बैंकिङ कसूर मुद्दामा फरार रहेका तीन जना पक्राउ
काठमाडौं, ५ माघ । बैकिङ कसूर (चेक बाउन्स) मुद्दामा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-१४ हनुमाननगरका ५१ वर्षीय राम बहादुर अधिकारी, काठमाडौं चन्द्रागिरी नगरपालिका-२ चिसापानीका ३१ वर्षीय सुवास थापा र गोरखा गण्डकी गाउँपालिका-२ का २९ वर्षीय विष्णु अंगाई रहेका छन् । पक्राउ परेकामध्ये राम बहादुरलाई आइतबार चितवन खैरेनी नगरपालिका-८ बाट, सुवासलाई शनिबार चितवन पुल्चोकबाट र विष्णुलाई शुक्रबार चितवन भरतपुरबाट पक्राउ गरिएको हो ।
उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्यानमा पारी बिभिन्न बैंकका चेकहरु काटी पीडितलाई दिई बैकिङ कसूर जन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनको विभिन्न मितिको फैसलाले राम बहादुरलाई ५५ दिन कैद र २ करोड ३२ लाख २४ हजार १ सय रुपैयाँ, सुवासलाई १७ दिन कैद तथा ५९ लाख ७९ हजार रुपैयाँ र विष्णुलाई १ महिना कैद तथा १० लाख रुपैयाँ जरिवाना ठहर भएको थियो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत चितवनमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।