scheduleआइतवारफाल्गुन १६ गते, २०७७

वामदेवको एकता मिसनः च्याँखे दाउ कि प्रतिबद्धता ?

साझापोस्ट टिप्पणी

काठमाडौं, ५ माघ । अहिलेसम्म औपचारिक रुपमा वरिष्ठ नेताको पद नपाएका नेकपा नेता वामदेव गौतम अनौपचारिक रुपमा भने ‘वरिष्ठ नेता’ नै हुन् । नेपालको कम्युनिष्ट आन्दोलनमा उनको आफ्नै प्रकारको सक्रियता, इतिहास, भूमिका, योगदान र छवि रहँदै आएको छ । विशेषतः २०३५ सालपछि तत्कालीन मालेको संगठनलाई भूमिगतरुपमा पश्चिम नेपालमा बढाउन उनले सफलता पाएका थिए ।

तत्कालीन माले २०२७ सालको झापा विद्रोहबाट हुर्किएको पार्टी थियो । यसपार्टीका अधिकांश नेता पूर्वतिरका थिए । सीपी मैनाली, आरके मैनाली, केपी ओली, मोहनचन्द्र गौतमलगायतका झापाली नेताहरू जेल परेकाले नेतृत्व अभावको अवस्था थियो । अर्कोतिर पश्चिम नेपालका अधिकांश जिल्लाहरूमा कोआर्डिनेशन केन्द्रभन्दा मोहनविक्रम सिंह नेतृत्वको चौमधार बलियो थियो । यो स्थितिमा गौतमले पश्चिम नेपालमा माले पार्टीको संगठन तीव्र विकास गराए । त्यो बेला उनको गृहजिल्ला बर्दियालाई ‘पश्चिमको झापा’ भन्ने गरिन्थ्यो ।

नभन्दै पञ्चायतको अन्त्यपछि भएको बहुदलीय प्रतिस्पर्धाको पहिलो आम निर्वाचनमा बर्दियाका ३ वटै सीट तत्कालीन एमालेले जित्यो । त्यसमध्ये एक गौतम आफैं थिए । यो घटनाले गौतमप्रतिको आकर्षण राष्ट्रिय तहमा विकास भयो । उनी पश्चिम नेपालका लागि मदन भण्डारीका निकटतम सहयोगीका रुपमा परिचित हुन थाले ।

मदन भण्डारीको टिममा जीवराज आश्रित संगठन विभाग प्रमुख थिए । आश्रित भण्डारीसँगै विवादस्पद दासढुंगा दुर्घटनामा मरे । एमालेमा माधव नेपालको युगको शुरुवात भयो । गौतम नेपालका बलियो सहयोगीका रुपमा केही वर्ष रहे । उनी दासढुंगा आन्दोलनका कमाण्डर र संगठन विभाग प्रमुख बने ।

२०५१ को निर्वाचनमा एमालेको पहिलो सरकार बनेपछि नेपाल उपप्रधानमन्त्री रक्षा र परराष्ट्रका रुपमा मनमोहन अधिकारीको सरकारमा गए । यता पार्टीमा गौतमलाई उपमहासचिवको पद दिइयो । यस विन्दूबाट गौतमको महत्वकांक्षा नयाँस्तरमा प्रस्फुटित हुन थाल्यो । उनी अरु सबै समकालीन नेताहरूभन्दा बढी शक्तिशाली देखिए ।

जब एमालेको ९ महिने सरकार ढल्यो, माधव नेपालले महासचिवका रुपमा पार्टी शक्ति आफैं प्रयोग गर्न चाहे । गौतमको उपमहासचिव पद खारेज गरियो । गौतम विस्तारै नेपालबाट टाढा भए, सीपी–झलनाथको खेमामा पुगे ।

२०५४ को स्थानीय निर्वाचन एमालेको सफलताको पराकाष्ठा थियो । त्यो समय गौतम लोकेन्द्रबहादुर चन्द सरकारको उपप्रधानमन्त्री थिए । गौतम असीमितरुपमा शक्तिशाली देखिन थाले । माधव नेपाल–केपी ओली गौतमको बढ्दो शक्तिबाट भयवित थिए । उनीहरू गौतमलाई साइजमा राख्न चाहन्थे । तर यही विन्दुमा एमाले फुट्यो र फेरि माले एमाले भयो । मालेको महासचिव गौतम आफैं भए ।

तर, २०५६ को आम निर्वाचनमा माले शून्य सीटमा झर्‍यो । अन्ततः उनी एमाले मै फर्किन बाध्य भए ।

वामदेव गौतम ३ पटक उपप्रधानमन्त्री भइसके । उपप्रधानमन्त्रीमा ‘ह्याट्रिक’ गरिसकेको मान्छेलाई जीवनमा एकपटक प्रधानमन्त्री हुने इच्छा जाग्नु अस्वभाविक थिएन । उनका अधिकांश समकालीन नेताहरू प्रधानमन्त्री भए । केपी, माधव नेपाल, झलनाथ, प्रचण्ड प्रधानमन्त्री हुने, वामदेव किन नहुने ? यस्तो सोच गौतममा बारम्बार आउन थाल्यो । तर, उनका समकालीनहरू उनलाई प्रधानमन्त्रीका लागि योग्य ठान्दैनथे । आफ्नो सहयोगीका रुपमा गौतमको महत्व सबैले बुझेका थिए तर पार्टीमा होस् वा सरकारमा मूल नेता मान्न तयार थिएनन्, यसले गौतमलाई झनझन कुन्ठित बनाउँदै लग्यो ।

२०७४ को आम निर्वाचनमा आफ्नै गृहजिल्ला बर्दियामा वामगठबन्धनका बाबजुदको पराजय गौतमको राजनीतिक जीवनको चरम निराशामय क्षण बन्यो । यसलाई उनले हारेको हैन, हराइएको माने । पुनश्चः संसदमा आउने उनको प्रयास नाकाम भयो । उनले डोल्पादेखि काठामाण्डौंसम्म उपनिर्वाचनका लागि सीट खाली गराउने प्रयत्न गरे, सम्भव भनए । खाली भएको रवीन्द्र अधिकारको सीटमा कास्की जाने आँट भने गरेनन् ।

पछिल्लो विभाजनमा गौतमको भूमिका ढुलमुले रह्यो । उनी कहिले ओलीतिर कहिले प्रचण्ड–माधवतिर देखिए । दुवै पक्षले उनलाई राम्रो विश्वास गरेनन् । दुवै पक्षका लागि उनी ‘उपयोग गर्न सकिने, भर पर्न नसकिने’ नेताका रुपमा देखिए । यसपटक दुवै पक्षले आफ्ना गोप्य रणनीतिबाट गौतमलाई बाहिर राखे ।

गौतमका अनुसार ओलीले प्रतिनिधिसभा विघटन गर्दैछन् भन्ने पनि उनलाई थाहा थिएन । प्रचण्ड–माधव पक्षले अविश्वासको प्रस्ताव ल्याउँदैछन् र समावेदनका लागि निवेदन दिँदैछन् भन्ने पनि उनलाई थाहा थिएन । उनको यो अभिव्यक्तिबाट प्रष्ट हुन्छ कि पछिल्लो समय उनी दुवै पक्षबाट राजनीतिक अगलावमा थिए ।

अन्ततः उनी तटस्थ बसे । ‘पार्टी एकता अभियान’ को नाममा उनले भिन्नै केन्द्र खोले । प्रचण्ड–माधवतिर पनि खुलेनन् । ओलीतर पनि लागेनन् ।

ओलीको स्वभाव गौतमलाई राम्रो थाहा छ । ओली भित्री हृदयदेखि गौतमलाई कहिल्यै मन पराउँदैनथे । ओली र गौतमबीचको परस्पर घृणाभाव २०५१ तिरै शुरुवात भइसकेको थियो । मदन भण्डारी रहुन्जेल दुवैलाई एउटै टिममा सहजता थियो । ओली पूर्व केन्द्रित हुन्थे, गौतम पश्चिम । तर मदन भण्डारीको निधनपछि उनीहरूको व्यक्तित्व परस्पर टकराउन थाल्यो । एमालेको नवौं महाधिवेशन अघिसम्म यो स्थिति कायमै थियो ।

नवौं महाधिवेशनमा ओलीले गौतमलाई कसोकसो फकाए । तर त्यसले पनि ओलीसंग उनको विश्वासिलो सम्बन्ध भने बनेन । एमाले नवौं महाधिवेशनमा झलनाथ खनाल र वामदेव गौतमको खुल्ला साथ भएको भए माधव नेपाल पार्टी अध्यक्षमा हार्दैन थिए, ओलीको उदय न पार्टीमा हुन्थ्यो न राज्यमा । तर ओलीले बढो धुर्ततापूर्वक असम्भवजस्तो त्यो खेललाई सम्भव बनाए । यसका लागि ओलीले खनाललाई राष्ट्रपति र गौतमलाई आफू प्रधानमन्त्री भएपछि कार्यकारी पार्टी अध्यक्षको लोभ दिए ।

यथार्थमा ओलीले दुवैलाई जानाजान ढाँटेका थिए । ओलीले दुवैलाई यस्तो अप्ठ्यारोमा फसाइ दिएकी ‘ढाँट्यो’ भन्न पनि लाज हुने, ‘ढाँटेको सहन’ पनि गाह्रो हुने । ओलीको यो क्षमतापछि उनका ‘मेनिपुलेसन पावर’ छ भन्न थालियो । ओलीको यस्ता धुर्तताले सबैलाई कायल पार्न थाल्यो । तसर्थ गौतम यसपाली खुलेर ओलीको पक्षमा लाग्न सकेनन् ।

तर, प्रचण्ड–माधवको पक्षमा लाग्नुपर्ने कुनै उचित कारण पनि देखेनन् । विचार वा सिद्धान्तको भिन्नता देखिएन । एजेण्डाको भिन्नता देखिएन । गौतमलाई मूल नेता मान्ने वा भावी प्रधानमन्त्री स्वीकार गर्ने सम्भावना प्रचण्ड–माधव खेमामा पनि देखिएन । तसर्थ उनले तेस्रो बाटो रोजे– पार्टी एकता अभियान ।

झट्ट हेर्दा ‘एकता अभियान’ राम्रै देखिने, सुनिने भयो । तर गौतमलाई यो थाहा छ कि कम्युनिष्ट पार्टीको संगठनात्मक संस्कृतिमा यस्ता प्रयत्नहरूको खासै उपदेयता हुँदैन । जब विभाजन र ध्रुवीकरण हुन्छ, कम्युनिष्ट कार्यकर्ताहरू यो वा त्यो पक्षमा लागेर एकअर्का विरुद्ध संघर्ष गर्न नै रुचाउँछन् । कम्युनिष्ट आन्दोलनको विश्व इतिहास हेर्दा पनि त्यही देखिन्छ । नेपालको इतिहास हेर्दा पनि त्यही देखिन्छ ।

फुट्नु अगाडि ‘पार्टी फुट्नु हुँदैन’ भन्नेहरू थुप्रै भेटिन्थे । नेकपाको संसदीय दलले बैठक गरेरै पार्टी फुटे आफूहरू फुटको पक्षमा नहुने बताउने गरेका थिए । तर जब फुट्यो यो वा त्यो गुटमा लागेर सक्रिए भए । यो यथार्थ वामदेवले बुझेका छन् । तसर्थ, वामदेवले एकताको नाममा च्याँखे थापेको बुझ्न गाह्रो छैन । यसरी धेरै दिन जान सकिँदैन कि त सक्रिय राजनीतिबाट विस्तारै निवृत्त हुनुपर्दछ कि त कुनै न कुनै गुटमा लाग्नु पर्दछ भन्ने उनलाई राम्रो थाहा छ ।

वामदेव बीचमा बसेर रमिता हेरेको दुवै खेमालाई मन परेको छैन । ओली पक्षले उनलाई बेकारको भ्रम सृजना गरेको आरोप लगाएको छ भने प्रचण्ड–माधव पक्षले एकताका नाममा अप्रत्यक्ष ओली गुटलाई सहयोग गरिरहेको आशंका गरेको छ । वामदेव अहिले दुवैतिरबाट खप्की र अविश्वासको पात्र बनेका छन् ।

तर, वामदेवको मनोदशा भने भिन्नै छ । वामदेव यदाकदा झस्किन्छन्– जीवनमा एकपटक प्रधानमन्त्री नहुने भएँ त ? यत्रो संघर्षपूर्ण राजनीतिक जीवन प्रधानमन्त्रीको सुचीमा नाम नलेखाइकन जाने हो त ? एकातिर उमेर ढल्किंदै गएको छ । अर्कोतिर राष्ट्रियसभामा ६ वर्षसम्म हल्लिने अवसर छँदैछ । दुवै समूहले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गर्ने सम्भावना छैन भने बुढेशकालमा केको झन्झट बेसाउने हो ?

यस अर्थमा वामदेवको एकता अभियान राजनीतिक अवकासको पूर्व अभ्यास पनि हुन सक्दछ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay