पोखरेलको प्रश्न माधवलाई – यति छिट्टै इतिहास बिर्सन मिल्छ ?
काठमाडौं, ४ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपाललाई यति छिट्टै इतिहासको कटु सत्यलाई बिर्सन मिल्छ र भन्दै प्रश्न गरेका छन्। पोखरेलले आइतबार सामाजिक संजाल फेसबुकममा एक स्टाटस लेख्दै माधव नेपाललाई यस्तो प्रश्न गरेका हुन् ।
नेकपा ओली समूहका नेता समेत रहेका पोखरेलले माधवबाट जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवाद गर्दा यदु गौतमलगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन बलिदान गरेको स्मरण गरेका छन्।
उनले प्रचण्डसँग सुरुदेखिनै सहकार्यमा रहेको दाबी गर्दा पार्टी विरुद्धको घात भएन भन्दै प्रश्न उठाएका हुन् । पोखरेलले फेसबुकमा लेखेका छन् – ‘माधव कमरेड तपाईले जारी गरेको निर्देशन अनुसार तात्कालिक माओवादी उग्रवामपंथको राजनीतिक विरोध र प्रतिवादगर्दा कमरेड यदु गौतम् लगायत तात्कालिक एमालेका झण्डै ५०० कार्यकर्ताले जीवन वलिदान गर्नुभएको थियो। आज तपाई कमरेड प्रचण्डसँग सुरुदेखिनै सहकार्यमा रहेको दाबी गर्दै हुनुहुन्छ।’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्यसमेत रहेका पोखरेलले आइतबार फेसबुकमार्फत भनेका छन्,‘शान्तिप्रकृयामा ल्याउन वार्ता गर्नु र निरन्तर सहकार्य गर्नु फरक होला नि कमरेड। त्यतिबेला साच्चै माओवादी नेता प्रचण्डसँगको सहकार्य रहनु भएको हो भने त्यो पार्टी विरुद्धको घात भएन र कमरेड ?’
उनले विधि र पद्धतीमा जोड दिने नेपालले अहिले प्रचण्डसँगको साँठगाँठको औचित्य पुष्टि गर्नका लागि आफ्नै मान्यताका विपरित नबोलेको भए हुन्थ्यो भन्दै टिप्पणी गरेका छन्। ‘शान्तिप्रकृयामा प्रवेशपछि त हामी सबै सहकार्यमा होइन एकतामा नै बाधिएका हौँ।’उनले भनेका छन्,‘त्योभन्दा पहिले लामो समयसम्म तपाईकै नेतृत्वमा माओवादी उग्रवामपंथविरुद्ध वैचारिक तथा राजनीतिक संघर्षमा रहेको कुरा सत्य होइन र ? यति छिट्टै इतिहासको कटु सत्यलाई कसरी बिर्सन मिल्छ र ?’ उनले लेखेका छन् ।