scheduleशनिवारफाल्गुन २२ गते, २०७७

मधेश जनविद्रोहका १४ वर्षः मधेशले के पायो ? देशले के पायो ?

साझापोस्ट टिप्पणी

काठमाडौं, ५ माघ । प्रत्येक वर्ष ‘माघ ५ गते’ मधेश र देशमा ‘बलिदान दिवस’ मनाइन्छ । २०६३ सालको मधेश जनविद्रोहमा बलिदान गर्ने शहिदहरूको सम्झना स्वरुप यो दिवस मनाउन थालिएको थियो । दोस्रो जनान्दोलन २०६२/२०६३ पछि विशेषतः संघीयता, समानुपातिकता र समावेशिताको माग उठाएर ‘मधेश जनविद्रोह’ भएको थियो ।

देशको दक्षिण भूभागमा झापादेखि कञ्चनपुरसम्म फैलिएको यो जनविद्रोहमा ‘जागो मधेसी, मागो मधेश’, ‘समग्र मधेशः एक प्रदेश’ जस्ता नाराहरू सर्वाधिक लोकप्रिय थिए । यो आन्दोलनबारे प्रारम्भमा देशको अन्य भागमा केही भ्रम र अन्यौल सृजना भएको थियो । कतिपयले आन्दोलनलाई विखण्डन र विभाजनको उद्देश्यबाट प्रेरित ठानेका थिए । तथापि घटनाक्रमले त्यस्ता आशंकाहरूलाई झुठा सावित गर्‍यो । नेपालको अन्तरिम संविधान–२०६३ मा जनान्दोलन २०६२/२०६३ का छुटेका जनभावनालाई समेट्ने पुरक जनविद्रोहका रुपमा मधेश जनविद्रोहले नेपालको राजनीतिक इतिहासमा विशिष्ठ स्थान बनायो ।

मधेश जनविद्रोहको पृष्ठभूमि आकस्मिक प्रतित भए पनि यसका कयौं वस्तुगत तथा ऐतिहासिक कारणहरू थिए । तत्कालिन स्थितिको कुरा गर्दा माओवादीहरू १० वर्षे जनयुद्धबाट १२ बुँदे सहमति हुँदै शान्तिप्रक्रियामा आएका थिए । जनान्दोलन २०६२/२०६३ को चरमोत्कर्षको दिन वैशाख ११ पछि राजा ज्ञानेन्द्र शाह राज्यशक्ति गुमाएर थान्को लागेका थिए, तथापि देशमा गणतन्त्रको घोषणा भएको थिएन । राज्यको वास्तविक शक्ति तत्कालीन आन्दोलनकारी ७ संसदीय दलको हातमा आएको थियो । माओवादी र ७ संसदीयहरू मिलेर माघ १ गते अन्तरिम संविधान घोषणा गरेका थिए । विद्रोही माओवादीहरू ‘सेमी सत्तापक्ष’ भइसकेका थिए।

उपेन्द्र यादव नेतृत्वको मधेशी जनाधिकार फोरम एक सानो, उदाउँदो तर कमै चर्चामा भएको संगठन थियो । यो संगठनसँग यति ठूलो आन्दोलन उठाउन सक्ने संगठनात्मक क्षमता होला भन्ने कसैले सोचको थिए । फोरम अध्यक्ष उपेन्द्र यादवलगायत केही मधेश अभियन्ताहरूले माघ २ गते काठमाण्डौंको माइतीघर मण्डलामा अन्तरिम संविधान जलाएका थिए ।

७ दल र पछि थपिएको विद्रोही माओवादी समेत ८ दल विजेता मनस्थिति र अहंकारको स्थितिमा थिए । उनीहरूले घटनाक्रमको अन्तर्यलाई ठीक ढंगले बुझेनन् । ८ दलीय सरकारका गृहमन्त्री कृष्ण सिटौलाले उपेन्द्र यवद लगायतका अभियन्ताहरूलाई गिरफ्तार गर्ने आदेश दिए र थुनामा राखे । लोकतान्त्रिक देशमा संविधान जलाउने कुरा खासै ठूलो थिएन । भर्खरै ठूलो आन्दोलन र नागरिक अवज्ञाबाट गुज्रेको समाजलाई ८ दलीय सरकारको उप्त कदम किञ्चित सही लागेन । मधेशी जनताका नजरमा त्यो ज्यादती देखिनु स्वभाविक थियो ।

यही पृष्ठभूमिमा मधेशी जनाधिकार फोरमका समर्थकहरूले मधेशका विभिन्न भागमा ससाना जनप्रदर्शनहरू शुरुवात गरेका थिए । त्यही क्रममा माघ ५ गते सिराहाको लाहानमा रमेश महतोले बलिदान दिनु पर्‍यो । तर, अनौठो कुरा रमेश महतोमाथि गोली सेना वा प्रहरीले चलाएको थिए । माओवादी नेता मातृका यादव र राम कार्कीले आफ्ना लडाकुलाई चलाउन लगाएका थिए ।

यादव र कार्की पुर्वी नेपालबाट चितवन जाँदै थिए । चितवनमा भूमिगत जीवनबाट भर्खरै बाहिर आएको माओवादी पार्टी बैठक थियो । यादव र कार्कीले लाहानमा आफ्नो बाटो छेकेको निहुँमा मधेशी जनाधिकार फोरमको जुलुसका गोली चलाएका थिए र रमेश महतोको निधन भएको थियो । ठूलो सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएका माओवादीहरूमा एकप्रकारको विजय उन्माद र हतियार शक्तिको मोह थियो, जसले मधेश जनविद्रोहको प्रक्रियालाई तेज गर्न आगोमा घ्यु थप्ने काम गरेको थियो ।

तर यो निहुँ मात्र थियो । यथार्थमा इतिहासको लामो कालखण्डदेखि भएको मधेशमाथिको शोषण, दमन, विभेद र उत्पीडन यसको मुख्य कारण थियो । २००७ सालदेखि भद्रकाली मिश्र, वेदानन्द झा लगायतले मधेशमा एक फरक राजनीतिक स्कुलिङ र प्रतिरोध आन्दोलनको परम्परा निर्माण गरेका थिए । २०४६ सालपछि गजेन्द्र नारायण सिंहले नेपाल सदभावना पार्टीमार्फत् त्यसलाई विस्तार गरे । मधेशी जनाधिकार फोरमले यो स्कुलिङलाई एक नयाँ उत्कर्ष दियो । मधेश प्रतिरोधको भावनालाई तीव्र र क्रियात्मक बनायो ।

जनान्दोलन २०६२/२०६३ को पृष्ठभूमिमा ७ दल र माओवादीबीच भएको १२ बुँदे सहमतिमा ‘राज्यको अग्रगामी पुनर्संरचना’ भन्ने शब्द उल्लेख थियो । सबैले त्यसका अर्थ ‘एकात्मक शासन प्रणालीको अन्त्य र संघात्मक शासन प्रणालीको स्थापना’ भन्ने बुझेका थिए । तर, नेपालको अन्तरिम संविधान–२०६३ ले यो कुरालाई उल्लेखसम्म नगरेपछि मधेशले धोकाको अनुभूति गरेको थियो । यही बिन्दूमा मधेश जनविद्रोह भट्किएको थियो । लाहानमा रमेश महतोको बलिदानले झापादेखि कञ्चनपुरसम्म ठूल्ठूला जनप्रदर्शनहरू हुन थाले ।

उपेन्द्र यादवको छवी मधेशमा ‘सपनाको राजकुमार’ जस्तो देखापर्न थाल्यो । विस्तारै उनलाई ‘मधेशको मसिहा’ भन्न थालियो । ७ दलीय गठबन्धनका मधेश बेस नेताहरू धमाधम आन्दोलनमा सामेल हुन थाले । अन्तरिम संसदका दर्जनौं मधेसी मूलका सांसदहरूले पदबाट राजीनामा गरेर आन्दोलनलाई साथ दिए । राज्यले दमनको नीति लियो । पहिलो चरणको मधेश आन्दोलनमा मात्र ५२ जनाले बलिदान हुनु परेको थियो ।

अन्ततः मधेसी जनाधिकार फोरमको संलग्नता विना संविधानसभाको निर्वाचन हुन नसक्ने अवस्था आयो । राज्य संघवादको अवधारणा र समानुपातिक निर्वाचन प्रणाली स्वीकार गर्न बाध्य भयो । फलतः संविधानसभामा चतुर्कोणात्मक शक्ति सन्तुलन निर्माण भयो । माओवादी सबैभन्दा ठूलो पार्टीको बन्यो । कांग्रेस दोस्रो र एमाले तेस्रो बन्यो । मधेश केन्द्रित दलहरू मधेशी जनअधिकार फोरम र तराई मधेश लोकतान्त्रिक पार्टी झण्डै हाराहारीको चौथो ठूलो शक्ति बनेर देखियो । पहिलोपटक राजावादीहरू इतिहासको सानो कुनामा थन्किए ।

यो नयाँ शक्ति सन्तुलनले कांग्रेस–एमालेलाई घोषित, अघोषित एकता र साँठगाठ गर्ने विन्दूमा पुर्यायो । माओवादी र मधेशकेन्द्रित दलहरूको उदयपछि कांग्रेस र एमाले आफ्नो राजनीतिक भबिष्यबारे चिन्तित हुन थाले । यही विन्दूबाट पहिलो संविधानसभा असफल बनाउँने रणनीति प्रारम्भ भयो । कांग्रेस–एमाले मनोविज्ञान माओवादी र मधेश केन्द्रित दलहरूले राम्ररी बुझेनन् । त्यसैको फलस्वरुप नेपालमा पहिलो संविधानसभा असफल हुने र दक्षिणपन्थी शक्तिकेन्द्रका रुपमा केपी ओलीको उदय हुने आधार तयार भयो ।

पहिलो संविधानसभा सफल हुन सकेको भए सायद ओलीको उदय हुने थिएन । सायद अहिलेको भन्दा धेरै राम्रो अग्रगामी र प्रगतिशील संविधान बन्थ्यो । सायद संघीयता, समावेशिता, आरक्षण र सकारात्मक विभेदका अवधारणाहरू अझ बढी ठोस, मूर्त र जिवन्त हुने थिए । सायद शासकीय स्वरुप फरक प्रकृतिको हुन्थ्यो । सायद देश प्रतिगमनको जोखिमतिर निरन्तर हिड्ने थिएन र सायद अहिलेजस्ता ओलीतन्त्रले प्रतिनिधिसभा नै विघठन गर्न सक्ने अवस्था पनि आउने थिएन । तर, पहिलो संविधानसभाको शक्ति सन्तुलनको ऐतिहासिक महत्व बुझ्न क्रान्तिकारी शक्तिहरू चुके ।

माओवादी पार्टीसँगै मधेशी जनाधिकार फोरमको पतनको क्रम पनि त्यही बिन्दूबाट शुरुवात भयो । नेपाली समाजको क्रान्तिकारी रुपान्तरणमा त्यति ठूलो योगदान गरेका ती दुवै दल आज हराएजस्तो भएका छन् । यो नेपाली राजनीतिको अर्को तितो यथार्थ हो ।

दोस्रो संविधानसभामा कांग्रेस–एमाले बलियो भएसंगै शक्ति सन्तुलन बदलियो । यस्तो हुन स्वभाविक थियो । देस्रो संविधानसभा निर्वाचनमा माओवादी र मधेशकेन्द्रित दलहरू कांग्रेस–एमालेभन्दा धेरै कमजोर भए । माओवादी र मधेशी जनअधिकार फोरम दुवै दर्जनौं टुटफुटको शिकार भइसकेका थिए । यिनीहरू आन्दोलनबाट आएका थिए– कांग्रेस र एमालेसँग जस्तो दीगो संगठन र स्रोतसाधन उनीहरूसंग थिएन । आन्दोलन र क्रान्तिको रापताप सेलाउँदै जाँदा प्रतिस्पर्धामा उनीहअरु कमजोर देखिए । अन्ततः देश एक कदम पछाडि फर्कियो ।

दोस्रो संविधानसभाबाट कांग्रेस–एमालेले चाहेजस्तो संविधान बन्यो । माओवादी बाध्य भएर त्यसैको पछि लागे । तर पनि मधेशले आफ्नो अडान छोडेन । त्यत्रो ठूलो शसस्त्र संघर्ष र बलिदानबाट आएको माओवादी बरु लतारियो तर मधेशले इतिहाससँग आफ्नो असहमति दर्ज गर्न चुकेन । नयाँ संविधानप्रति असहमति जनाउँदै तेस्रो मधेश विद्रोह भयो । आज त्यसैको जगमा जनता समाजवादी पार्टी पुनर्गठित हुँदैछ । त्यसले आफूलाई नयाँ समयको नयाँ चेतना अनुरुप पुनर्संगठित गर्दै वैकल्पिक राष्ट्रिय शक्ति बन्ने प्रयास गरिरहेको छ ।

मधेश आन्दोलनपछि देश संघीयकरण भएको छ । चित्त बुझ्दो सिमांकन तथा नामांकन हुन नसके पनि कम्तीमा संघवादको अवधारणा शुरुवात भएको छ । समानुपातिक निर्वाचन प्रणाली प्रारम्भ भएको छ । देशका सीमान्तकृत समुदायहरूले सरकारी जागिरमा थोरै अनुपात र सानो संख्यामा भए पनि आरक्षण पाउन थालेका छन । राज्यमा मधेशी, जनजाति, आदिवासी, महिला, दलित, मुस्लिमलयागतका धार्मिक अल्पसंख्यक, दुर्गमबासी, सीमान्तकृत तथा लोपोन्मुख समुदायको पहुँच र भूमिका बढेको छ ।

यही सबै घटनाक्रमको जगमा रमेश महतोहरूको बलिदान छ । रमेश महतोहरूको रगत खेर गएको छैन । त्यसले मधेसलाई मात्र हैन, सिंगो देशलाई नयाँ ढंगले जाग्रित र पुनर्संगठित गरेको छ । राष्ट्रिय एकताका नयाँ आधारहरू खडा गरेको छ । संघीयता, समावेशिता, सकारात्मक विभेद र सामाजिक न्यायका सिद्धान्त अनुरुप सिंगो देशलाई एकताबद्ध गर्न योगदान गरेको छ ।

तथापि मधेश आन्दोलनका सबै अपेक्षाहरू अहिले पनि पुरा भएका छैनन । प्रदेशहरूको सीमांकन सही छैन । पहिचान आधारित प्रदेश नामांकन हुन नदिन शासक वर्गले ठूलो मेहनत गरिहकेको छ र त्यो अहिलेसम्म सफल देखिएको छ । वित्तिय संघीयताको अवधारणा लागू गरिएको छैन । प्रदेश सरकारहरूलाई अधिकार तथा स्रोतसाधनविहीन बनाउने र बदनाम गराएर खारेज गर्ने षड्यन्त्र कायमै छ ।

शासकीय स्वरुपमा उल्खेनीय परिवर्तन हुन सकेको छैन । राजनीतिक तथा प्रशासनिक संचरनामा अनुपातिक सहभागिता कायम हुन सकेको छैन । तथापि माघ ५ गतेको बलिदान दिवसले बाँकी कार्यभारका लागि संघर्ष गर्ने प्रेरणा भने कायमै राखेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay