाजुको दर्जा दिइन् र सँगै राखिन् ।

तिनै भावुक र संवेदनशील हृदय भएकी युवती इलिनियोरको भिन्नै दुर्दान्त कथा छ । उनी पेरिस कम्युनको निर्वासित नेता लिसागेरीसँग प्रेम गर्थिन् । तर मार्क्सले छोरीको प्रेम मन पराएनन् । एडबर्ड एभेलिङसँग उनको दोस्रो प्रेम पर्‍यो । तर, एभेलिङ अवैधानिक यौन सम्बन्धका खेलाडी थिए । उनले अर्कै युवतीसँग बिहे गरेका थिए । तर बाहिर आफूलाई अविबाहित बताउँथे ।

उनी बेलायतमा युवा चर्चित मार्क्सवादी थिए । इलिनियोरले जब यो थाहा पाइन कि आफूलाई निक्कै ठूलो मार्क्सवादी ठान्ने बौद्धिक अंग्रेज युवक एभेलिङ उनलाई धोका दिइरहेको छ, ४३ वर्षको उमेरमा विष खाएर आत्महत्या गरिन् । इलिनियोरका लेख, डायरी र नोटहरुले मार्क्स परिवारका थुप्रै दुर्दान्त पक्षहरुको पोल खोल्दछन् ।

मार्क्सका बाँकी दुई छोरीहरूको जीवन पनि सुखद थिएन । जेठी ३८ वर्षको उमेरमा क्यान्सरले बितिन् । दिदीका बालबच्चाहरू हुर्काउन इलिनियोरले उत्तिकै दुःख गर्नु परेको थियो । माहिली लाउराले फ्रान्सेली कम्युनिष्ट नेता पौल लाफार्गेसँग बिहे गरेकी थिइन् । उनीहरूले त झन सल्लाहले नै सामूहिक आत्महत्या गरेका थिए । उनीहरूले साझा चिठ्ठी लेखेरसँगै विषपान गरे । उनीहरूको अन्तिम चिठ्ठीमा व्याप्त निरासा त्यो समयको फ्रान्सेली मार्क्सवादी आन्दोलनको एक अनौपचारिक दस्तावेज थियो । पछि लेनिनले लाफार्गे र लाउराको त्यो चिठ्ठीलाई भिन्नै तरिकाले गौरवीकरण गरे ।

पछि लेनिनले भने कि मार्क्सवादीहरूको जीवनको सारतत्व नै समाजवादी क्रान्ति हो । क्रान्तिका लागि योगदान गर्न सकिँदैन भन्ने लाग्छ भने लाफार्गे र लाउराझैं आत्महत्या गर्न राजी भए हुन्छ ।

एङ्गेल्सको पनि व्यक्तिगत तथा पारिवारिक जीवन सहज थिएन । एंगेल्सका बुर्जुवा पिता छोरो सर्वहारा विचारमा लागेको फिटिक्कै मन पराउँदैनथे । उनी जीवनभरि अविवाहित रहे तर ३ वटी महिलासँग सल्किए । पहिली प्रेमिका उनीसँग बिहे गर्न चाहन्थिन् तर एङ्गेल्स राजी भएनन्, उनले अन्यत्रै बिहे गरिन् । एङ्गेल्सका दोस्री र तेस्री प्रेमिका म्यारी र लिज्जा साख्यै दिदीबहिनी थिए । म्यारीसँगको लिभिङ टुगेदर उनको निधनसंगै अन्त्य भएपछि लिज्जा एंगेल्सका जीवनमा आएकी थिइन् । बुढ्यौलीमा भने हेलेन डेमुथले उनको हेरचाह गरेकी थिइन् ।

मार्क्सवादको जन्ममा मार्क्स र मार्क्स परिवारले भोगेका पृष्ठभागका महादुःखहरू थिएयी । जेनी दुःखको महासागरमा डुबेकी एक महान गृहिणी थिइन्, जो जस्तै परिस्थितिमा पनि कहिल्यै गुनासो गर्दिनथिन् । हेलन डेमुथको काण्डपछि उनी मार्क्सप्रति बैराग्यको अनुभूति गर्थिन् । उनको हृदयमा लोग्नेप्रतिको प्रेम र सम्मान घटेका थियो । इलिनियोरको डायरी अनुसार उनले हेलेनलाई भनेकी थिइन्, ‘तँ मेरा बिहेमा दाइजो आइस् । मेरै लागि तेरो निजी जीवनको भिन्नै कहानी बन्न पाएन । त मेरो दासी, मित्र र बैनी सबै होस् । जब तेरो जीवन नै मेरा लागि गयो, म तेरा सबै गल्तीहरू माफ गर्न सक्छु । तेरा सबै गल्तीहरू मेरो भाग्य-कथाका अध्यायहरू हुन् ।’

मार्क्सको जीवनको उत्तरार्धमा मार्क्सका अनुयायीहरूले ‘मार्क्सवाद’ बनाए । यो काम मार्क्सलाई फिटिक्कै मन परेको थिएन । उनको जीवनको उत्तरार्धतिर मार्क्सको अन्तर्वार्ता गरेको ‘पेरिस रिभ्यु’ का अनुसार उनी आफ्ना विचारहरूलाई ‘मार्क्सवाद’ भनिएमा खुशी थिएनन् । नत ‘सर्वहारा अधिनायकत्वको सिद्धान्त’ प्रति उनमा विश्वास बाँकी थियो । ‘पुँजी’ को प्रथम खण्डका आफ्नै विचारहरूलाई समेत शंका गर्दै ‘गुडरिच’ नामको एउटा लामो लेख लेखेका थिए ।

अझ रोचक कुरा आफ्नी कान्छी छोरी इलिनियोर र ज्वाइँ एडबर्ड एभेलिङसँग उनले बहुदलीय प्रणालीमा ‘लेवर पार्टी’ गठन गर्न सुझाएका थिए । यो प्रसंगलाई इलिनियोरका नोटले ‘अफ द रेकर्ड’ मान्दछन् । नभन्दै इलिनियोर र एभेलिङले बेलायतको ‘इन्डिपेन्डेन्ट लेवर पार्टी’ को गठनमा ठूलो भूमिका खेले । आजको बेलायतको लेवर पार्टीको पुर्खा त्यही हो ।

मार्क्सवादबारे कार्ल मार्क्सको एक महान आत्मस्वीकारोक्ति छ- ‘मैले कत्रा दुःखले ड्राइगनको दाँत रोपेँ तर अन्ततः झिंगा फल्यो ।’

विश्वका अरु धेरै देशका कम्युनिष्टहरूको जस्तै नेकपाको दुर्भाग्य पनि आज त्यही हो । कम्युनिष्ट आन्दोलनमा लाग्नेहरूको समर्पण, निष्ठा, कष्ट, त्याग र बलिदानका कत्राकत्रा दुःखहरू छन् । निश्चय नै ती ‘महान’ छन् । पेरिस कम्युनदेखि सोभियत संघसम्म, क्युबादेखि उत्तरकोरियासम्म, चीनदेखि भियतनामसम्म, निकारागुबादेखि नेपालसम्म कम्युनिष्टहरूले बारम्बार ‘ड्राइगनको दाँत’ रोप्ने महागाथा सृजना गरेका छन् । तर, दुर्भाग्य के छ भने अन्ततः त्यसमा फल्ने भनेको ‘झिंगा’ नै हो ।

नेपालको कम्युनिष्ट आन्दोलनमा फेरि किन ‘झिंगा’ फल्यो ? यो सबैका लागि एक विचारणीय प्रश्न हो । विना पूर्वाग्रह ठन्डा दिमागले सबैले सोच्नु र समीक्षा गर्नु पर्ने प्रश्न हो । आज ओली जन्मेर नेकपाको दुःख बढेको हो वा ओलीज्म जन्मिने जमिन नै उपलब्ध थियो कम्युनिष्ट आन्दोलनभित्र ? ओलीको महत्व व्यक्तिका रुपमा सीमित छ । ओलीज्मको महत्व प्रवृतिका रुपमा अनन्त छ ।

कुनै समय केही विश्लेषकहरूले पुष्पलाललाई ‘नेपालको मार्क्स’, मदन भण्डारीलाई ‘नेपालको लेनिन’ र प्रचण्डलाई ‘नेपालको माओ’ स्थापित गर्ने प्रयत्न समेत गरेका थिए । मार्क्सवाद-लेनिनवाद-माओवाद भनेझैं ‘नयाँ जनवाद, बहुदलीय जनवाद र एक्काइशौं शताब्दिको जनवाद’ को सेट वा श्रृङ्खला निर्माण गर्ने प्रयास भएका थिए । प्रयोजनवादी दृष्टिकोणबाट यो विश्लेषण पद्धतिको आफ्नै महत्व छ । तर, बुझ्नु पर्ने कुरा के छ भने एक्काइशौं शताब्दिको तेस्रो दशकको नेपालमा त्यसको प्रयोजन नै कति बाँकी छ ।

मार्क्सवाद एक उद्धिग्न, युवा, अभावग्रस्त र उग्र कार्ल मार्क्सको मनोदशाका तत्कालीन प्रतिबिम्बहरू थिए । ती चिज त्यतिखेर राम्ररी सम्पादित तथा प्रकाशित भए जब मार्क्स मरिसकेका थिए । एङ्गेल्समाथि पनि यो आरोप छ कि उनले मार्क्सका रचना सम्पादित गरे वा मार्क्सका रचनाभित्र आफ्नै तर्कहरू छिराए ? ‘कम्युनिष्ट मेनुफेष्टो’ को अपवादलाई छोडेर मार्क्सका सबैजसो रचनाहरू निक्कै क्लिष्ट छन् । भनिन्छ- उनको हस्तलेखन उत्तिकै किरिङकिमिरङ हुन्थ्यो । सम्पादकहरूले उनका लेखहरू छाप्न अल्छी गर्नुको कारण उनको नबुझिने अक्षरहरूले सृजना गर्ने झन्झट पनि एक थियो ।

जीवनको उत्तरार्धमा इलिनियोर मार्क्सका लेखहरू पत्रिकामा छाप्न पठाउनुअघि साफी गर्थिन् । इलिनियोरका डायरी र नोटहरू पढ्दा मार्क्सका विचारको एउटा भिन्नै चित्र सामुन्ने आउँछ जुन लेनिनवादी धारको चित्रभन्दा निक्कै भिन्न देखिन्छ । संसारका ९० प्रतिशत बढी मार्क्सवादीहरू लेनिनले व्याख्या गरेको ‘त्रिआङ्गिक मार्क्सवाद’ मा विश्वास गर्दछन् । कम्युनिष्ट आन्दोलनमा ‘झिंगा फल्ने’ क्रम त्यसले झनै तीव्र पार्छ । न पुष्पलालको नयाँ जनवाद, न मदन भण्डारीको बहुदलीय जनावाद न पुष्पकमल दाहालको एक्काइशौं शताब्दिको जनवादले त्यो क्रमलाई रोक्न सकेको छ । आज ‘ओलीज्मको झिंगा’ सहजै फलेको हैन । यसका सयौं र दुर्भाग्यपूर्ण कारणहरू यत्रतत्र छन् ।

यथार्थमा तीनै दुर्भाग्यपूर्ण कारणहरूलाई हिजो प्रचण्ड, माधव र झलनाथले काँध थापेका थिए । ‘आधा-आधा कार्यकाल प्रधानमन्त्री’ खाने लोभमा गरिएको नाटकीय पार्टी एकताको कुनै वैचारिक आधार थिएन । विशेषतः मधेश जनविद्रोहपछि ओलीज्मले आफूलाई नवफासीवादको ढाँचामा आकारित गरिसकेको थियो । प्रचण्ड, माधव, झलनाथले त्यसप्रति मौन स्वीकृतिमार्फत् अनुमोदन दिएका थिए ।

ओली जति उग्र र उद्धिग्न अभिव्यक्ति दिँदै जान्थे, ताली पिट्नेहरूको संख्या उत्तिकै बढ्दै थियो । त्यो तालीको आवाजले प्रचण्ड, माधव र झलनाथको हंस हल्लिएको थियो । उनीहरू विचार र एजेण्डाको दायित्वबाट पन्छिएर ओलीको वरिपरि संगठित भइरहेको नवफासीवाद र दक्षिणपन्थी सोचसंग अनुग्रिहित हुन थालेका थिए । ‘पार्टी एकता जोगाउने’ उधुम इच्छाले निउरमुन्टी न भएका थिए । समाजको क्रान्तिकारी रुपान्तरणका दर्जनौं मुद्दाहरूलाई सडकमा अलपत्र छोडेर ‘संसारको उत्कृष्ट संविधान’ बनाउनु पर्नेहरूले जतिसुकै धेरै ‘ड्राइगनको दाँत’ रोपेको दावी गरे पनि आखिर फल्नु झिंगा नै थियो ।

नेकपाको वर्तमान दुर्भाग्य केवल ओली हैनन् न त ओलीज्म मात्र हो । ओली र ओलीज्मलाई काँध हालेर बसेको प्रचण्ड, माधव र झलनाथको मोलाहिजावाद यसका लागि उत्तिकै जिम्मेवार छ । अमेरिकामा एक नयाँ शब्दावली प्रयोग हुँदैछ अहिले- ट्रम्प जाँदैछन्, ट्रम्पिज्म जाला कि नजाला ? ठीक यही प्रश्न यहाँ पनि गर्न सकिन्छ- ओली जाँदैछन्, ओलीज्म जाला कि नजाला ? कतै फेरि ओली विनाको ओलीज्म प्रचण्ड-माधव र झलनाथले सतीदेवीको लास महादेवले बोकेर हिडेजस्तो काँधमा बोकेर हिड्ने त हैनन् ?

प्रचण्ड-माधव-झलनाथ पक्षका कमरेडहरूले राम्रो हेक्का राखे हुन्छ, त्यो सम्भावना छ । ओली, ओलीको गुट र ओलीको राजनीति त अब दुईचार महिनाका पाहुना मात्र हुन् । तर, प्रचण्ड-माधव र झलनाथले नै ओलीज्मको लास काँधमा बोक्ने हो भने ओली गएर के भो र ? लास फेरि पतन हुने हो । शक्तिपीठ फेरि जन्मिने हो । नेकपाका दुर्भाग्यहरू जस्ताको त्यस्तै रहने हुन् । देश र जनताका दुर्भाग्यहरू फेरि जस्ताको त्यस्तै रहने हुन् ।

कमरेडहरू, यो ‘दाँत रोप्ने र झिंगा फलाउने’ खेल कतिन्जेल खेल्ने ? एउटै बारीको र उस्तै खाडीमा गाडेको सन्ठीलाई केही टुक्रा पारेर तेरो हातको टुक्रा राम्रो कि मेरो हातको टुक्रा राम्रो भन्ने भ्रममा कतिन्जेल बाँच्ने ?

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay