बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।
बार्सिलोनालाई हराउँदै बिल्बाओले उचाल्यो सुपर कप उपाधि, मेसीलाई रातो कर्ड
काठमाडौं, ५ माघ । बार्सिलोनालाई पराजित गर्दै एथ्लेटिको बिल्बाओ स्पेनिस सुपर कपको उपाधि उचालेको छ । आइतबार राति सेभिल्लाको मैदानमा भएको फाइनल खेलमा बिल्बाओले बार्सिलोनालाई ३–२ ले पराजित गर्दै उपाधि उचालेको हो ।
खेलको ४०औं मिनेटमा एन्टोनि ग्रिजम्यानको गोलबाट बार्सिलोनाले खेलमा अग्रता बनाएको थियो । लगत्तै ४२औँ मिनेटमा बिल्बाओका लागि ओस्कार डी मार्कोसले बराबरी गोल गरे ।
त्यसपछि ७७औं मिनेटमा ग्रिजम्यानले अर्काे गोल गरी पुनः टोलीलाई अग्रता दिलाए । तर खेल सकिनै लाग्दा बिल्बाओका आसिएर भिल्लालिब्रेले गोल गर्दा खेल बराबरी भएर अतिरिक्त समयमा धकेलिएको थियो।
३० मिनेट अतिरिक्त समय थपिएपछि लगतै ९३औँ मिनेटमा बिल्बाओका लागि इलाकी विलियम्सले गोल गरी बार्सिलोनालाई पछि पारे । त्यसपछि बाँकी समयमा बार्सिलोना खेलमा रक्षात्मक रह्यो ।
खेलको अन्तिमतिर १२०औं मिनेटमा बार्सिलोनाका कप्तान लियोनल मेसीले रातो कार्ड पाएपछि बार्सिलोना पराजयसँगै तीतो सम्झना बोकेर मैदान छोड्न बाध्य भयो ।
बार्सिलोनाबाट ७५३औँ खेल खेल्दा मेसीले सिधै रातो कार्ड पाएको यो पहिलो पटक हो । १२०औँ मिनेटमा बिल्बाओका गोलरक्षक भिल्लालिब्रेसँग मेस्सीको विवाद हुँदा उनले रातो कार्ड पाएका हुन् ।